स्थापनाको १३ वर्ष पछि प्रथम दीक्षान्त समारोह गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
जुम्लामा आगामी २३ भदौका दिन समारोह गर्ने गरी कुलपतिले दिन तोके
काठमाडौँ, ७ भदौ । स्थापनाको १३ बर्ष पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रथम दीक्षान्त समारोह गर्ने भएको छ । प्रतिष्ठानले आगामी २३ भदौका दिन प्रथम दीक्षान्त समारोह गर्ने भएको हो ।
प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले २३ भदौमा प्रथम दीक्षान्त समारोह गर्न कुलपति एवं प्रधानमन्त्रीबाट स्वीकृति आइसकेको भन्दै त्यसको तयारीमा जुटेको बताए ।
प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षितका लागि योग्य छन् ।
यसअघि प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले प्रथम दीक्षान्त समारोह गर्न भन्दै स्विकृतिका लागि भन्दै कुलपति समक्ष पत्र पठाएका थिए । सोही पत्रको जवाफमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रतिष्ठानलाई २३ भदौ आइतबार, विहान १०:३० बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा दीक्षान्त समारोह गर्नका कुलपतिले स्वीकृत गरेको व्यहोरा सहितको पत्र पठाएको छ ।
‘प्रतिष्ठानबाट अहिलेसम्म जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका कुल ५६ विद्यार्थीहरु पास आउट हुनु भएको छ । उहाँहरुलाई दीक्षित गरिनेछ,’ उपकुलपति डा. रावलले भने ।
उनले प्रतिष्ठान स्थापनाको झण्डै ढेड दशक पुग्न लाग्दासम्म दीक्षान्त समारोह नभएको अवस्थामा यसपटक हुन लाग्दा खुशी लागेको समेत सुनाए ।
प्रतिष्ठानका परीक्षा शाखा प्रमुख नृपेशबुढ थापाले प्रतिष्ठानबाट अहिलेसम्म स्नातक तर्फ बीपीएचमा पहिलो र दोस्रो ब्याच गरी ३८ जना, बीएमएसमा पनि दुई ब्याचको १३ जना र स्नातकोत्तर तर्फ एमडीजीपीमा ३ जना, एमडी एनेस्थेसियामा १ र एमडी पेडीयाट्रिक्समा १ गरी ५ जना सहित कुल ५६ जना पास आउट भएको जानकारी दिए ।
२३ भदौको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीसंगै सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेलको सहभागिता हुनेछ । सोही अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको अत्याधुनिक शैक्षिक भवन (एकेडेमिक विल्डिङ)को समेत उद्घाटन गर्नेछन् ।
यस्तै तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा सञ्चालनमा आउन लागेको आँखा केन्द्रको उद्घाटन र विश्व स्वास्थ्य संगठनको सहयोगमा इएमआर हस्तान्तर गर्ने कार्यक्रम राखिएको छ । सो कार्यक्रमका लागि बरिष्ठ आँखा विज्ञ डा सन्दुक रुईत, विश्व स्वास्थ्य संगठन नेपाल प्रमुख डा राजेश सम्भाजीराव पाण्डबको पनि सहभागिता हुने बताइएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला विसं २०६८ साल देखि सञ्चालनमा आएको हो । अहिले त्यहाँ एमबीबीएस तथा नर्सिङका अरु कार्यक्रम समेत सञ्चालन सुरु भएको छ ।
सम्पर्क इमेल : [email protected]