बुटवलमा बन्ने भयो देशकै ठूलो सरकारी अस्पताल, १२०० शैय्या रहने १२ तले भवनको गरियो शिलान्यास

अब बनाउन लागिएको १२०० शैय्याको बहुतले अस्पताल भवनको डिजाइन

बुटवल, १५ भदौ । लुम्बिनी प्रदेश सरकारको मुख्य गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको शिलान्यास भएको छ। शनिबार विहान उपप्रधान था अर्थमन्त्री विष्णु पौडेल र मुख्यमन्त्री चेतनारायण आचार्यले संयुक्त रुपमा अस्पताल भवनको शिलान्यास गरेका हुन् ।

प्रदेश पूर्वाधार विकास प्राधिकरण मार्फत ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा १२ तले अस्पताल भवन निर्माण हुन लागेको हो। १ हजार २०० शैय्या क्षमताको यो भवन निर्माण सम्पन्न भएपछि देशकै सबैभन्दा ठूलो अस्पताल बन्ने छ ।

लुम्बिनी प्रदेश सरकारको लागतमा निर्माण हुने उक्त भवनको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगशनसँग २०८० पुस २६ गते ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने छ।

लुम्बिनी प्रादेशिक अस्पतालको ईतिहास

तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर जबराको पालामा बिसं १९६७ फागुन १५ गते ६ शैय्याबाट यो अस्पतालले सेवा प्रारम्भ गरेको थियो ।  पश्चिम नेपालका  सेनवंशीय राजा मणिमुकुन्द सेनको दरबार रहेको स्थान बुटवल फूलबारीमा दुईजना भारतीय चिकित्सकबाट सेवा सुरु गरिएको यो अस्पताल  अहिले  लुम्बिनी प्रदेशकै सबभन्दा पुरानो र ठूलो अस्पताल हो।

स्थापना पछिका ३१ वर्ष बुटवल फूलबारीबाट सञ्चालन भएको अस्पताललाई  बिसं १९९८ सालमा हाल रक्तसंचार गृह रहेको स्थानमा सारिएको थियो। हाल रहेको स्थानमा भने २०१६ सालमा भवन निर्माण गरी सारिएको थियो।

फराकिलो स्थानबाट सेवा सुरु गरिएपछि २०२४ सालमा ५० शैय्या पुर्‍याएर लुम्बिनी अञ्चल अस्पताल बनाइएको थियो। अञ्चल अस्पताल बनेपछि बिरामीको चाप बढ्दै गयो र २०५० सालमा १०० सय शैय्या पुर्‍याइएको थियो ।

२०७५ साल माघमा लुम्बिनी प्रदेश सरकार मातहत आएपछि लुम्बिनी प्रादेशिक अस्पताल बनेपछि अहिले आइपुग्दा अस्पतालमा ५२० शैय्या पुगेको छ।

अहिले  दैनिक २ हजारदेखि बाइस सयसम्म बिरामीहरु उपचारका लागि आउने यो अस्पतालमा सामान्य अवस्थामा पनि ८० प्रतिशत बढी शैय्याहरू बिरामीले भरिने गर्छन्।

विसं २०१६ सालमा निर्माण गरिएको भवन जीर्ण बनेपछि सोहि भवन भत्काएर अत्याधुनिक सेवासुविधा सहितको नयाँ भवन निर्माण गर्न लागिएको हो। बहुतले भवन बनाउन प्रदेश सरकारले चालू आर्थिक वर्षमा एक अर्ब ८० करोड बजेट बिनियोजन गरिसकेको छ।

ठेक्का सम्झौता भइसकेपछि निर्माण कम्पनीले भवन निर्माणका लागि जग खन्न ७० प्रतिशत बढी पाइलिङ (जमिनमा मेसिनले प्वाल पारेर पिल्लर गाड्ने काम) सम्पन्न गरिसकेको छ। कूल ७८५ वटा पाइलिङ गर्नुपर्नेमा ४९० पाइलिङ सम्पन्न भइसकेको साइट इन्जिनीयर रमेश शर्माले जानकारी दिए।

यसअघि संघीय सरकार मातहत रहेको यो अस्पताल लुम्बिनी प्रदेश सरकार स्थापना भएपछि प्रदेश सरकार मातहतमा आएको थियो।

प्रदेश सरकार मातहत आएपछि प्रादेशिक अस्पतालको रुपमा स्तर वृद्धि गरि अत्याधुनिक सुविधा सहितको नयाँ भवन निर्माण सुरु भएको उनले बताए।

कस्तो बन्दैछ अस्पताल ?

अस्पतालको नयाँ बन्ने भवनको डीपीआर अनुसार १२ तले अत्याधुनिक भवनमा बहिरङ्ग सेवा, आपतकालीन सेवा, इनडोर सर्भिस कक्ष रहनेछन्। त्यस्तै ग्याष्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुने छन्।

भवनको माथि हेलिप्याड रहनेछ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ।

क्यान्सर उपचारका लागि भने अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ।

१२ तलाको नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीन वटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने छ।

एक सय १४ वर्ष पुरानो यो अस्पताल बुटवल उपमहानगरपालिका वडा नं. ९ स्थित बुटवलकै मध्यभाग सिद्धार्थ र महेन्द्र राजमार्गको पश्चिमतर्फ रहेको छ।

कुल ६ बिघा १२ कठ्ठा जग्गामा संचालित अस्पतालमा नयाँ भवन निर्माणपछि अत्याधुनिक पूर्वाधारसहितको देशकै ठूलो अस्पताल बन्ने बताइएको छ ।

शिलान्यास पछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोजना निर्धारित समयमै सम्पन्न गर्न नागरिकस्तरबाटै निगरानी हुनुपर्ने बताए । नियमित र गुणस्तरीय काम भएका कुनै पनि आयोजना बजेट अभावले अलपत्र वा अप्ठ्यारोमा नपर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

आयोजना समयमै सक्न निर्माण कम्पनीलाई निर्देशन पनि उनले दिएका छन् ।

‘छिटो सक्ने नाममा गुणस्तरमा सम्झौता हुन सक्दैन, गुणस्तरीय काम गरेर समयमै सक्ने गरी आयोजना अघि बढाउनुस्, कुनै पनि अवस्थामा बजेट अभाव हुँदैन्,’ उनले भने, ‘पाँच वर्षको काम तीन वर्षमा सक्छु भन्ने काम नसकेर पछुताउने अवस्था नबनाउनु होला ।’

यस्तै लुम्बिनीका मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल भवनले सिंगो प्रदेशको मात्र नभएर देशकै स्वास्थ्य क्षेत्रलाई परिवर्तन गर्ने बताए । उनले आयोजना सम्पन्न गर्न प्रदेश सरकारले बजेटमा कमी हुन नदिने प्रतिबद्धता जनाए । उनले बुटवल लामो समयको प्रतीक्षा पछि प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा अस्पतालको नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढेको भन्दै खुशी व्यक्त गरे ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *