गेटा अस्पतालमा सुरु भयो अन्तरंग सेवा
काठमाडौँ, ३२ साउन । कैलालीस्थित गेटा अस्पतालमा अन्तरंग सेवा सुरु भएको छ। अस्पतालमा शुक्रबार (आज) बाट अन्तरंग सेवाको सुरुवात गरिएको अस्पतालका निर्देशक डा. बिप्लव सापकोटाले जानकारी दिए।
‘अहिलेसम्म बहिंरंग (ओपिडीं) सेवा मात्रै दिएको गेटा अस्पतालमा आजबाट बिरामी भर्ना गर्न मिल्ने भएको छ । हामीले आजबाट अन्तरंग सेवा सञ्चालन गरेका छौँ । यसका लागि महिला र पुरुष बिरामीको छुट्टाछुट्टै वार्डको व्यवस्था गरिएको छ । कुल मिलाएर अहिले ३५ बेड इन्डोर सेवा सञ्चालनमा ल्याएका छौँ । विस्तारै यो संख्या बढ्दै जानेछ,’ निर्देशक डा. सापकोटाले भने ।
उनले आगामी मंगलबार देखि अस्पतालमा शल्यक्रिया सेवा पनि सुरु गर्ने तयारी भएको बताए ।
‘अहिले अस्पतालमा आइसीयू सेवा छैन् । आइसीयूको तयारी गर्दैछौँ । अझै करीव दुई महिना जति लाग्छ होला । संगै मोडुलर ओटि पनि सञ्चालनमा ल्याउने तयारीमा छ । अहिले भने स सानो शल्यक्रियाबाट सेवा प्रारम्भ गर्दैछौँ, मंगलबारबाट सिजरियन सेक्सन जस्ता सेवाहरु प्रारम्भ हुन्छ,’ डा. सापकोटोले भने ।
यस्तै अस्पतालले प्रयोगशाला र फार्मेसी सेवा २४ सै घण्टा प्रदान गर्ने भएको छ।
गेटा अस्पतालले जनरल ओपिडी, हाडजोर्नी तथा नशा रोग ओपिडी, स्त्रीरोग सेवा, जनरल सर्जरी, अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला लगायतका सेवा प्रदान गर्दै आइरहेको छ। अस्पतालमा अहिले ओपिडी सेवाका दैनिक ४५ बढी बिरामी आउने गरेका छन् ।
गेटामा १२ जना चिकित्सक सहित ६३ जना स्वास्थ्यकर्मीहरुले सेवा दिन थालेका छन् । लामो सयम देखि सञ्चालनको अन्योलमा रहेको यो अस्पतालले पछिल्लो समय गति लिन थालेको छ ।
संघीय सरकारको प्रत्यक्ष चासो रहेको यो अस्पताललाई प्रभावकारी रुपमा सञ्चालनका लागि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले ताकेता गर्दै आएका छन् । मन्त्री पौडेलले यसै साता सार्वजनिक गरेको आफ्नो कार्ययोजनामा पनि गेटामा अन्तरंग सेवा सञ्चालन गर्ने उल्लेख गरेका थिए ।
सम्पर्क इमेल : [email protected]