पोलियोबिरुद्धको विशेष खोप अभियान : काठमाडौँमा १०३ प्रतिशत कभरेज

पोलियोबिरुद्धको विशेष खोप अभियान काठमाडौँमा उपत्यकामा १५ साउनसम्म लम्बियो

काठमाडौँ, १४ साउन । जनस्वास्थ्य कार्यालय काठमाडौँले गत ९ साउन देखि सञ्चालन गरिएको पोलियोबिरुद्धको विशेष खोप अभियानमा लक्ष्य भन्दा बढी (१०३ प्रतिशत) कभरेज भएको बताएको छ ।

जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा. अर्जुनप्रसाद सापकोटाले जिल्लामा १ लाख ८७ हजार १२८ जना बालबालिकामा पोलियो खोप दिने लक्ष्य लिएकोमा १२ साउनसम्म कुल १ लाख ९२ हजार ९६७ जनाले खोप पाएको बताए । ‘यो हाम्रो लक्ष्य भन्दा बढी हो । कतिपय स्थानमा खोप अझै चलिरहेको छ । रिपोर्ट आइसकेको छैन । यो प्रतिशत अझै बढ्न सक्छ,’ उनले भने ।

काठमाडौँको टुकुचा खोला र बागमती नदिको संगमस्थलबाट गत १३ जेठमा संकलन गरिएको ढलको नमूना परीक्षणका क्रममा परिवर्तित पोलियो भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप – ३) देखा परेपछि तीन जिल्लामा विशेष खोप अभियान सञ्चालन गरिएको हो ।

अभियान अन्तर्गत जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले ‘ओपिभी’ खोप (पोलियो थोपा) खुवाउने गरेका छन् ।

स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले काठमाडौँ, ललितपुर र भक्तपुरका गरी तोकिएका उमेर समूहका २ लाख ८० हजार बालबालिकालाई पोलियो थोपा खुवाउन लागिएको बताएका थिए ।

उनले नियमित खोपमा पोलियो खोप दिईएको भए पनि यस अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रुपमा ओपिभि दिईनु पर्ने बताए ।

यसैबीच काठमाडौँ उपत्यकामा ९ साउन देखि सञ्चालन गरिएको पोलियो रोगविरुद्धको विशेष खोप अभियान यही साउन १५ गतेसम्म सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको खोप विशेष अभियान स्थानीय तहको माग भएपछि थप तीन दिनसम्म जारी राख्ने निर्णय भएको खोप शाखा प्रमुख डा. गौतमले बताए ।

पोलियो रोग पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो । पोलियो रोग लागेपछि ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकाइ महसुस गर्ने र रोग गम्भीर हुन थाल्यो भने पक्षघात हुने र मुत्युसम्म हुने गर्दछ । पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ ।

सन् २०१४ पोलियोमुक्त भएको नेपाल सन् २०२६ सम्म पोलियो उन्मुलन गर्ने सरकारको लक्ष्य रहेको छ ।

काठमाडौँ उपत्यकामा अहिले चलेको अभियानका लागि लागि प्रतिदिन १२ देखि १६ हजारसम्म जनशक्ति परिचालन हुदै आएको खोप शाखाले जनाएको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *