एउटै अपरेसन थिएटर एकैछिनको फरकमा स्वास्थ्य मन्त्री पौडेलले गरे दुई पटक उद्घाटन !

काठमाडौँ, १२ साउन । ‘वीर अस्पतालको १३५ औँ बार्षिकोत्सवमा आउन लागेका स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई संगै रहेको राष्ट्रिय ट्रमा सेन्टरले बनाएको मोडुलर अपरेसन थिएटर उद्घाटन गर्न समस्या हुने कुरा भएन । मन्त्रीबाट उद्घाटन गराउनु पनि अनौठो कुरा होईन ।  तर, एउटै अपरेसन थिएटर केही घण्टाको फरकमा दोहोरयाएर उद्घाटन गर्दा र गराउँदा भने अनौठो लाग्यो,’  ट्रमा सेन्टरको  ‘ओटी’ उद्घाटन पछि मन्त्रीसंगै वीर अस्पतालको कार्यक्रममा सहभागी भएका एक जना बिरामीका आफन्त सन्तोष थापाले भने ।

हुन पनि मन्त्री पौडेलले १२ बज्न ५ मिनेट बाँकी छँदा राष्ट्रिय ट्रमा सेन्टरको दोस्रो तलामा ‘रिनोभेट’ गरिएको ‘मोडुलर अपरेसन थिएटर’मा आफै पुगेर उद्घाटन गरेका थिए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेत, स्वास्थ्य सचिव डा रोशन पोखरेल, प्राडा भगवान कोइराला लगायतका विशिष्ट व्यक्तिहरु संगसंगै गएका मन्त्री पौडेलले उद्घाटन पछि गाउँन लगाएर थिएटर भित्रै छिरेर निरीक्षण समेत गरेका थिए ।

शनिबार मध्यान्न ट्रमा सेन्टरमा पुगेर मोडुलर अपरेसन थिएटर उद्घाटन गरेका स्वास्थ्य मन्त्री प्रदीप पौडेल ।

तर, त्यसको करीव सवा घण्टा पछि वीर अस्पतालको बार्षिकोत्सव समारोहमा उनै मन्त्री पौडेललाई सोही अपरेसन थिएटरको डिजिटल माध्यमबाट पुन: स्वीज थिचेर पुन उद्घाटन गराईयो ।

केही वेर अघि आफै उपस्थित भएर गरेको उद्घाटन र निरीक्षण पछि पुन: ‘ट्रमा सेन्टरको मोडुलर ओटीको स्वीज थिचेर उद्घाटन गर्नु हुनेछ’ भनेर कार्यक्रम सञ्चालिकाले बताउँदा मन्त्री आफै भने अलमलमा देखिन्थे । यद्धपी आयोजकले स्वीज ल्याएर दिएपछि दवाए र  ट्रमा सेन्टरमा उद्घाटित मोडुलर ओटीको बारेमा बनाइएको छोटो डकुमेन्ट्री समेत हेरे ।

आफूले उद्घाटन गरेको केही समय पछि वीर अस्पतालको बार्षिकोत्सवबाट पुन: स्वीज थिचेर ट्रमा सेन्टरको मोडुलर ओटी उद्घाटन गरेपछि मन्त्री पौडेल

‘युवा पुस्ताका मन्त्री पौडेल आशाका केन्द्र हुन् । तर आफू कहाँ गएको छु के गरेको छु भनेर हेक्का राख्नु पर्छ । यसै पनि दुई घण्टा ढिला कार्यक्रममा उपस्थित हुने र एक पटक उद्घाटन गरिसकेको कार्यक्रमलाई दोहोरयाएर गर्नु चाही अलि नै हलुका भयो । यसले उनको व्यक्तित्व माथि नै क्षति पुरयाँउछ,’ वीरका एक जना पूर्व निर्देशकले भने ।

ट्रमा सेन्टरका मेसु डा. रुद्र मरासिनीले भने दुई पटक उद्घाटन गराउने आफूहरुको कुनै उदेश्य नभएको भन्दै अन्तिम समयमा उद्घाटन गर्ने कार्यक्रमको मोडलमा केही परिवर्तन हुँदा दुई पटक जस्तो देखिएको बताए ।

‘पहिले डिजिटल नै उद्घाटन गर्ने भन्ने थियो । तर, फेरी संगै जोडिएको अस्पताल छ । मन्त्री ज्यूलाई नै लगेरै उद्घाटन गराउने भन्ने भयो । सोही योजना अनुसार अस्पतालमै गएर उद्घाटन गर्नु भयो । ओटी भित्र छिरेर हेर्नु पनि भयो । त्यता उद्घाटन भइसकेपछि यताको सेड्युलमा मिलाउनु पर्ने थियो । त्यो भएनछ र पुन: डिजिटल उद्घाटन भनेर कार्यक्रम सञ्चालिकाले भन्नुभयो । रि -सेड्युल गर्दा अलिकति समस्या जस्तो देखियो,’ उनले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *