यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले यसरी मनाए गाईजात्रा
काठमाडौँ ४ भदौ । आज गाईजात्रा पर्व, नेवार समुदायले परम्परागत रुपमा मनाउँदै आएको यो पर्वलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले फरक तरिकाले मनाएका छन् ।
काठमाडौँ आज भेला भएका तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायका सदस्यले गौरब दिवस (प्राइड डे) रुपमा गाईजात्रा मनाएका हुन् ।
‘संस्कृति मनाऔँ, लैङ्गिक विविधता अंगालौँ’ भन्ने नाराका साथ मनाइएको गाईजात्रामा उनीहरुले मौलिक पोशाक तथा आधुनिक पोशाकमा सजिएर प्रस्तुत भएका थिए ।
ठमेल सञ्चयकोष भवन अगाडीबाट दिउसो १ बजे सुरु भएको उनीहरुको र्याली बसन्तपुर हुँदै न्युरोडको जुद्धशालिक पुगी पुन बसन्तपुरमा आई समापन भएको थियो । समापन हुनु अघि बसन्तपुर डबलीमा पुगेर उनीहरुले आफ्ना दिवङ्गत सदस्यहरुको सम्झनामा मैनबत्ती बालेका थिए ।
त्यसो त नील हिरा समाजको आयोजनामा २१ वर्षदेखि गाईजात्राका दिन तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायले गौरव दिवसका रुपमा मनाउँदै आएका छन् ।
कार्यक्रमको शुभारम्भ गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडी पनि पुगेका थिए ।
‘समाजमा हामी पनि छौं, हाम्रो पनि अधिकार र पहिचान छ भन्ने सन्देश दिनका लागि गाईजात्रालाई विशेष बनाइएको हो,’ सो समाजमा आवद्ध एक जना सदस्य भक्ति शाहले भने ।
आजको गाइजात्रामा काठमाडौँ सहित देशका विभिन्न भागबाट नील हिरा समाजका सदस्यहरु सहभागी भएको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]