नेपाल नेशनल हस्पिटलको जोखिमपूर्ण फोहर व्यवस्थापन कार्य अझ खराब : काठमाडौँ महानगर

काठमाडौँ, ११ भदौ । कलंकीस्थित नेपाल नेशनल हस्पिटलको जोखिमपूर्ण फोहर व्यवस्थापन कार्य गएको वर्षभन्दा अझ खराब देखिएको छ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले हिजोबाट सुरु गरेको अनुगमनका क्रममा उत्पादित फोहरको व्यवस्थापनमा चरम लापर्वाही देखिएको विभागका वरिष्ठ शाखा अधिकृत सानुमैया महर्जनले जानकारी दिईन् ।

‘वार्डहरुबाट उत्पादन भएको फोहर राख्न भवनको पछाडिपट्टि जस्ताले बारेको टहरा छ । टहरामा ४ वटा कोठा छन् । तीमध्येको पहिलो कोठामा सिरिञ्ज र बोतलहरु छरपस्ट थिए । दोस्रो कोठाको कुनामा कालो प्लाष्टिकमा पोको बाँधेर फोहोर राखिएको थियो । तेस्रो कोठामा धेरै फोहरका पोका थिए । ती पोकाका बिचमा खुला छरिएको फोहर थियो । एक व्यक्ति यो फोहरलाई छुट्याउने काममा व्यस्त हुनुहुन्थ्यो । उहाँले कालो मास्क लगाउनुभएको थियो । यसबाहेक न पिपिइ (व्यक्तिगत सुरक्षा पोशाक(, न हातमा पञ्जा, न खुट्टामा बुट, न टाउको छोप्ने कुनै टोपी, उहाँ आफू पूर्ण असुरक्षित भएर अस्पतालको फोहर वर्गीकरण गरिरहनुृभएको थियो । उहाँले काम गरिरहनु भएको ठाउँमा राखिएको अटोक्लेभ मेसिन कालो प्लाष्टिकमा बाँधिएको फोहरको पोकाले छोपिएको थियो,’ महर्जनले भनिन् ।

यो अटोक्लेभ मेसिन गएको वर्षको अनुगमन हुँदा अस्पतालले विग्रिएको जानकारी दिईएको थियो । त्यसबेला तत्काल बनाएर सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएको थियो ।

सो अस्पतालले २०८० फागुनमा जोखिमपूर्ण फोहर निर्मलीकरण गरेर व्यवस्थापन गर्छु भनेर प्रतिवद्धता थियो । यसपछि चैत १० गते गरिएको अनुगमनमा सुधार थिएन । अस्पतालले प्रतिवद्धता दोहोर्‍याएपछि अनुगमन टोली सुधारको मौका दिएर फर्किएको थियो । यसपछि चैत १६ गते अस्पतालबाट एक जना व्यवस्थापक र एक जना फोहर व्यवस्थापनका फोकल पर्सनलाई बोलाएर स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन सम्बन्धी १ दिने तालिम प्रदान गरिएको थियो । यी सबै प्रयासपछि आज अनुगमनमा जाँदा गएको वर्ष बिग्रिएको अटोक्लेभ मेसिन सञ्चालन गर्नुको सट्टा फोहरको पोकोले पुरिएको पाइयो, महानगरकी वातावरण निरीक्षक सृष्टि श्रेष्ठले अगाडी थपिन् ‘हस्पिटलले संक्रमित फोहर व्यवस्थापनमा चरम लापर्वाही गरेको छ ।’

उनले फोहर संकलन गर्ने ठाउँ नजिकै हस्पिटलमा आउने आगन्तुकलाई सवारी साधन पार्किङ् गर्ने ठाउँ बनाइएको र जस्ता पाताको तल्लो भागबाट मुसाहरु सजिलै आवतजावत गर्न सक्ने ठाउँ रहेको भन्दै यसबाट वातावरणीय तथा मानव स्वास्थ्यजन्य जोखिम बढेको बताईन् ।

टोलीले सोमबार नै कलंकीमा रहेको भएको सहिद मेमोरियल अस्पतालको पनि अनुगमन गरेको जनाएको छ । सो अस्पतालले भने अघिल्लो बर्षको तुलनामा धेरै सुधार गरेको टोलीले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *