विदेश :

सहकर्मीमाथि कुटपिट भएपछि बंगलादेशका चिकित्सकद्धारा देशव्यापी अस्पताल बन्दको घोषणा

ढाका । सहकर्मी माथि भएको कुटपिट तथा आक्रमणको विरोधमा बंगलादेशमा चिकित्सकहरुले आजबाट देशव्यापी स्वास्थ्य संस्था हड्तालको आव्हान गरेका छन् । उनीहरुले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सुरक्षा सहितका चार बुँदे माग अघि सार्दै देशव्यापी अस्पताल बन्दको घोषणा गरेका छन् ।

गत शुक्रबार एक जना विद्यार्थी सड्क दुर्घटनामा गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उद्धार गरी ढाका मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचारका लागि ल्याइएको थियो । तर उनको शनिबार विहानै मृत्यु भयो । मृत्यु पछि उनका आफन्त तथा साथीभाइहरुले दोष चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि लगाएर कुटपिट तथा तोडफोडमा उत्रिए ।

उपचार गर्ने स्थलमै आफूहरुमाथि असुरक्षा बढेको भन्दै तत्काल ढाका मेडिकल कलेज टिचिङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले घटनाका दोशीको पहिचान गर्दै कार्वाही गर्न २४ घण्टे अल्टिमेटम दिएका थिए । तर दिइएको अवधीमा कार्वाही नभएपछि आज अपरान्ह देखि अनिश्चितकालिन हड्तालमा आफूहरु उत्रिएको चिकित्सकहरुले बताएका छन् ।

उनीहरुले सरकारी निजी मेडिकल कलेज, सबै प्रकारका अस्पताल, स्वास्थ्य संस्थाहरु बन्दको आव्हान गरेका छन् । चिकित्सकहरुले सरकारले आफूहरुको माग पुरा नहुँदासम्म आज घोषित आन्दोलन नरोकिने स्पष्ट पारेका छन् ।

बन्दका क्रममा उपचार नपाएर कसैको ज्यान गएमा जिम्मेवारी कसले लिने भन्ने प्रश्नमा आन्दोलनरत चिकित्सकहरुले त्यस्तो घटना भएमा जिम्मेवार स्वयं सरकार हुने बताए ।

‘हाम्रो माग जति छिटो पुरा हुन्छ, त्यति नै राम्रो हुन्छ । हाम्रो माग पूरा हुनेबित्तिकै उपचार सुरु गर्छौं ,’ एक जना चिकित्सकले भने ।

बंगलादेश युनिभर्सिटी अफ बिजनेश एण्ड टेक्नोलोजीमा सिभिल इन्जिनिरिङमा अध्ययन्रत २४ बर्षीय विद्यार्थी अहसानुल इस्लाम दिप्तो शुक्रबार राती मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए ।

चिकित्सकहरुले आक्रमणकारीहरुलाई पक्राउ गर्न र कार्वाही गर्न, सुरक्षित कार्यस्थल सुनिििश्चत गर्ने लगायतका मागहरु अघि सारेका छन् ।

यस्ता छन् उनीहरुका मागहरु
१. ढाका मेडिकल कलेजमा कुटपिट तथा तोडफोड जस्तो निन्दनीय घटनामा सम्लग्नलाई २४ घण्टा भित्र पहिचान गरी पक्राउ गर्ने र छिटो भन्दा छिटो कार्वाही अघि बढाउनु पर्ने ।

२. सबै स्वास्थ्य संस्थामा सशस्त्र स्वास्थ्य प्रहरी सुरक्षा व्यवस्था गराई तत्काल सुरक्षित कार्यस्थल सुनिश्चित गर्नुपर्ने ।

३. सुरक्षित स्वास्थ्य सेवाको प्रावधान सुनिश्चित गर्न बिरामीबाहेक तिनका आफन्तहरुले स्वास्थ्य सुरक्षा प्रहरीले प्रदान गर्ने पास लिएर मात्रै प्रवेश अनुमति दिनु पर्ने ।

४ उपचारमा लापरवाही तथा त्रुटी भएको महसुस भएमा सम्वन्धित निकायमा उजुरी गर्नु पर्ने र त्यसको दोषी भएमा कार्वाही हुृने व्यवस्था गर्नु पर्ने तर व्यक्तिहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्न नपाइने । कानून हातमा लिन नपाइने ।

यसैबीच, कुटपिट घटना र उपचारमा लापरवाहीको आरोपको छानबिन गर्न सरकारले दुई छुट्टाछुट्टै छानबिन समिति गठन गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *