स्तनपानबारे जनचेतना अभिबृद्धि गर्न प्रसूतिगृह अस्पतालको नयाँ शैली:

‘स्तनपानबारे कति छ ज्ञान ?’ स्तनपाई आमा र उनका आफन्तलाई राखेर हाजिरीजवाफ प्रतियोगिता

काठमाडौँ १७ साउन । आज अंग्रेजी महिनाको अगष्ट १ तारिख । आजदेखि एक सातासम्म विश्वभर स्तनपान सप्ताह मनाईदैछ ।

खासगरी स्तनपाई आमाहरुले स्तनपानको महत्व बुझेर आफ्ना शिशुहरुलाई पूर्णस्तनपान गराउँन् र त्यसका लागि प्रोत्साहित हुन् दिवसको मुख्य उद्धेश्य हो । त्यसका लागि विभिन्न सचेतनामुलक कार्यक्रम पनि आयोजना हुने गर्दछन् ।

यसै सन्दर्भ पारेर थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले बिहिबार स्तनपाई आमा र उनका श्रीमान् तथा परिवारका सदस्यहरुलाई भेला गरि हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्‍यो ।

‘हामीकहाँ सुत्केरी भएर स्वास्थ्य लाभ गरिरहेका आमाहरु, उनका श्रीमान् तथा आफन्तहरुलाई स्तनपानबारे कत्तिको थाहा रहेछ भनेर जाच्नका लागि र संगसंगै यसको महत्वबारे बुझाउनका लागि हामीले यसपटक हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेका हौँ,’ अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले भने ।

हाजिरी जवाफ प्रतियोगितामा स्तनपान र त्यससंग सम्वन्धित प्रश्नहरु राखिएको थियो । प्रतियोगिता पछि विजयी तथा सहभागीहरुलाई  मायाको चिनो सहितको पुरस्कार समेत दिईएको थियो ।

‘खासगरी हामीले सहभागी आमा र उनका श्रीमान् तथा अरु कुरुवाहरुले स्तनपान बारेमा कति जानकार रहेछन् भनेर बुझेका हौँ । थाहा नभएको कुरालाई फरक शैलीबाट बुझाउन पनि खोजेका हौँ । जे होस आजको प्रतियोगिता राम्रो भयो । हाजिरीजवाफ प्रतियोगितामा सहभागीहरुलाई स्तनपानबारे पनि राम्रो ज्ञान भएको पायौँ,’  डा. अधिकारीले भने ।

यसअघि आजै स्तनपानबारेमा प्रसूतिगृह अस्पतालमा सीएमई र पोष्टर प्रदर्शनी समेत गरिएको डा. अधिकारीले बताए ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार नेपालमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत रहेको छ ।

यस्तै शिशु जन्मेदेखि दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या ९४ प्रतिशत रहेको छ । यसैगरी पूर्ण स्तनपानको अवस्था सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिममा ७४ प्रतिशत छ भने सबैभन्दा कम लुम्बिनीमा ३६ प्रतिशत रहेको छ।

पूर्ण स्तनपानको दर माध्यमिक तहभन्दा बढी शिक्षा लिएका आमाहरुमा कम देखिए‌को छ। न्यून आय भएकामा ६४ प्रतिशतमा र उच्च आय भएका ४४ प्रतिशतले पूर्ण स्तनपान गराउने गरेको देखिन्छ। उक्त सर्वेक्षणल नेपालमा बोतलपान गराएका शिशुको संख्या बागमती प्रदेशमा सबैभन्दा बढी ४३ प्रतिशत र कर्णालीमा सबैभन्दा कम ११ प्रतिशत रहेको देखाएको छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालमा ५ वर्षमुनिका २५ प्रतिशत बालबालिकाहरुमा पुड्कोपन, ८ प्रतिशतमा ख्याउटेपन, १९ प्रतिशतमा कम तौल र ८३ प्रतिशतमा रक्तअल्पता पाइएको छ।

संसारभरमा हुने बाल मृत्युदरको ४५ प्रतिशत कारक कुपोषण रहेको छ। सबै प्रकारको कुपोषण न्युनीकरणमा स्तनपानको महत्वपूर्ण भूमिका हुने विज्ञहरु बताउँछन्।

जन्मनेबितिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार हो। शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो,पहेंलो बिगौती दूधमा रोगसँग लड्ने प्रतिरोधात्मक तत्व हुने भएकोले यसले शिशुलाई संक्रामक रोग लाग्नबाट बचाउँछ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल भन्छन्, ‘स्तनपानलाई पहिलो खोपका रुपमा समेत लिइन्छ। स्तनपानले बाल मृत्युदर घटाउनुका साथै आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ। बच्चा जन्मिएको एक घण्टाभित्र आमाको बिगौती दूध अनिवार्य रुपमा खुवाउनुपर्छ। स्तनपानले आमा र बच्चा दुवैलाई फाइदा हुन्छ।’

स्तनपानले शिशुको शारीरिक तथा मानसिक विकास गराउनुका साथै कुपोषण हुनबाट समेत जोगाउँछ। स्तनपान गराउने आमालाई स्तन तथा पाठेघरको क्यान्सरको जोखिम कम हुन्छ। नियमित स्तनपानले यसरी गर्भावस्थामा बढेको अनावश्यक तौललाई नियन्त्रणमा ल्याउन सहयोग गर्छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *