सेवा ‘अपग्रेड’ गर्दै भक्तपुर क्यान्सर अस्पताल
काठमाडौँ, २१ साउन । क्यान्सर बिरामीको संख्या दिन प्रतिदिन बढी रहँदा भक्तपुर क्यान्सर अस्पतालले आफ्ना सेवालाई बिस्तार गर्दै लगेको छ । भरतपुर पछिको ठूलो सरकारी क्यान्सर अस्पतालको रुपमा चिनिने भक्तपुरले बिरामीको चाप घटाउन थपिएका उपकरणसंगै व्यवस्थापनमा विशेष ध्यान दिएको जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसेले थपिएका उपकरणको प्रयोग र सुरु भएको बिस्तारित सेवा (इएचएस)ले बिरामीहरुलाई राहत पुगेको बताए ।
‘हामीकहाँ विहान ९ देखि १ बजेसम्म जनरल ओपिडी र दिउसो २ देखि ४ बजेसम्म बिस्तारित सेवा सुरु भएको छ । यसले दिनभर जसो बिरामीले जाँच गर्न पाउनुहुनेछ,’ डा. चालिसेले भने ।
उनले सेवालाई समयानुकुल बनाउन अनलाइन टिकटिङ, टोकन र क्युआर सिस्टम लागू भएको बताए । ‘अब हामीकहाँ जनरल ओपिडीमा लिने कि इएचएसमा लिने समय तोकेर अनलाइनबाट टिकट लिन सकिन्छ । यसले बिरामीको समय बचत र लामो समय लाइनमा उभिनु पर्ने बाध्यता समेत हटेको छ,’ उनले भने ।
उपकरण पनि थपियो
डा चालिसेका अनुसार यतिवेला भक्तपुर अस्पतालमा रेडिएसन थेरापीका लागि दुई वटा मेसिन सञ्चालनमा छन् । यसअघि एउटा मेसिनले दैनिक एक सय हाराहारीमा थेरापी दिएकोमा अब त्यो बढेर दैखिक डेढ सय बढी नाघ्न थालेको बताए । उनले सिटिस्क्यान मेसिन पनि थपिएर दुईवटा भएको, शल्यक्रिया कक्ष तीनवटामा दुई थपिएर पाँचवटा भएको र सञ्चालनमा समेत आइसकेको बताए । ‘पाँचवटा ओटी चल्दा पहिले दुई चार साता लाग्ने शल्यक्रिया अब एक साता बढी कुर्न नपर्ने भएको छ,’ उनले भने ।
उनले क्यान्सर उपचारका लागि चाहिने अझ केही अत्यावश्यक मेसिन नभएको जानकारी दिए । ‘एमआरआई छैन, पेट सिटी जस्ता मेसिन छैन । यी पनि भयो भने अझ सहज हुने थियो,’ डा. चालिसेले भने ।
जनशक्ति र बेड अभाव
अस्पतालले सिटी र रेडियोथेरापी सेवाहरु थपे पनि जनशक्ति थप्न सकेको छैन । जसले गर्दा रिपोर्टिङमा केही विलम्ब हुने गरेको छ । ‘जम्मा तीन जना रेडियोलोजिष्ट हुनुहुन्छ । उहाँहरुले कति भ्याउनु,’ डा. चालिसेले भने ।
तर उनले आवश्यक जनशक्ति पदपूर्ति गर्न अस्थायी दरबन्दी स्वीकृतिका लागि मन्त्रालयमा प्रस्ताव पठाएको बताए । ‘त्यहाँबाट स्वीकृति भएर आयो भने हामीले आवश्यक पर्ने जनशक्ति पदपूर्ति गर्नेछौँ र सेवालाई अझ चुस्त बनाउने छौँ,’ डा. चालिसेले भने ।
दैनिक ४५० देखि ६५० सम्म ओपिडीमा आउने भक्तपुर अस्पतालमा मेडिकल अफिसर देखि कन्सल्टेन्ट तहसम्मका गरी ५० जनाको आसपासमा कार्यरत छन् । यो संख्या आफैमा न्युन हो । यता अस्पतालको स्वीकृत बेड पनि १२५ मात्रै हो ।
‘यसलाई बढाएर ३०० बनाउन पर्ने छ । नभए पनि तत्काल २०० सम्म त बढाउनै पर्ने आवश्यक छ,’ डा. चालिसेले भने ।
काठमाडौँ उपत्यकामा निजी क्षेत्रबाट तीनवटा क्यान्सरको मात्रै उपचार गर्ने ठूला अस्पताल सञ्चालनमा छन् । सरकारी तबरबाट भने भक्तपुर बाहेक त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र सिभिल अस्पतालले ‘क्यान्सर वीङ’को रुपमा सञ्चालन गर्दै आएको छ ।
क्यान्सर उपचार आफैमा महंगो उपचार हो । तर, निजीको तुलनामा सरकारी अस्पतालमा उपचार सुलभ रहेको छ ।
आम गरीव जनतालाई उपचारको पहुँच पुरयाउन पनि सरकारी अस्पतालमा आवश्यक उपकरण, पूर्वाधार र जनशक्ति थप गर्न अनिवार्य देखिन्छ ।
सम्पर्क इमेल : [email protected]