राज्यको नजरमा नपरेको साह्रै नजिकको सिंहदरवार वैद्यखाना, विरासत फर्काउने ध्याउन्नमा
काठमाडौँ, १९ साउन । दुरीको हिसावले सिंहदरबार वैद्यखाना प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारबाट सबैभन्दा नजिक रहेको सरकारी संस्था हो । दुरीकै कुरा गर्दा तालुक निकाय रामशाहपथको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पनि सिंहदरबार वैद्यखानासबैभन्दा छोटो दुरीमा पर्दछ ।
सिंहदरबार वैद्यखानाको विषयलाई यतिमै सिमित राख्न मिल्दैन । यो त साढे ४०० बर्ष अघि स्थापित औषधि उद्योग हो ।
मल्ल राजाका पालामा १६ औँ शताब्दीमा स्थापित यो वैद्यखानाले अहिले अस्तित्व जोगाउने अन्तिम प्रयासमा छ ।
सिंहदरबार र रामशाहपथबाट सबैभन्दा नजिक रहेको सिंहदरबार वैद्यखानालाई टाढाको नजरबाट हेर्न थालिएपछि यसको अस्तित्व संकटमा परेको हो ।
शुक्रबार वैद्यखानामा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक डा. प्रदीप केसीले अस्तित्व जोगाउने कुरा मात्रै गरेनन् ऐतिहासिक बिरासत फर्काउने र देशकै ‘नम्बर वान’ सरकारी उद्योग बनाउने योजनामा अघि बढेको सुनाए । संगसंगै उनले तत्कालका लागि रामशाहपथ र सिंहदरबाट आर्थिक तथा नीतिगत सहयोगको अपेक्षा गरे ।
‘न उत्पादन छ, न बजेट छ, इतिहास बोकेको यति ठूलो उद्योगले आफ्ना कर्मचारीलाई समयमै तलव खुवाउन समेत सकेन । औषधि व्यवस्था विभागमा १५० बढी औषधिको उत्पादन अनुज्ञा पत्र र विक्री वितरण प्रमाणपत्र नविकरण समेत भएनछ । अहिले हामीले ती सबै कुराहरुमा सुधार थालेका छौँ । विभागमा वैद्यखाना उद्योगको रुपमा पुन दर्ता भई १५० वटा भन्दा बढी औषधिको उत्पादन अनुज्ञापत्र र विक्री वितरण प्रमाणपत्रको नविकरण भइसकेको छ,’ निर्देशक डा. केसीले भने ।
कसरी यस्तो भयो सिंहदरबार वैद्यखाना ?
एउटा सामान्य कोठामा आयुर्वेद औषधिको उत्पादन गरेका निजी क्षेत्रका उद्योगीहरुले आफूहरु नाफामा गएर हरेक वर्ष राज्यलाई कर तिर्दै आएको सगौरव बताउने गरेका छन् । तर यति ठूलो संरचना, जनशक्ति, पूर्वाधार मात्रै होइन गर्विलो इतिहास बोकेको बैद्यखाना टाट पल्टिने अवस्थामा पुग्यो ।
वैद्यखानाका सिलाजित, त्रिफला देखि च्यावनप्रास मात्रै होइन अरु थुप्रै उत्पादनहरुको छुट्टै ब्राण्ड छ । अहिले पनि उत्तिकै माग छ । तर उत्पादन गरी दिन नै सकेन ।
वैद्यखानामा हाल विकास समितितर्फ ४२ जना तथा नेपाल सरकार अन्तर्गतका दुई जना कर्मचारी छन् ।
डा. केसी भन्छन्, ‘अस्थिर नेतृत्व एउटा कारण हुन सक्छ । तालुक निकायको ध्यान नगएको पनि हुनसक्छ । र यसबाहेक अरु थुप्रै कारण हुनसक्छ । तर हामी अब विगतमा के भयो भन्ने भन्दा पनि अब के गरी माथि उठाउने भन्नेमा लागि सकेका छौँ ।’
