उद्घाटनको पर्खाइमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको नव निर्मित शैक्षिक भवन
काठमाडौँ, ३ भदौ । विगत केही वर्ष देखि चिकित्सा शिक्षाशास्त्र तर्फको स्नातक तथा स्नातकोत्तर तहको अध्यापन सुरु गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक भवन (एकेडेमिक बिल्डिङ)को अभाव थियो । तर अब त्यो अभाव नहुने भएको छ ।
प्रतिष्ठानको सम्पूर्ण शैक्षिक कार्यक्रम सञ्चालनका लागि मुख्य भवन नजिकै सात तलाको नयाँ शैक्षिक तयार भएको छ ।
प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले भवन यहि (भदौ) महिनाको अन्तिम साता प्रतिष्ठानका कुलपति अर्थात प्रधानमन्त्रीलाई बोलाएर उद्घाटन गराउने योजना रहेको बताउँछन् । प्रतिष्ठानले आफ्नो फेसबुक पेजमा पनि नयाँ भवनको तस्बिर पोष्ट गर्दै प्रधानमन्त्रीबाट छिटै उद्घाटन हुने जानकारी गराएको छ ।
केही वर्ष अघिसम्म अति दुर्गम मानिने कर्णालीको जुम्ला प्रतिष्ठान स्थापना र सेवा सञ्चालन पछि भने सुगम जस्तै बनेको छ । पब्लिक हेल्थ, फार्मेसी, नर्सिङ मात्रै होइन एमबीबीएस देखि पीजी तहका डाक्टर बन्नका लागि स्वदेश तथा विदेशबाट विद्यार्थीहरुको घुईचो लाग्न थालेको छ ।
प्रतिष्ठानले स्वदेशका मात्रै होईन, विदेशी विश्वविद्यालय र प्रतिष्ठानसंग पनि सहकार्य गर्दै आफ्नो पहिचानलाई अन्तराष्ट्रिय स्तरमा पुर्याएको उपकुलपति डा रावल बताउँछन् ।
केही वर्ष अघिसम्म डाक्टर पठाउन मुस्किल जुम्लामा अहिले विशेषज्ञ डाक्टर पढाउनका लागि पुराना प्राध्यापकहरु जान थालेका छन् ।
सामान्य उपचारका लागि सुर्खेत र नेपालगञ्ज झरिहाल्नु पर्ने बाध्यता हटेको छ । जुम्लामा मात्रै होइन प्रतिष्ठानले त्यस वरपर अर्थात कर्णालीका अन्य जिल्लामा पनि आफ्ना डाक्टरहरु खटाएर उपचार सेवा सेवा उपलव्ध गराएको छ ।
‘प्रतिष्ठानको स्थापना र सञ्चालनसंगै थपिदै गएका र फेरिएका संरचनाले साच्चिकै जुम्ला र कर्णालीलाई केन्द्रबाट हेर्ने नजरिया बदलिएको छ । यो हामी सबैका लागि गर्वको विषय हो,’ उपकुलपति डा. रावल भने ।
सम्पर्क इमेल : [email protected]