नेपालमा ५ हजारभन्दा बढीमा डेंगी संक्रमण पुष्टि, ३ जनाको मृत्यु
काठमाडौँ, १३ भदौ । नेपालमा सन् २०२४ जनवरीयता हालसम्म ५ हजारभन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार देशका ७५ जिल्लाबाट ५ हजार ५८९ जनामा डेंगी संक्रमण पुष्टि भएको हो । जसमध्ये ३ जना सङ्क्रमितको मृत्यु भएको छ ।
दुई जिल्लामा ५ सयभन्दा बढिमा डेंगी सङ्क्रमण पुष्टि भएका छन् । तनहुँमा १ हजार ६७ र कास्कीमा ५३६ जनामा डेंगी पुष्टि भएको इडिसिडीले जनाएको छ ।
यसैगरी, चितवनमा ४८६, काठमाडौँमा ४६६, पर्वतमा ३१७, गोरखामा २०८, झापामा १६०, मकवानपुरमा १११, भोजपुरमा ९६, पाल्पामा ९४ जनामा डेंगी पुष्टि भएको छ ।
प्रदेश अनुसारमा बागमती र गण्डकी प्रदेशमा सबैभन्दा बढी डेंगी सङ्क्रमण पुष्टि भएको छ । बागमती प्रदेशमा १ हजार ४८६, गण्डकी प्रदेशमा २ हजार ४४०, कोशी प्रदेशमा ७४९, लुम्बिनी प्रदेशमा ४१८, सुदूरपश्चिम प्रदेशमा ३३४, मधेश प्रदेशमा ५६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
डेंगी विशेषगरी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । लामखुट्टेको मात्रा बढी रहेका ठाउँमा यसबाट बच्नलाई पानी जम्ने भाडाकुडा तथा खाल्डाखुल्डी भएका ठाउँमा यसको लार्भा हुने भएकाले त्यस्ता ठाउँहरूलाई पूर्ण रुपमा विस्थापित गर्न सके केही कम हुने स्वास्थ्यकर्मीहरूको सल्लाह दिएका छन् ।
सम्पर्क इमेल : [email protected]