विद्यालय स्वास्थ्यमा सरोकारवालाहरुको भूमिका

– प्रा. दुर्गा खड्का मिश्र
हरेक बालबालिकाहरुका लागि लागि आफ्नो घर पहिलो पाठशाला हो भने आमा वाबु (अभिभावक) हरु प्रथम शिक्षक हुन् ।
जब बालबालिकाहरु  साना कलिला अबस्थाका हुन्छन् उनीहरुको समग्र बृद्धि विकासका लागि माया, स्वच्छ वातावरण, स्वस्थ तथा सन्तुलित भोजन, खेलकुद, ब्यायाम, आराम, खोप, मनोरञ्जन आदि सबै कुराहरुको बारेमा ख्याल राख्नु परिवारको मुख्य भूमिकामा पर्न आउँछ ।
अन्य मुलुक खासगरी विकसित मुलुकहरुमा हरेक दम्पतिलाई विवाह पूर्व नै परामर्श गर्ने गरिन्छ अभिभावकत्वका बारेमा तर हाम्रो देश नेपालमा यस प्रकारको प्रणालीको विकास भै सकेको छैन । साथै बच्चा जन्मिई सके पछि कस्ता कस्ता चिजहरुमा ध्यान दिनु पर्छ भन्ने कुराको पनि कमै अभिभावकहरुलाई थाहा छ ।
धेरै जसो नयाँ बाबु आमाहरुले त आफ्ना बच्चाहरुको हेरचाह सम्बन्धि ज्ञान, जानकारी र शीप आफ्ना आमा, सासु, दिदी, जेठानी, भाउजु, आमाजू अथवा समुदायमा भएका जान्ने बुझ्नेहरुसंग प्राप्त गर्ने  गरेको पाइन्छ । आज भोलि सामाजिक सञ्जाल, रेडियो, टिभी तथा अनलाइन, पत्रपत्रिकाहरुबाट स्वास्थ्य सम्बन्धि जानकारी प्राप्त हुने गरेका त छन् तर सबै यस्ता सूचनाहरु पर्याप्त नहुने, सही पनि नहुने देखिएको छ ।
बच्चाहरुको दोश्रो घर भनेको उनीहरुको विद्यालय हो ।
जहाँ उनीको ८ १२ घण्टा दैनिक बित्ने गर्दछ ।  पहिला पहिलाको चलनमा बच्चाहरुलाई ६ वर्ष पुगे पछि मात्रै विद्यालय पठाईने गरिन्थ्यो तर आजकाल बच्चा तोते बोली बोल्दै गर्दा आमा बाबु वा अन्य व्यक्तिहरुले पिठियूमा बोकेरै भए पनि विद्यालय पठाउने गरेका छन् ।
हिजोका दिन भन्दा आजभोली अभिभावकहरुमा धेरै व्यस्त पनि भएका छन् । बालबच्चाको भरण पोषण निक्कै चुनौती पूर्ण पनि बन्दै गएको छ । त्यसैले बच्चाहरुलाई कलिलै (अत्यन्तै) उमेरमा स्कुल पढाउँनु पर्ने बाध्यता छ भने अर्का तर्फ धेरै जसो बाबु – आमाले एउटा मात्र बच्चा जन्माउँने प्रचलन पनि बढदै गएको छ ।  जसका कारण घरमा बच्चा एक्लै हुने र खल्ने साथीहरु पनि नपाउँने हुदाँ प्रो -स्कुल, बाल विकास केन्द्रहरुमा साथीहरु पनि प्रसस्त हुने, खेल्ने, पढ्न, रमाउन र सिक्न पनि पाउँने हुन्छन् ।
 यसले उनीहरुका समग्र विकासका लागि सहयोग पनि पुर्‍याउन सक्छ ।  अर्को तर्फ अत्यन्तै फस्टाएको व्यापार मध्ये निजी विद्यालय संचालन पनि एक पर्दछ भन्नमा अत्यासयुक्ति नहोला । सरकारी विद्यालयहरु (केही बाहेक) अधिकांसमा निम्न आय स्तर भएका अभिभावकका बच्चाहरु अध्ययन गर्न जाने र कतिपय विद्यालयमा त विद्यार्थी भन्दा शिक्षकको संख्या बढी भएको पनि सुन्नमा र देख्नमा आएको छ ।
सरकारले विद्यालय शिक्षालाई स्तरवृदी गर्दै लैजाने क्रममा केहि सरकारी विद्यालयहरुमा विद्यालय नर्सहरु पनि प्रावधान गरेको छ भने अधिकांस विद्यालय (सरकारी वा निजी) हरुमा त्यो ब्यवस्था हुन सकेको पनि छैन ।
