बंगलादेशको सत्ता उलटफेरले डब्लुएचओको क्षेत्रीय निर्देशक पदमा देखिएको बाछिटा, अब के गर्लिन् साइमा वाजेद ?
काठमाडौँ, २२ साउन । आन्दोलन चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोमबार पदबाट राजिनामा मात्रै दिईनन् देश नै छाडेर हिडेकी छन् । सोमबार दिउसो उनी आफ्नी बहिनी र परिवारका सदस्यसहित सैन्य हेलिकप्टरबाट भारतको त्रिपुरा आएका छन् ।
तर उनीहरु त्यहाँ रहन्छन् कि बेलायतको लण्डन तर्फ जाँदैछन् भन्ने अझै एकीन भएको छैन ।
हसिनाका छोरा साजिव वाजेदले आफ्नी आमा बंगलादेशको राजनीतिमा अब नफर्किने बताइसकेका छन् । आमा र परिवार देश नै छाड्नु पर्ने अवस्थामा पुग्दा अहिले विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशिया को क्षेत्रीय निर्देशक रहेकी छोरी साइमा वाजेदले के गर्छिन भनेर चासो हुन थालेको छ ।
भारतीय मिडिया इन्डियन एक्सप्रेसले साइमा कहाँ छिन् भनेर समाचार लेखेको छ । उसले बंगलदेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाकी छोरी जो डब्लुएचओ दक्षिणपूर्वी एशिया क्षेत्रकी निर्देशक छिन् उनी कहाँ छिन् के गर्दै छिन् भनेर चासो व्यक्त गरेको छ ।
साइमाले गत १५ कात्तिकमा विश्व स्वास्थ्य संगठनको ७६ औँ महासभाका बेला भएको निर्वाचनबाट नेपालका तर्फबाट उम्मेवार बनेका डा शम्भू आचार्यलाई १० – २ मतको फराकिलो अन्तरमा पराजित गर्दै क्षेत्रीय निर्देशक पदमा हात पारेकी थिईन । उनी गत १८ माघ देखि भारतको नयाँ दिल्लीस्थित डब्लुएचओको दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयमा आई जिम्मेवारी सम्हाल्न थालेकी हुन् ।
‘अहिलेसम्म परिवार थियो, सत्ता थियो, शक्ति थियो । हसिना यदि सत्ताबाट बाहिर भए नै पनि देशमै रहेको भए साइमालाई त्यस्तो अफ्टेरो नहुन सक्दथ्यो । तर अहिले एकाएक अवस्था फेरिएको छ । परिवार देश नै छाडेर भाग्नु परेको अवस्था छ । यो अवस्थामा उनका लागि काम गर्न समेत अफ्टेरो पर्न सक्छ,’ अधिकारकर्मी हसन भन्छन्, ‘साइमाले पनि पदबाट राजिनामा दिईन भने अनौठो नमाने हुन्छ ।’
त्यसो त निर्वाचनबाट चुनिएकी साइमालाई भारतमा जिम्मेवारी सम्हाल्न समस्या नहुन पनि सक्छ । तर आफ्नो देशमा जाने अवस्था नै नरहेको अवस्थामा र परिवार नै शरणार्थी जीवनबाट गुज्रनु परेको बेलामा उनी सोही पदमा रहलिन कि छाडेर परिवारसंगै पलायन होलिन भन्नेमा धेरैले आशंका व्यक्त गरेका छन् । तर अहिलेसम्म साइमाले यसबारेमा केही बताएकी छैनन् ।
हुन पनि बंगलादेशमा हसिना परिवारका लागि यतिवेला अवस्था निकै नै प्रतिकुल छ । यो अवस्थामा साइमाले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिन्छिन् वा अन्य कदम चाल्नेछिने त्यो भने आगामी दिनले बताउने छ ।
सम्पर्क इमेल : [email protected]