हेपाटाइटिस रोग के हो ? यसबाट कसरी जोगिने ?
आज विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाइँदैछ। हरेक वर्ष जुलाई २८ तारिखलाई हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ
एचआईभी एड्स, मलेरिया, क्षयरोग जस्तै हेपाटाइटिस पनि ज्यान लिने रोग हो । बोलीचालीको भाषामा हेपाटाइटिसलाई ‘जण्डिस’ पनि भन्ने गरिन्छ।
हेपाटाइटिस भन्नाले बिभिन्न संक्रमणका कारणले कलेजो सुन्निने अवस्थालाई बुझिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ ।
हेपाटाइटिस (ए देखी इ सम्म) जम्मा पाँच प्रकारका हुन्छन् ।
हेपाटाइटिस बी’ र ‘सी’ का कारण हरेकबर्ष संसारमा १३ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको अध्ययनहरुले देखाएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार गर्भवतीको मृत्युमध्यको ३० प्रतिशत मृत्यु हेपाटाइटिस ई अर्थात भाइरस हेपाटाइटिस हुने गरेको छ ।
यसले के गर्छ ?
हेपाटाइटिस बी’र ‘सी’ ले कलेजोलाई गम्भिर किसिमको क्षति गराएर कलेजोको क्यान्सर गराउँदछ र मानिसको अकाल मृत्यु हुन्छ । कलेजोको क्यान्सर गराउने कारणहरुमध्ये आधाभन्दा बढी हरेपाटाइटिस बी’र ‘सी’ ले गराउने गरेको बिभिन्न अध्ययनहरुले देखाएका छन् ।
क्यान्सबाट मृत्यु हुने १२ जना मध्ये एकजना कलेजोको क्यान्सर बाट मर्ने गर्दछन् । पछिल्ला दिनहरुमा एचआइभी एड्स , क्षयरोग र मलेरिया नियन्त्रण तथा उपचारमा लगानी बढाइए पनि हेपाटाइटिसमा ध्यान जान नसकेका कारण यसबाट हुने मृत्युदर बढ्दो क्रममा रहेको छ ।
यसबारे खतरनाक र आश्चर्यजनक तथ्य के छ भने, हेपाटाइटिस बी’ को संक्रमण भएका ९० प्रतिशत मानिहरुलाई र हेपाटाइटिस ‘सी’ को संक्रमण भएका ८० प्रतिशत मानिसहरुलाई यसबारे जानकारी नै नभएको हुनाले उनीहरुले आफन्त र साथीभाईलाई पनि संक्रमित बनाइरहेका छन् ।
हरेपाटाइटिस बी’ आमाबाट बच्चामा सर्ने उच्च जोखिम रहन्छ । जसमा ८० देखी ९० प्रतिशत बच्चाहरुमा हेपाटाइटिस बी’ दीर्घरुपको संक्रमणको रुपमा देखिन्छ जसमध्ये एक चौथाई युवा अवस्थामा नै अकाल मृत्युवरण गर्न बाध्य हुन्छन् ।
भाइरल हेपाटाइटिसबारे बिश्वव्यापी तथ्यहरु :
- हेपाटाइटिस बी र सीबाट हुने मृत्युदर एचआइभी एड्स, क्षयरोग र मलेरियाबाट हुने मृत्युदर भन्दा बढी छ ।
- कलेजोको क्यान्सरबाट मृत्यु हुने तीन मध्ये दुईको कारण हेपाटाइटिस बी र सी हुन् ।
- संसारभरका ३० करोड भन्दा बढी मानिसहरुलाई आफु संक्रमित भएको थाहा नै छैन ।
- एक हजार भन्दा कम मूल्यमा पाईने खोप उपलब्ध भएतापनि संसारका ४८ वटा देशमा अझै बालबालिकालाई यो खोप दिइएको छैन ।
- क्यान्सबाट मृत्यु हुने १२ जना मध्ये एकजना कलेजोको क्यान्सर बाट मर्ने गर्दछन् ।
- नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत करिव २ लाख ५० हजार मानिसहरुमा हेपाटाइटिस बी’ र लगभग एकलाख तीस हजार मानिसमा हेपाटाइटिस ‘सी’ अनुमान गरिएको छ ।
भाइरल हेपाटाइटिस बी’र ‘सी’ सर्ने कारण तथा बच्ने तरिकाहरु :
- संक्रमित आमाबाट यो रोग बच्चामा सजिलै सर्न सक्ने भएकाले गर्भवती भएका बेलामा हेपाटाइटिस बी’र ‘सी’ को परिक्षण गर्ने । (हेपाटाइटिस बी मा यो संभावना बढी हुन्छ।)
- आइभी ड्रग युजर्सहरुमा यो रोग सार्ने जोखिम बढि रहन्छ त्यसैले एक आपसमा सिरिन्ज सेयर गर्नु हुँदैन ।
- रक्तसंचारका क्रममा साबधानी अपनाउने र हेपाटाइटिस बी’र ‘सी’ को परिक्षण गरेरमात्र रक्तदान गर्ने ।
- मेडिकल उपकरण तथा औजारहरुलाई स्टेरिलाईजेशन नगरी दाँतको उपचार तथा अन्य मेडिकल प्रोसिजर गर्दा यो रोग सर्ने संभावना बढी हुन्छ ।
- असुरक्षित यौन सम्पर्क राख्दा यो रोग सर्ने संभावना बढी हुन्छ । (हेपाटाइटिस ‘बी’ मा यो संभावना बढी हुन्छ।)
- ट्याटु खोप्दा प्रयोग हुने उपकरण तथा औजारहरुलाई स्टेरिलाईजेशन नगरेको औजार प्रयोग गर्दा यो रोग सर्ने संभावना बढी हुन्छ । (हेपाटाइटिस ‘सी’ सी मा यो संभावना बढी हुन्छ।)
- ब्यक्तिगत सरसफाइमा प्रयोगहुने औजार तथा उपकरण जस्तैः टुथ ब्रस, रेजर आदि शेयर गर्दा यो रोग सर्ने संभावना बढी हुन्छ ।
- हेपाटाइटिस विरुद्धको खोप लगाएर आफुलाई हेपाटाइटिस ‘बी’ भन्ने घातक रोगबाट सुरक्षित गर्न सकिन्छ ।
सम्पर्क इमेल : [email protected]