हुन पनि विसं २०७६ साल यताको चार वर्षमा सिंहदरवारमा ११ जना प्रमुख बनेर आए । डा. हरिदेवप्रसाद यादव, डा. बंशदीप खरेल, डा. सबरी साह, डा. शोभाराम सुवेदी, पुन: डा. सवरी साह, डा. श्यामबाबु यादव, तेस्रो पटक पुन: डा. सवरी साह, डा. बासुदेव उपाध्याय, डा. रामदेव यादव, डा. बासुदेव उपाध्याय र अहिले डा. प्रदीप केसी रहेका छन् । हाल लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव रहेका डा. उपाध्यायलाई आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागको महानिर्देशक हुँदा थप जिम्मेवारीको रुपमा दुई पटक त्यहाँको निर्देशक बनाइएको हो । हाल विभागको महानिर्देशक रहेका डा. केसी पनि थप जिम्मेवारीको रुपमा वैद्यखानाको निर्देशकको जिम्मेवारी सम्हालेका हुन् ।
वैद्यखानाको नीति योजना, कार्यक्रम तथा बजेट स्वीकृत गर्ने र सो को कार्यान्वयन अवस्थाको अनुगमन तथा मूल्यांकन गर्ने विकास समिति गत २२ असोज देखि पदाधिकारी विहीन छ । ‘अब हामीले योजना बनाएका छौँ । मन्त्रालयले यसको गम्भीरता हेरेर छिटै पदाधिकारी पठाउँला,’ डा. केसीले भने ।
उनले बजेट पास भएपछि ठूलो बल्कमा कच्चा पदार्थ खरीद गर्ने र ठप्प भएका उत्पादनहरुलाई सूचारु गर्ने गरी काम योजना बनाएको समेत सुनाए ।
उनका अनुसार आर्थिक अभावकै कारण वैद्यखानाले कच्चापदार्थ खरिदका लागि आवश्यक प्रक्रिया अघि बढाउन सकिरहेको छैन भने त्यसको असर प्रत्यक्ष रुपमा उत्पादनमा परिरहेको छ । यस्तै वैद्यखाना बोर्ड विहीन हुँदा पुराना औजार उपकरणहरुको मर्मत तथा नयाँ खरिदमा समस्या झेल्दै आइरहेको छ ।
डा. केसीले वैद्यखानालाई बचाउन सरकारले चासो दिनु पर्ने र आवश्यक सबै विषयमा सम्वन्धित मन्त्रालयमा जानकारी गराइसकिएको बताए ।
वैद्यखानाका कर्मचारीहरु के भन्छन् ?
शुक्रबारको पत्रकार सम्मेलनमा निर्देशक डा. केसीले विभिन्न शाखाका अधिकृतहरुलाई साथमै लिएर प्रस्तुत भएका थिए । कार्यक्रममा डा. केसीले आफूले योजना मात्रै सुनाएनन्, लामो समय देखि त्यहि काम गरेका अधिकृत स्तरका कर्मचारीहरुलाई नै समस्याको कारक र अनुभव सेयर गर्न लगाएका थिए ।
कार्यक्रममा वैद्यखानाका पूर्वनिमित्त निर्देशक समेत रहेका ऋषिराज रेग्मीले राजनीतिक अस्थिरताको भागी सिंहदरबार वैद्यखाना बन्दै आएको ठोकुवा गरे । ‘छोटो छोटो समयमा मन्त्री बदलिने र बदलिने मन्त्रीहरुले सिंहदरबार वैद्यखानाको नेतृत्व बदल्ने कारण पनि यो धरासायी बन्दै आयो, अब भने केही आशावादी भएका छौँ । नयाँ निर्देशकले आशा जगाउनु भएको छ,’ रेग्मीले भने ।
वैद्यखानाका उत्पादन अधिकृत हरीदेवप्रसाद यादवले आर्थिक सुनिश्चितता नहुँदा उत्पादनमा समस्या भैरहेको बताए । ‘आर्थिक सुनिश्चितता नहुँदा उत्पादनमा समस्या भैरहेको छ, सरकारले वैद्यखाना बचाउन चासो दिए हाल कायम जनशक्तिबाटै डेढ गुणा उत्पादन बढाउन सकिने अवस्था छ’ उनले भने ।
वैद्यखानाका योजना अधिकृत सतिश पौडेलले छोटो समययमा पटकपटक हुने नेतृत्व परिवर्तन र राजनितिक हस्तक्षेपले वैद्यखाना मारमा पर्दै गएको बताए । उनले अर्थ मन्त्रालय, उद्योग मन्त्रालयले जसरी पहिले साथ दिएको थियो । अहिले त्यो छैन, त्यसले गर्दा पनि समस्या भएको हो । उनले भने ।
वैद्यखानाका गुणस्तर नियन्त्रण अधिकृत गोबिन्द ढकालले वैद्यखानाले आफ्नो उत्पादनलाई अन्य नीजि कम्पनीहरुको उत्पादन भन्दा अब्बल रुपमा आम जनमानसमा आफ्नो गुणस्तरको पहिचान बनाउन सफल भएको भन्दै उत्पादन बढाउनका लागि आफूहरु कस्सिएको र तालुक निकायको साथ खोजेको बताए ।
वैद्यखानाका उत्पादन अधिकृत डा. बिनोद यादवले शिलाजित र च्यौनप्रासको माग अत्यधिक हुने गरेको बताए ।
‘अहिले वार्षिक ५ हजार केजीसम्म वार्षिक रुपमा च्यौनप्रास उत्पादन भैरहेको छ, २२ हजार केजीसम्म हामी वार्षिक रुपमा च्यौनप्रासको उत्पादन गर्न सक्छौं, बजेट र जडिबुटीको अभावकाकारण अहिले उत्पादन बढाउन सकिएको छैन,’ उनले भने । वैद्यखानाको शिलाजितको मागसमेत अत्यधिक रहेको उनले जानकारी दिए ।
वैद्यखानाका लेखा अधिृकत उमानाथ ढकालले वैद्यखानाको सुधारका लागि नीतिगत तहमा नै काम गर्नु पर्ने बताए ।
‘अब सरकारले वैद्यखानालाई बचाउन नीतिगत तहमा नै काम गर्नु पर्छ, संस्था टुहुरो भएको छ, अब जोगाउनै पर्छ,’ ढकालले भने ।
वैद्यखानाको चालु खर्च तीन करोड, हुनु पर्ने विक्री लक्ष्य ८ करोड र हालको विक्री १ करोड २४ लाख रहेको कार्यकारी निर्देशक केसीले जानकारी दिएका हुन ।
उत्पादन सम्वन्धि योजना के छ ?
वैद्यखानाले आगामी आर्थिक वर्षमा भने २९ प्रकारका काष्ठ औषधी १५ हजार १८१ किलोग्राम उत्पादन गर्ने लक्ष्य लिएको छ । जसको विक्री लक्ष्यको कूल रकम दुई करोड ६० लाख लिइएको छ ।
यसैगरी रसरसायनजन्य १६ प्रकारका २८३ किलोग्राम औषधि उत्पादन गर्ने लक्ष्य लिएको छ । जसको विक्री लक्ष्यको कूल रकम २९ लाख लिइएको छ ।
यसैगरी घृत तेल, पाक, मलहम, सल्धान, आसव, अवलह र अरिष्ठ गरी १९ प्रकारका २६ हजार एक सय किलोग्राम औषधि उत्पादन गर्ने लक्ष्य लिएको छ । जसको विक्री लक्ष्यको कूल रकम पाँच करोड ८४ लाख लिइएको छ । वैद्यखानाले आगामी आर्थिक वर्षमा कूल आठ करोड ३९ लाख विक्री लक्ष्य राखेको छ । त्यसका लागि आर्थिक सुनिश्चितता आवश्यक पर्ने वैद्यखाना बताउँछ ।
वैद्यखानाले आर्थिक वर्ष २०८०/०८१ का लागि कूल वजेट १ करोड ६२ लाख र २०८१/०८२ का लागि ४ करोड १४ लाख प्राप्त भएको जनाएको छ । यस्तै कच्चा पदार्थ खरिदका लागि आर्थिक वर्ष २०८०/०८१ मा ७ लाख र २०८१/०८२ का लागि १ करोड ७ लाख प्राप्त भएको जनाएको हो ।
सरकारले गतवर्ष भन्दा तीन गुणा भन्दा बढी बजेट दिएको छ ।
‘यो बजेट पर्याप्त त होइन तर यसको अधिकतम उपयोग गरी उत्पादन बढाउने र खर्च उठाउने गरी काम गर्नेछौँ । काम गरेर देखाएपछि वैद्यखानालाई हेर्ने राज्यको नजर समेत बदलिन्छ भन्ने विश्वास लिएका छौँ,’ डा. केसीले भने ।
सम्पर्क इमेल : [email protected]