विद्यार्थीको माग पुरा गर्ने निर्णयमा पुग्यो चिकित्सा शिक्षा आयोग:

एकीकृत प्रवेश परीक्षाको नतिजामा चित्त नबुझेका विद्यार्थीले चाहेमा उत्तरपुस्तिका र उत्तरकुञ्जिका हेर्न पाउने

काठमाडौँ, १८ भदौ ।  चिकित्सा शिक्षा आयोगले गत १ देखि भदौसम्म सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षाको नतिजामा चित्त नबुझी उत्तरपुस्तिका (ओएमआर) र उत्तर कुञ्जिका (एन्सर की) हेर्न चाहेमा सम्वन्धित विद्यार्थीले हेर्न पाउने भएका छन् ।

चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको सोमबार (हिजो) बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

आयोगले ओएमआर र एन्सर की माग गरेका विद्यार्थीहरुलाई नतिजा प्रकाशनको क्रममा कोडिङ गरी स्क्यान गरिएको उत्तरपुस्तिकाको शीर्ष भाग (हेड) र मुल भाग (बोडी) एवं सम्वन्धित सेटको उत्तर कुन्जिका (एन्सर की)को फोटोकपी उपलव्ध गराउँने छ । त्यसका लागि परीक्षार्थीले आगामी २३ देखि ३१ भदौसम्म प्रवेश पत्र र नागरिकता सम्लग्न गरी आयोगमा स्वयं उपस्थित भई निवेदन दिनु पर्ने छ ।

यसअघि प्रवेश परीक्षामा सहभागी कतिपय विद्यार्थीहरुले गत शुक्रबार प्रकाशित भएको एमबीबीएस विषयको नतिजालाई लिएर तिब्र असन्तुष्टि जनाएका थिए । उनीहरुले आइतबार (अस्ति) चिकित्सा शिक्षा आयोगको कार्यालय सानोठिमी भक्तपुर पुगेर अधिकारीहरुको ध्यानाकर्षण गराएका थिए । सोमबार (हिजो)भने माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शन गरेका थिए ।

‘अधिकांश ‘सी’ सेटको परीक्षा दिने विद्यार्थीको नम्बर कम आएको छ,’ एक विद्यार्थीले भने, ‘सो सेटको १७५ वटा मिलाउने फेल भएका छन् । त्यसैले हामी आन्दोलनमा जान बाध्य भएका हौँ,’ सोमबार माइतीघर मण्डलामा भेटिएका एक परीक्षार्थीले भने ।

त्यसो त सर्वोच्च अदालतले १९ असार २०७९ मा चिकित्सा शिक्षा आयोगलाई विद्यार्थीले चाहेमा उत्तर पुस्तिका हेर्न दिन निर्देशनात्मक आदेश जारी गरेको थियो ।

विद्यार्थीहरुले सोही आदेशअनुसार आफूहरुले उत्तर पुस्तिका हेर्न पाउनुपर्ने माग गरेका हुन् । ‘सर्वोच्चको आदेशअनुसार हामीले निवेदन दिएका हौं,’ उनले भने, ‘आयोगले यो विषमा सुनुवाई नगरेपछि आन्दोलन सुरु गरेका हौं ।’

उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भन्दैं आयोग बिरुद्ध दुई वर्षअघि ३० विद्यार्थीले रिट हालेका थिए । सो रिटको सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीसद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासले उत्तरपुस्तिका विद्यार्थीलाई हेर्न दिन निर्देशनात्मक आदेश दिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *