पहिलो ‘साउथ ईष्ट एशिया रिजनल एनसीडीज् कन्फ्रेन्स- २०२४’ आज देखि सुरु

काठमाडौँ, ५ भदौ । नसर्ने रोग बिरुद्ध दक्षिण पूर्वी एशिया क्षेत्रका देशहरुको गठबन्धन साउथ ईष्ट एशिया रिजनल एनसीडीज एलायन्स (एसईएआर एनसीडीज एलायन्स)को आयोजनामा नसर्ने रोग सम्बन्धी पहिलो क्षेत्रीय सम्मेलन आजबाट सुरु हुँदैछ ।

‘फ्रस्ट साउथ ईष्ट एशिया रिजनल एनसीडीज् कन्फ्रेन्स -२०२४’ नाम दिइएको यो सम्मेलन अगामी ७ भदौ (२३ अगष्ट) सम्म चल्नेछ ।

‘भर्च्युल’ माध्यममा हुने यो तीन दिने सम्मेलनमा सहभागी हुनका लागि कुनै शुल्क लाग्ने छैन । ईच्छुकहरुका लागि अहिले पनि रजिष्ट्रेसन खुल्ला रहेको आयोजकले जनाएको छ ।

नेपाली समय अनुसार आज मध्यान्न १२ : ४५ बाट सुरु हुने सम्मेलनको सुरुवाती सेसनको मोडरेसन नेपाल एनसीडी एलायन्सका अध्यक्ष डा प्रकाशराज रेग्मीले गर्ने छन् । उनले प्लेनरी सेसन १ मा प्राइमरी एण्ड इन्टीग्रेटेड क्लिनिकल केयर फर एनसीडीज म्यानेजमेन्ट विषयमा मोडरेसन गर्दैछन् ।

सोही दिन हुने प्लेनरी सेसन २ मा हेल्थ केयर सिस्टम रेडिनेश च्यालेन्जेज एण्ड अपरचुन्युटि विषयमा इडिसीडीका एनसीडी एण्ड मेन्टल हेल्थ शाखा प्रमुख डा. पोमावती थापाको प्रस्तुति रहने छ ।

यसैगरी गरीबी, शिक्षा र शहरीकरणको राम्रो हस्तक्षेप गर्ने सामाजिक निर्धारक तत्वको बारेमा नेपाल एनसीडी एलायन्सका सह अध्यक्ष शान्तलाल मुल्मीले प्रस्तुति दिने छन् ।

यस्तै म्यानेजमेन्ट एण्ड मेटिगेशन अफ एनसीडीज एण्ड रिस्क फ्याक्टरको बारेमा नेपाल स्वास्थय अनुसन्धान परिषद्का डा मेघनाथ धिमालले प्रस्तुति दिनेछन् ।

आज बेलुका ५ ५० पछि हुने उदघाटन सत्रमा नेपाल एनसीडी एलायन्सका उपाध्यक्ष डा अभिनव वैद्यले सम्मेलनको उदेश्यबारेमा प्रकाश पार्ने छन् भने अतिथिको रुपमा अध्यक्ष डा प्रकाश राज रेग्मीले बोल्ने कार्यक्रम रहेको छ ।

दक्षिणपूर्वी एशिया क्षेत्रमा नसर्ने रोगको जोखिम, कारक तत्व, यसको नियन्त्रणका लागि बनेका नीतिहरु आदानप्रदान गर्ने, नसर्ने रोग रोकथाम, व्यवस्थापन र नियन्त्रणका लागि समग्र र एकीकृत दृष्टिकोण विकास गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सहयोगलाई सहज बनाउन तथा सम्वाद र साझेदारीलाई बढावा दिन पनि यो कार्यक्रम आयोजना गर्न लागिएको नेपाल एनसीडी एलायन्सका उपाध्यक्ष समेत रहेका एसईएआर एनसीडीज एलायन्सका नेपाल प्रतिनिधि डा अभिनव वैद्यले बताए ।

उनले सम्मेलनबाट स्वास्थ्यकर्मीहरु, नीति निर्माताहरु, आम जनमानसमा नसर्ने रोगहरुको व्यापकता र प्रभावको बारेमा सचेतना बढाउन तथा क्षेत्रीय र सामुदायिक स्तरमा देखिएको जोखिम तथा कारकहरुलाई सम्वोधन गर्न र यसको रोकथाम र नियन्त्रण गर्नका लागि सहयोेग हुने जानकारी दिए ।

सम्मेलनमा मुटुरोग, मधुमेह, सीओपीडी, क्यान्सर, मिर्गौला, मस्तिष्क घात, मानसिक स्वास्थ्य, चोटपटक, न्युरो डेभलपमेन्ट डिसअर्डर लगायतका रोगको विषयमा छलफल केन्द्रीत हुने बताइएको छ ।

सम्मेलनको विषयगत क्षेत्रहरुमा नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य प्रणालीहरु, हेल्थ फाइनान्सिङ, एनसीडीको लागि सुशासन र बहु क्षेत्रीय सम्लग्नतामा सुधार, जलवायु परिवर्तन र एनसीडीको जोखिम कारक, जीवनशैली लगायत राखिएको छ ।

नसर्ने रोगको अवस्था कस्तो छ ?

विश्वमा प्रत्येक दुई सेकण्डमा ७० वर्ष मुनिको एक जना व्यक्तिको नसर्ने रोगकै कारण मृत्यु हुने गरेको छ । यस्तै नसर्ने रोगबाट हुने अकाल मृत्युमध्ये ८६ प्रतिशत न्युन मध्यम आय भएका देशहरुमा हुने गरेको छ । सामाजिक आर्थिक र बातवरणीय कारकहरुले गर्दा उच्च आय भएका देशहरुको तुलनामा न्युन तथा मध्यम आय भएका देशहरुमा जोखिम बढी हुने गरेको हो ।

नसर्ने रोग बिरुद्ध दक्षिण पूर्वी एशिया क्षेत्रका देशहरुको गठबन्धन साउथ इष्ट एशिया रिजनल एनसीडी एलायन्स (एसईएआर एनसीडी एलायन्स)मा नेपाल एनसीडी एलायन्स, बंगलादेश नन् कम्युनिकेवल डिजिज फोरम, बंगलादेश नेटवर्क फर एनसीडी कन्ट्रोल एण्ड प्रिभेन्सन, हेल्दी इन्डिया एलायन्स, एनसीडीए इन्डोनेसिया र एनसीडी मलेसिया सदस्य रहेका छन् ।

यस्तै मालदिभ्स एनसीडी एलायन्स, म्यानमार एनसीडी एलायन्स, एनसीडीए लंका र थाइ एनसीडी एलायन्स पनि सदस्य रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *