स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ समिटको आयोजना गर्दै, कार्यदल गठन

काठमाडौँ, १२ भदौ । नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका क्षेत्रमा विश्वभर क्रियाशिल नेपाली विज्ञहरुको सहभागीतामा नेपाल हेल्थ समिट आयोजना गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार यससम्बन्धी निर्णय गरेका हुन् ।

गत साउन २७ गते उनले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा ‘नेपाल बाहिर विभिन्न देशमा विज्ञता र अनुभव हासिल गरिरहेका स्वास्थ्य जनशक्तिको सीप र दक्षतालाई नेपालको स्वास्थ्य सेवा प्रणालीसँग आबद्ध गर्न आवश्यक प्रबन्ध गरिने’ उल्लेख थियो ।

विश्वभरका नेपाली चिकित्सक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा नर्सहरुको सीप र दक्षतालाई देशको स्वास्थ्य सुधारमा उपयोग गर्न आवश्यक सुझाव लिनका लागि सम्मेलन गर्न लागिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

‘समिटमा सहभागी नेपाली विज्ञबाट प्राप्त सुझावका आधारमा मन्त्रीज्यूको लक्ष्यअनुसार स्वास्थ्य क्षेत्रमा सुधारको कार्ययोजना तयार पारिनेछ,’ उनले भने ।

मन्त्रालयले यसका लागि आवश्यक तयारी गर्न डा। प्रकाश थपलियाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठनसमेत गरेको छ ।

कार्यदलमा स्वास्थ्य विज्ञ डा. शम्भु आचार्यसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला तथा धुलिखेल अस्पतालका डा. विराज कर्माचार्यलाई सदस्य छन् ।

यसैगरी, विज्ञहरु डा. रुना झा, प्रमुख जनस्वास्थ्य प्रशासक डा.  भीमप्रसाद सापकोटा, डा. अर्चना अमात्य, वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुगाना र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिलाई सदस्य तोकिएको छ ।

कार्यदलको सुझावका आधारमा मन्त्रालयले सम्मेलनको मिति तथा आवश्यक कार्यढाँचा तय गर्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

2 thoughts on “स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ समिटको आयोजना गर्दै, कार्यदल गठन

  1. प्रदेश र स्थानीय तह को पनि सहभागीता गराए राम्रो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *