बंगलादेशमा एमबीबीएस र बीडीएसमा अध्ययनरत नेपाली विद्यार्थीलाई इन्टर्नसीप नेपालमै गराउन सकिन्छ ? दश दिन भित्र राय दिन समिति गठन

मेडिकल काउन्सिलको पनि बस्यो आकस्मिक बैठक


काठमाडौँ, २९ साउन । सरकारले बंगलादेशमा चिकित्सा शिक्षा (एमबीबीएस र बीडीएस) अध्ययन्रत नेपाली विद्यार्थीहरुको इन्टर्नसीप नेपालमै गर्ने गराउने वा बैकल्पिक व्यवस्था गर्ने भन्ने विषयमा आवश्यक निर्णय लिन कार्यारम्भ गरेको छ ।

सोमबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको बैठकले चिकित्सा शिक्षा आयोगका निर्देशक प्राडा सुजनबाबु मरहठ्ठाको संयोजकत्वमा नौ सदस्यीय अध्ययन् समिति गठन गरेको छ ।

सो समितिको सदस्यहरुमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको (सहसचिव स्तर) प्रतिनिधि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको (सहसचिव स्तर) प्रतिनिधि, परराष्ट्र मन्त्रालय (सहसचिव स्तर) प्रतिनिधि रहेका छन् ।

यस्तै नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डीन, काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डीन, त्रिवि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक पनि सदस्य तोकिएको छ ।

समितिको सदस्य सचिव भने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव तोकिएको छ ।

उक्त समितिले मुख्यत तीन विषयमा केन्द्रीत रहेर दश दिन भित्र राय सुझाव दिनु पर्नेछ ।

बंगलादेशमा विद्यार्थीहरुको नेतृत्वमा भएको आन्दोलनबाट शेख हसिना नेतृत्वको सरकार अपदस्त भएको छ । हसिना अहिले भारतमा छिन् ।
आन्दोलन चर्किदै जाँदा त्यहाँ अध्ययन गरेका धेरै विद्यार्थीहरु नेपाल फर्किएका थिए ।

अहिले अन्तरिम सरकार गठन भए पनि तत्काल फर्किने अवस्था नरहेको विद्यार्थीहरुले बताएका छन् । त्यहाँ अध्ययनरत विद्यार्थीका अगुवाहरुले शिक्षा, स्वास्थ्य र परराष्ट्र मन्त्रालय, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिलमा गई विशेष परिस्थितिका कारण नेपालमै बाँकी पढाई वा इन्टर्नसीप गर्ने व्यवस्था मिलाउन निवेदन दिएका थिए ।

समितिलाई दिइएको कार्यभार के हो ?

मन्त्रालय स्रोतका अनुसार प्राडा मरहठ्ठा संयोजक रहेको समितिलाई तीन विषयमा केन्द्रीत रहेर राय सुझाव पेश गर्न भनिएको छ ।

त्यसको पहिलो बुदामा बंगलादेशस्थित विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबीबीएस र बीडीएस कार्यक्रममा अध्ययन्रत नेपाली विद्यार्थीहरुको विवरण तयार गरी हालको अवस्था र समस्या पहिचान गर्ने रहेको छ ।

यस्तै बंगलादेशस्थित विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबीबीएस र बीडीएस कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीमध्ये इन्टर्नसीपको चरणमा रहेका विद्यार्थीहरुलाई नेपालमा नै बाँकी रहेको अवधीको इन्टर्नसीप गर्ने गराउने सम्वन्धमा वा अन्य बैकल्पिक व्यवस्था सिफारिस गर्ने र परराष्ट्र मन्त्रालय मार्फत बंगलादेश सरकार, सम्वन्धित विश्वविद्यालय तथा सरोकारका निकाय तथा पक्षहरु बीच समस्या समाधानका लागि पहल तथा समन्वय गर्नुपर्ने छ ।

मेडिकल काउन्सिलको पनि बस्यो आकस्मिक बैठक

यसैबीच बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली विद्यार्थीको विषयमा छलफल गर्न नेपाल मेडिकल काउन्सिलमा आज आकस्मिक बैठक बसेको छ ।

काउन्सिल अध्यक्ष प्राडा चोपलाल भुसालको अध्यक्षतामा बसेको बैठकले बंगलादेशको परिवर्तित राजनीतिक परिघटनाले त्यहाँ मेडिकल अध्ययनका लागि गएका नेपाली विद्यार्थीको अवस्था र पढाई पुरा गर्ने विषयमा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीले दिएको आवेदनको विषयमा छलफल भएको छ ।

विभिन्न पक्ष र सरोकारवालासंग थप छलफल गरी आवश्यक निर्णय लिने कुरा भएको छ ।

यसबीचमा शिक्षा मन्त्रालयले समेत छुट्टै समिति नै गठन गरिसकेकोले पनि त्यसको सुझाव हेरेर अघि बढ्ने कुरा भएको रजिष्ट्रा डा सतिशकुमार देवले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *