थाइल्याण्डमा विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु, २० जनाभन्दा बढी अस्पताल भर्ना

बैङ्कक, १२ भदौ । थाइल्यान्डमा गैरकानुनी रूपमा बनाइएको मेथानोलयुक्त मदिरा पिउँदा कम्तीमा छ जनाको मृत्यु भएको र गम्भीर अवस्थामा रहेका २० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बुधबार बताएका छन् ।

बैङ्ककको उत्तरपश्चिमी किनारमा रहेको ‘ख्लोङ साम वा’ जिल्लामा यो घटना भएको हो । अधिकारीहरूले यस क्षेत्रको सडक किनारमा रहेका १९ पसलमा अवैध मदिरा बिक्री गरेको छापापछि फेला पारिएको थाइ प्रशासनले जनाएको छ ।

अस्पतालमा बुधबार बिहान छ जनाको मृत्यु भएको र २२ जनाको अवस्था गम्भीर रहेको बैङ्कक मेट्रोपोलिटन प्रशासनले एक विज्ञप्तिमा जनाएको छ ।

मदिरा पिएर बिरामी हुनेमध्येका एक आफन्तले सार्वजनिक प्रसारणकर्ता थाईपीबीएसलाई बताउनुभयो, “मदिरा पिएपछि मेरा बुबाले पेट गुर्रिएको र बताउनुभएको र पछि बेहोस हुनुभएको थियो । उहाँलाई आईसीयूमा राखी उपचार गरेपछि अहिले होसमा हुनुहुन्छ ।”

थाइल्याण्डमा मदिरा बिक्रीलाई प्रत्येक दिनको निश्चित घण्टामा सीमित गर्ने र धार्मिक बिदाहरूमा यसको व्यापारमा प्रतिबन्ध लगाउने कडा मदिरा कानुनी प्रावधान छन् ।

तर यस्ता नियमले स्थानीय रूपमा ‘या डोङ’ भनेर चिनिने अनियमित ढङ्गले बनेको सस्तो रक्सीको कालो बजारलाई प्रोत्साहन गरेको आलोचकहरूले बताएका छन् ।

‘ख्लोङ साम वा’ जिल्लाका शीर्ष स्थानीय अधिकारी सोमवाङ चाइप्राक्राइवानले अधिकारीहरूले यस क्षेत्रका अवैध मदिरा पसलमाथि कारबाही गरेको बताए ।

“प्रहरी र अन्तःशुल्क विभागले गैरकानुनी मदिरा व्यापारीलाई पक्राउ गरी हिरासतमा लिएको छ,” सोमवाङले बताए ।

अवैधरूपमा बनाइएको मदिरामा यसको शक्ति बढाउन प्राय मेथनोल मिसाइन्छ । मेथानोलको सेवनले अन्धोपन, कलेजोको क्षति र मृत्युसमेत निम्त्याउन सक्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *