बंगलादेशमा अन्तरिम सरकार : स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको जिम्मेवारी नुरजहान बेगमलाई
काठमाडौँ, २५ साउन । शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिएर निर्वासित भएको तेस्रो दिन बंगलादेशमा अन्तरिम सरकार गठन भएको छ।
नोबेल शान्ति विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसले बिहीबार राति बंगलादेशको अन्तरिम सरकार प्रमुखका रूपमा शपथ लिएका छन्। सोही दिन उनी नेतृत्वको सरकारमा रहने अन्य सल्लाहकार सदस्यहरूले पनि शपथ लिएका छन्।
शुक्रबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचनामा १३ सदस्यीय अन्तरिम मन्त्रिपरिषद्को प्रमुख र सल्लाहकार सदस्यहरुले सम्हाल्ने मन्त्रालय र विभागहरुको जिम्मेवारी तोकिएको छ । जसमा अन्तरिम सरकारका प्रमुख डा युनुसलाई विभिन्न २७ वटा मन्त्रालय तथा विभागको जिम्मेवारी दिइएको छ । उनी बाहेक अन्य १२ जना सदस्यहरुलाई अरु विभिन्न मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार नुुरजहान बेगमलाई स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय दिइएको छ । सोही अनुसार अब उनी अन्तरिम सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय सम्हाल्ने छिन ।
यसअघि हसिना मन्त्री मण्डलमा डा सामन्तलाल सेनले स्वास्थ्य तथा परिवारकल्याण मन्त्रालय सम्हालेका थिए । उनी पेशाले चिकित्सक नै थिए । तर अहिले स्वास्थय मन्त्रालय सम्हाल्न आएकी नुरजहान बेगम भने बैकिंङ क्षेत्रको विज्ञता बोकेकी महिला हुन् ।
को हुन स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको जिम्मेवारी सम्हालेकी नुरजहान बेगम ?
बंगलादेशको अखबार डेलीस्टारका अनुसार नुरजहान बेगम गरिबहरूलाई ऋण दिनका लागि ग्रामीण बैंक स्थापना गर्दा ताकाका युनुसका मुख्य सहयोगी हुन्।
सन् १९७६ मा चित्तगंग युनिभर्सिटीमा विद्यार्थी रहँदा उनले गाउँका गरीब महिलाहरूलाई ग्रामीण बैंकमा जोड्न महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्।
महिलाहरूलाई घरबाहिर निस्कन र श्रीमानबाहेक अन्य पुरूषसँग बोल्नसमेत बन्देज रहेको समयमा नुरजहान चितगङ, टांगेल, रंगपुर क्षेत्रमा गएर त्यहाँका गरिब किसानहरूलाई ग्रामीण बैंकबाट ऋण लिन सकिने र त्यसलाई सदुपयोग गरेर आर्थिक उन्नति गर्न सकिनेबारे बताउँदै हिँड्थिन्।
उनले नोबेल पुरस्कार विजेता संस्थाको उपप्रबन्ध निर्देशकको रूपमा काम गरिन् र २०११ मा युनुस सेवानिवृत्त भएपछि नुरजहान कार्यवाहक एमडी भइन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न पुरस्कारहरूसमेत पाएकी छन्।
सम्पर्क इमेल : [email protected]