 अधिकांश (नाम चलेका वाहेक) निजी विद्यालयहरु प्रचारका लागि मात्र स्थापना भएका छन्, उनीहरुले भौतिक पूर्वाधारहरुमा खासै ध्यान पुर्‍याएको देखिदैन ।  कक्षा कोठा भित्र पर्याप्त हावा ओहोर दोहोर नहुने अध्यारो, ओसिलो छिडी जस्ता कक्षा कोठामा निकै सकस पूर्ण तरिकाले अध्यापन गराउने गरेको पनि भेटिन्छन् ।
धेरै जस्तो विद्यालयहरुमा शौचालय र खानेपानी साथै सरसफाई पनि निकै दयनीय अवस्थामा रहेको देख्न सकिन्छ ।यसमा विद्यालय व्यवस्थापनले विशेष ध्यान दिनु पर्ने देखिन्छ । हरेक विद्यालयमा स्थास्थ्य सम्बन्धी हेरचाह निगरानी गर्ने ईकाई हुनु अत्यन्त जरुरी हुन्छ ।
गर्मी याममा धेरै जसो बालबालिकाहरु विरामी पर्ने गरेका भेटिन्छन् ।
खास गरी सरसफाइको कमि र पानी जन्य, खाद्ययजन्य र स्वासप्रस्वास सम्बन्धी रोगबाट धेरै बच्चाहरु आक्रान्त भएको देखिन्छ । दुषित खाना तथा पानीबाट विभिन्न रोगहरुमा जस्तै झाडा पखला आउँ, हैजा, टाइफाईड, जन्डीस जस्ता रोगहरुबाट पिडित हुने गरेका छन् । रुघाखोकी दादुरा, ठेउला, धाउ खटीरा र छालाका अन्य रोगहरु पनि लाग्ने गर्दछ । बच्चाहरुमा कुपोषणको समस्याहरु पनि निक्कै देखा परेका छन् । खास गरी मोटोपना शहरी विद्यालयहरुमा, पुडको, आँखाको समस्या आदि ।
बच्चाहरु बिरामी पर्दा खास गरी सरुवा रोग लागेको अवस्थामा घरमै राखी हेरचाह गर्नु जरुरी हुन्छ । किनभने बिरामी बच्चालाई रोग लाग्दा कमजोर पनि भएको हुने, राम्रोसँग खाना नखाने, सिकाईमा पनि असर परिरहेको हुन्छ, भने उक्त रोगी बच्चाहरुले अन्य निरोगी बच्चाहरुलाई, हेरालुहरुलाई तथा शिक्षक, कर्मचारीहलाई रोग सार्न सक्ने र त्यसपछि उनीहरुले परिवारका अन्य सदस्यहरुलाई पनि रोग सार्न सक्छन् । फलस्वरुप उक्त बच्चा, अन्य बच्चा, शिक्षक, कर्मचारी तथा उनीहरुका घर परिवारमा रोग फैलिन गई समाज नै रोगी बन्न सक्छन् । यसले व्यक्तिगत तथा राज्यलाई नै बिरामीको भार थपिरहेको छ ।
त्यसैले राज्यको नीति निर्माण तह देखि निति नियम लागु गराउने निकाय समेतले विद्यालय स्वास्थ्यमा ध्यान पु¥याउनु पर्ने जरुरी देखिएको छ । बेला बखत स्थानिय सरकारले शिक्षकहरुसँग अन्तक्रिया गर्ने, अनुगमन तथा सुपेरीवेक्षण गर्ने, स्थानिय स्रोत साधनको सदुपयोग गर्ने, खानेपानी, सरसफाईको राम्रो व्यवस्था र्ने विद्यालयको वातावरण स्वच्छ राख्ने, पूर्ण खोप निश्चित गर्ने, शिक्षक तथा अभिभावकहरुको क्षमता अभिवृद्धि गर्ने, ठूला विद्यार्थीहरुलाई आफ्नो तथा साना भाई बहिनहिरुलाई स्वास्थ्यको ख्याल कसरी राख्ने भन्ने जस्ता ज्ञान, सीप तथा व्यवहार परिवर्तन गर्ने तालीम, अभिमुखिकरण आदि गर्न सकिन्छ ।
#प्राध्यापक मिश्र जनस्वास्थ्यकर्मी हुन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *