फलोअपका लागि पाटन अस्पताल गएकी सरिताले जब ‘प्रोस्थेसिस ब्रा’ पाईन् ………

काठमाडौँ, १४ भदौ । परीक्षणका क्रममा ५५ बर्षीया सरिता (नाम परिवर्तन)को देब्रे स्तनमा क्यान्सर देखियो । चिकित्सकहरुले तत्कालै शल्यक्रियाको सुझाव दिए । सुझाव अनुसार ढिलाई नगरी शल्यक्रिया गरियो । स्तनको शल्यक्रिया गर्दा उनको देब्रे स्तन फेदबाटै हटाइयो । अहिले उनी क्यान्सर बिजेता बनेकी छन् ।

रोगमाथि बिजयी प्राप्त गर्दा उनी खुशी छन् तर कहिलेकाँही उनलाई एउटा स्तन फ्याँकिदा आफ्नो शरीर कसो कसो नमिले जस्तो लाग्छ । खासगरी विहे भोज, भतेर तथा कुनै पार्टीमा जाँदा फ्याकिएको एउटा स्तनका कारण सौन्दर्यमा ह्रास आएको जस्तो लाग्दथ्यो । त्यसैले कहिलेकाँही उनले ब्रामा रुमाल राखेर आफूलाई पुरानो स्वरुपमा ल्याउन खोज्थिन् । तर पनि पुरा चित्त बुझिरहेको थिएन ।

शुक्रबार पाटन अस्पतालमा फलोअपमा जाँदा मेडिकल अंकोलोजिष्ट डा अरुण शाहीले उनलाई प्रोस्थेसिससहितको ब्रा निशुल्क रुपमा उपलव्ध गराईदिए । मनको कुनामा नमेटिएको एउटा घाउ ट्वाक्कै निको भए जस्तो भयो उनलाई। प्रोस्थेसिससहितको ब्रा पाएपछि खुशी हुँदै सरिताले भनिन्, ‘अब म यो लगाएर ढुक्कले जहाँ पनि जान सक्छु । यसले मेरो खुम्चिएको आत्मविश्वासलाई पुर्न: ताजगी बनाईदियो ।’

यता केमोको कारण कपाल झरेर टाउको मुडुलै भएकी ३३ बर्षीया उमा (नाम परिवर्तन) पनि औधी खुशी छन् । उनले पनि लामो कपाल (वीग हेयर) निशुल्क पाएकी छन् । ‘अब मुडुलो टाउको लिएर हिड्नु पर्दैन । लामो कपाल सहितको क्याप लगाएपछि म आफैलाई बिरामी जस्तै लाग्दैन । अरुलाई त झन् के लागोस,’ खुशी हुँदै उनले भनिन् ।

पाटनका मेडिकल अंकोलोजिष्ट डा. शाहीले आफ्नो अस्पतालमा उपचारका क्रममा स्तन नभएका, टाउकोको रौँ झरेका र चेष्ट ट्युव तथा ड्रेनेज लगाएर हिडेका बिरामी तथा विजेता व्यक्तिहरुको जीवनलाई थप सहज बनाउन निशुल्क सामग्री वितरण गर्न थालेका छन् । उनलाई यो सामग्री भि केयर फाउन्डेशन इन्डियाले निशुल्क रुपमा उपलव्ध गराएको हो ।

अहिले पाटनको मेडिकल अंकोलोजी युनिटमा उपचाररत बिरामीका लागि आवश्यकताका आधारमा वितरण भएको छ । डा. शाहीका अनुसार फाउण्डेशनले यसको आवश्यकता र प्रभावकारिताको आधारमा थप सामग्री सहयोग गर्ने जनाएको छ ।

‘खासमा हेर्दा सामान्य लाग्ने तर यसले बिरामी र निको भएका व्यक्तिहरुको आत्मविश्वास बढाउन ठूलो भूमिका खेल्दो रहेछ,’ डा शाहीले भने ।

गरीब तथा विपन्न बिरामीको समेत आधार मानिएको पाटन अस्पतालमा डा शाहीले गरेको उपचार सेवाबाट प्रभावित भएर भिकेयर फाउण्डेसनकी प्रमुख ज्योति पटेल साहले ती सामग्री उपलव्ध गराएकी हुन् ।

डा शाहीले अहिले थोरै परिमाणमा आएपनि आवश्यकताका आधारमा बिरामीहरुलाई सहयोग गर्न फाउन्डेशन तयार रहेको बताए ।

फाउण्डेसनले प्रोस्थेसिस ब्रा, केमो क्याप, नक्कली कपाल, कन्फिडेन्स व्याग, सल लगायतका सामग्रीहरु निशुल्क बितरणका लागि उपलव्ध गराएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “फलोअपका लागि पाटन अस्पताल गएकी सरिताले जब ‘प्रोस्थेसिस ब्रा’ पाईन् ………

Leave a Reply

Your email address will not be published. Required fields are marked *