अमेरिकामा देखियो ईईई भाइरस, यो कति खतरनाक हुन्छ ?

बीबीसी । संयुक्त राज्य अमेरिकाको पूर्वोत्तर भागमा लामखुट्टेमा ईईई भाइरस भेटिएको पुष्टि भएपछि त्यहाँका केही स्थानमा उच्च सतर्कता कायम गरिएको छ। उक्त भाइरस दुर्लभ भए पनि प्राणघातक मानिन्छ।

ईईई ‘ईस्टर्न एक्वाइन एन्सेफलाइटिस’ को सङ्क्षिप्त रूप हो। यसलाई ‘ट्रिपल ई’ पनि भनिन्छ।

म्यासचूसिट्स राज्यका केही स्थानहरू उक्त रोगको उच्च वा गम्भीर जोखिम देखा परेको घोषणा गरिएको छ। ईईई भाइरस सङ्क्रमित लामखुट्टेले टोक्दा सर्छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार न्यूह्याम्शर राज्यमा एक अधबैँसे व्यक्तिको ईईईका कारण मृत्यु भएको छ। म्यासचूसिट्स राज्यमा ८० वर्षमाथिका एक वृद्धलाई पनि ईईई सङ्क्रमण भएको बताइएको छ।

अमेरिकामा यो रोगलाई दुर्लभ मानिन्छ। प्रत्येक वर्ष यो कुल ११ जनामा मात्र देखिने गरेको ‘सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन’ (सीडीसी)ले जनाएको छ।

म्यासचूसिट्समा सन् २०१९ र २०२० मा कुल १७ जनामा ईईई पुष्टि भएको थियो। तीमध्ये सात जनाको मृत्यु भयो।

अमेरिकाको पूर्वी तटीय भेगमा क्यानडादेखि गल्फ अफ मेक्सिको र क्यारिबीअन तथा दक्षिणमा आर्जेन्टिनासम्मै ठाउँठाउँमा ईईईको सङ्क्रण फैलिएको पाइएको छ।

ईईई कसरी सर्छ ?

ईईई भाइरस लामखुट्टेले प्रायः चराचुरुङ्गी, घोडा र मानिसमा सारिदिन्छ। यद्यपि सङ्क्रमण भएका अधिकांश मानिसमा कुनै लक्षण देखिँदैन। यो निकै दुर्लभ हुन्छ। तर यसबाट गम्भीर समस्याहरू उत्पन्न हुन सक्छन्।

ईईईको सङ्क्रमण हुँदा ज्वरो आउन सक्छ अनि मस्तिष्कमा खतरनाक सुजन हुन सक्छ। सीडीसीका अनुसार बिरामी पर्ने एकतिहाइ सङ्क्रमित व्यक्तिको मृत्यु हुन सक्छ।

यो भाइरस मानिसबाट मानिसमा भने सर्दैन।

ईईईबाट सङ्क्रमण हुँदा कस्तो लक्षण देखिन्छ ?

सीडीसीका अनुसार ईईईबाट मानिसमा सङ्क्रमण हुँदा चारदेखि १० दिनभित्र लक्षणहरू देखा पर्न सक्छन्।

बिरामीमा ज्वरो आउने, काम छुट्ने, जीउ र जोर्नी दुख्ने जस्ता लक्षणहरू देखिन सक्छन्। बिरामीलाई एकदेखि दुई साता समस्या हुन सक्छ। केन्द्रीय मस्तिष्क प्रणालीमा असर नपुगेका अधिकांश बिरामीहरू पूरै निको हुन्छन्।

तर केही बिरामीमा ‘मेनिन्जाइटिस’ (मस्तिष्क तथा मेरुदण्डभित्र हुने ‘स्पाइनल कर्ड’ अर्थात् सुषुम्नालाई ढाक्ने झिल्लीको सुजन) वा ‘एन्सेफलाइटिस’ (मस्तिष्कको सुजन) हुन सक्छ।

दीर्घकालमा बिरामीको बौद्धिक क्षमतामा ह्रास आउने, विभिन्न किसिमका मानसिक समस्या आउने, मूर्च्छा पर्ने, पक्षाघात हुने र गर्धनमा समस्या आउने पनि हुन सक्छ।

ईईईबाट कसरी जोगिने ?

ईईईविरुद्ध खोप बनेको छैन। यसको उपचार गर्ने औषधि पनि छैन।

बिरामीलाई अस्पतालमा रक्तनलीबाट तरल पदार्थ दिइन्छ अनि सास फेर्न सजिलो बनाइन्छ।

म्यासचूसिट्समा उच्च वा गम्भीर जोखिम परेको ठानिएका बस्तीरूमा अहिले लामखुट्टेको टोकाइबाट जोगिन भनिएको छ। त्यसका लागि:

  • साँझ परेपछि घरबाहिर ननिस्कन भनिएको छ किन भने लामखुट्टे प्रायः साँझपख सक्रिय हुन्छ
  • लामखुट्टे भगाउने रासायनिक पदार्थ प्रयोग गर्न भनिएको छ
  • पूरै शरीर ढाक्ने गरी कपडा लगाउन भनिएको छ
  • लामखुट्टेलाई घरभित्र पस्न नदिन झ्यालमा जाली राख्न भनिएको छ
  • लामखुट्टेलाई फुल पार्न र सन्तान उत्पादन गर्न नदिन घर र वरपर पानी जम्न नदिन भनिएको छ

म्यासचूसिट्समा जोखिममा परेका क्षेत्रहरूमा लामखुट्टे नियन्त्रण गर्न कीटनाशक विषादी छर्कन थालिएको छ। त्यसका लागि साना विमान र लरीहरू प्रयोग गरिँदै छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *