क्यान्सर उपचारमा गम्भीर त्रुटि हुँदा बिरामीको मृत्यु, दुई जना नर्स निलम्बनमा

अस्पतालले सोध्यो अरु दुई जना चिकित्सक र २१ जना नर्सलाई स्पष्टिकरण

चितवन, १७ साउन । बिरामीको उपचारमा गम्भीर त्रुटि भेटिएपछि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले दुई जना नर्सलाई निलम्बन गरेको छ । सोही केशमा अस्पतालले अरु दुई जना चिकित्सक र २१ जना नर्सलाई स्पष्टीकरण सोधिएको जनाएको छ ।

लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उपचारका लागि सो अस्पताल पुगेका थिए ।  चिकित्सकहरुले आवश्यक परीक्षण पछि उपचार  सुरु गरे तर उनको १३ असार राती मृत्यु भयो ।

परिवारले उनको मृत्युलाई स्वभाविक ठानेन ।

अस्पतालले पनि उनको मृत्युको कारण छानविन गर्न उपनिर्देशक डा उमेश नेपाल, मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण शाह र नर्सिङ् प्रमुख अनिता देवकोटा रहेको छानबिन समिति गठन गरेको थियो । समितिले गत ३ साउनमा प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा बिरामीको मृत्यु उपचारका क्रममा प्रयोग भएको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएको उल्लेख छ ।

‘किमोको मात्रा १० गुणा बढी दिएपछि मृत्यु भएको हो । बिरामीलाई तीन दशमलव चार मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिइएको रहेछ । त्यसैको असरबाट बिरामीको मृत्यु भएको पाइयो,’ सूचना अधिकारी गृहीनारायण महतोले बताए ।

उनका अनुसार मेडिकल वार्डमा कार्यरत स्टाफले तीन पटकसम्म सोही मात्राको किमो दिएका थिए ।

‘खुट्टाको छालाको क्यान्सर ‘मेलानो’मा भएपछि शल्यक्रिया गरिएको थियो । रोग फैलिएर खुट्टा मुनिको काछसम्म पुगेर गाँठागुठी देखिएपछि ‘बायप्सी’ (क्यान्सर भए-नभएको पत्ता गराउन गरिने परिक्षण) गरेर क्यान्सर एकीन गरिएको थियो । सो पश्चात् बिरामीलाई किमो दिन थालिएको थियो,’ उनले भने ।

सूचना अधिकारी महतोका अनुसार नर्स प्रभा तामाङ् र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अध्ययन टोलीले आफ्नो प्रतिवेदन दिएपछि सोही आधारमा दुईजना नर्सलाई निलम्बन गरिएको बताए । उनले अरु २१ जना नर्स र दुई जना चिकित्सकलाई स्पष्टिकरण सोधिएको बताए ।

‘मृत्यु कारण संकास्पद भयो । त्यसपछि छानविन टोली गठन गरि प्रतिवेदन बुझाउन भनियो । प्रतिवेदनमा मेडिकल इरर नै देखियो । सो टोलीले दिएको प्रतिवेदन र सिफारिसकै आधारमा दुई जना नर्सलाई निलम्बन र २१ जना नर्स तथा दुइ जना डाक्टरलाई स्पष्टीकरण सोध्ने काम भएको छ’ उनले भने ।

निर्देशक डा. पौडेलले  काममा भएको गल्तीको सजायको भागिदार जो सुकै हुने भन्दै आफ्ना स्टाफहरु कार्वाहीमा परेको बताए । उनले आगामी दिनमा यस्ता लापरबाही हुन नदिन नियमित अनुगमनका गर्ने व्यवस्था मिलाउने जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *