वीर अस्पतालको सेवा प्रवाह र भावी योजनाहरु


नमस्कार एवम् हार्दिक अभिवादन,

गुणस्तरीय र विशेषज्ञ सेवा सर्वसुलभ रुपमा आम जनताले प्राप्‍त गरुन् भन्‍ने हेतुले स्थापित वीर अस्पतालको १३५ औं वार्षिकोत्सवको अवसरमा यसको गरिमा कायम राख्‍न खटिने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी एवम् अन्य समस्त कर्मचारी वर्ग साथै सेवाग्राही एवम् विभिन्‍न समयमा यस अस्पताललाई सहयोग गर्ने संघ संस्थाहरु तथा पत्रकार मित्रहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

वार्षिकोत्सव आफैंमा महत्वपूर्ण हुन्छ । यो विगत वर्षको समिक्षा र आगामी वर्षको योजना समेत गर्ने महत्वपूर्ण अवसर हो ।

वि. सं. १९४७ साल श्रावण १२ गते आजकै दिनवाट १५ शैयावाट स्वास्थ्य सेवा प्रारम्भ गरेको राष्ट्रकै जेठो र गौरवशाली इतिहास वोकेको यस वीर अस्पतालले आधारभूत स्वास्थ्य सेवा सहित विशेषज्ञ तथा विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । यस्तो गर्विलो विरासतलाई कायम राख्दै समयानुकूल आफ्नो सेवालाई परिष्‍कृत गर्दै लैजानु पर्ने चुनौती वीर अस्पताललाई छ ।

वीर अस्पतालको १३५ औं वर्षको गर्विलो इतिहासमा यसले महत्वपूर्ण आरोह अवरोह पार गरेको छ तर आम जनताको विश्‍वास पनि अटुट रुपमा कायम राखेको छ ।

नेपालमा आधुनिक चिकित्सा भित्र्याएको यस संस्थाले हरेक प्रकारका विशिष्‍टिकृत विधाहरु स्थापित गरेको छ साथै संसारमा उपलव्ध भएका उच्‍चतम प्रविधिलाई पनि समयानुकूल अवलम्बन गरेकै छ ।

नेपालमा पहिलो पटक मुटुको सफल शल्यक्रिया, बर्न सेवा, मृगौला प्रत्यारोपण, न्यूरो सर्जरी सेवा, सघन उपचार जस्ता विशेषज्ञ सेवाको समेत सुरुवात भएको यस अस्पतालले हाल ९६६ स्वीकृत शैयावाट पूर्ण रुपमा सञ्चालन गर्न सक्ने क्षमता समेत विकास गरिसकेको छ ।

राजधानीको मुटुमा रहेको यस अस्पताल अन्य सरकारी अस्पतालहरु भन्दा तुलनात्मक रुपमा सस्तो, गुणस्तरीय एवं दक्ष जनशक्तिवाट सेवा प्रवाह गर्ने कार्यमा अग्रपंत्तिमा रहेको छ। वि.सं. २०५९ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अध्यादेश जारी भएदेखि यसले विभिन्न विधामा स्नातक स्नातकोत्तर एवं DM/MCH अध्ययन अध्यापन गराउँदै राष्ट्रकै धेरै विशेषज्ञ चिकित्सकहरु उत्पादन गर्ने शिक्षण संस्था बन्न समेत सफल भएको छ ।

विगत डेढ दशकमा यस प्रतिष्ठानले भौतिक पूर्वाधारमा फट्को मारेको छ ।यस बिच ४०० बेडको वीर अस्पतालमा २०० बेडको राष्ट्रिय ट्रमा सेन्टर, १०० शैय्याको JICA को अनुदानमा मेडिकल भवन र ५०० बेडको नयाँ सर्जिकल भवन गरी थप ८०० बेडको पूर्वाधार थपिएको छ । यसरी वीर अस्पतालबाट विकसित भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ११६० बेड क्षमतामा पुगेको छ ।

यस अस्पतालको निर्देशकको जिम्मेवारीमा आएपश्चात अग्रजहरूले गरेका सुधारात्मक कार्यहरूलाई निरन्तरता दिँदै केही थप सेवाहरूको शुरुवात समेत गरेको छौँ ।

यस वर्ष अस्पतालमा भएको सेवा विस्तार तथा सुधारः

१. क्यान्सर रोगको उपचार गराउने अत्याधुनिक टोमोथेरापि मेसिनबाट सेवाको सुरुवात भई पूर्ण क्षमतामा सञ्चालमा रहेको ।

२. ओपन हार्ट्ट सर्जरी सेवा सुरु भएको ।

३. VIP तथा VVIP वेड संख्या थप गरी व्यवस्थित गरिएको ।

४. जेरियार्टिक वार्ड सञ्चालन गरिएको ।

५. निरोगी क्लिनिक (Wellness Clinic) सञ्चालनमा आएको ।

६. सबै जनरल शैय्याहरू निःशुल्क गरिएको ।

७. प्रयोगशाला सेवामा अत्याधुनिक मेसिन थपिएको ।

८. प्रदेश सरकारहरूसँग कडा रोगको उपचार सम्बन्धि सम्झौता गरिएको ।जसका कारण विपन्न नागरिकले थप सामाजिका सुरक्षा प्राप्त गरेको ।

९. स्तन क्यान्सरको Screening का लागि Mammography सेवा शुरू गरिएको ।

१०. फार्मेसी सेवा विस्तार गरिएको (OPD, Medical र Surgical गरी तीन वटा Counter सञ्चालित) ।

११. सामाजिक सेवा र बीमालार्इ विस्तार एवम् व्यवस्थित गरिएको ।

१२. हरेक हप्ता आइतबार Blood Donation सेवा सुरू गरिएको ।

प्रशासनिक तथा व्यवस्थापन सुधार

१. बिरामीको बढ्दो चाप व्यवस्थापन गर्न Online Ticketing साथसाथै प्रत्येक तल्लामा Counter विस्तार गरिएको छ ।

२. कर्मचारीहरूको समग्र व्यवस्थापन गर्न सही ठाउँमा सही व्यक्तिको अवधारणालाई कार्यान्वयन गरिएको छ ।

३. खरिद प्रक्रियालार्इ पारदर्शी बनाउनुका साथै पुराना काम नलाग्ने सामानहरूलाई लिलामी प्रक्रिया अगाडी बढाइएको छ ।

४. समय पालनालाई कडाई गरिएको त्यसै अनुरूप प्रोत्सान भत्ता निर्धारण गरिएको छ ।

५. स्वास्थ्यकर्मीको क्षमता विकास तथा अनुसन्धानलाई अगाडि बढाइएको ।

बजेट व्यवस्थापन तथा आर्थिक पारदर्शिता
१. खरिद कार्यलाई Tender मार्फत प्रतिष्पर्धी बनाइएको, Online Bidding शुरू गरिएको ।

२. आ.व २०८०।८१ मा नेपाल सरकारबाट रु. ९३ करोड निकासा रकम मध्ये ८९ करोड रकम खर्च भएको छ ।

३. अस्पतालको आन्तरिक स्रोत खासगरी अस्पतालको विभिन्न सेवा प्रवाह मार्फत प्राप्त आम्दानी ७३ करोड मध्ये करिब रु. ७२ करोड खर्च खर्च भएको छ ।

४. बजेट व्यवस्थापनः बजेट नभई खरिद गर्न नहुने कानुनी व्यवस्थाका कारण जटिलता आएको ।

न्यून बजेटका कारण अत्यावश्यक मर्मत संभार समयमा नहुँदा सेवा प्रभावित हुने गरेको ।

नियमित सेवाका लागि चाहिने सरसफाई, Lab, X-ray लगायतका सामाग्रीको आपूर्तिमा समस्या हुने गरेको ।

भावी योजनाहरू
१. आकस्मिक कक्षलाई पुनः निर्माण गर्दै थप विस्तार गर्ने ।

२. अस्पतालका सबै ICU र HDU हरू सञ्चालन गरी सघन उपचार सेवा १०० बेड पुऱ्याउने ।

३. बीमाको सेवालाई प्रविधि र जनशक्ति थप गरी छिटोछरितो बनाउने । बीमाको छुट्टै फार्मेसी सञ्चालन गर्ने ।

४. नेशनल बर्न सेन्टरको स्थापना (ICU Operation सहितको १५ वेडको क्षमता) ।

५. सर्जिकल भवन पूर्ण रूपमा सञ्चालन तथा सबै अपरेसन कक्ष कम्तिमा १२ घण्टा सुचारु गर्ने ।

६. EHS सेवा मार्फत थप समय (दिउँसो ४ बजेदेखि साँझ ८ बजेसम्म) मा विशिष्टिकृत Medical सेवा तथा Surgical सेवा प्रदान गर्ने ।

७. विस्तारित अस्पतालको सेवाः (EHS)

विशिष्टिकृत सेवामा सहजता ।
बिरामीको चापको वितरण हुने
अप्रेसनको पालो छिटै आउने ।

८. Digitalization: ईलेक्ट्रोनिक मेडिकल रेकर्डलाई पूर्ण कार्यान्वयनमा लैजाने (PACS र EHR लागू
गर्ने) ।

८. क्यान्सर सेवामाः Brachytherapy, LINAC Machine, Spec CT जस्ता सेवा विस्तार गर्ने ।

९. Medical Genetics Unit मा Next Generation Sequencing (NGS) जस्ता उपकरण र जनशक्ति थपी सो सेवालार्इ राष्ट्रिय केन्द्रको रूपमा विकास गर्ने ।

१०. Renal Transplant सेवालाई हप्ताको २ दिन गरी वार्षिक २०० को क्षमतामा पुऱ्याउने ।

चुनौति र सम्भावनाहरु

१. बिरामीको चापः

जनसंख्या वृद्धि, स्वास्थ्य प्रति सचेतना, स्वास्थ्य बीमा लगायत सामाजिक सुरक्षाका विविध Scheme साथै जीवनशैलीले निम्‍त्याएका विभिन्‍न नसर्ने रोगको प्रकोप जस्ता विवध कारणले वीर अस्पतालमा सेवाग्राहीको संख्या बढ्दो छ ।

२. बजेट व्यवस्थापनः

अस्पतालको सेवा शुल्कबाट बजेट व्यवस्थापन गर्नुपर्दा आम सर्वसाधारणलाई थप आर्थिक भार पर्न जान्छ । त्यसैले नेपाल सरकारले वीर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास गर्दै अस्पतालको वित्तीय दायित्व पूर्णरुपमा लिनुपर्ने देखिन्छ । बजेट नभई खरिद गर्न नहुने कानुनी व्यवस्थाका कारण जटिलता हुने गरेको
– न्युन बजेटका कारण अत्यावश्यक मर्मत संभार हुन नसकेको
-ठुला मेसिनको मर्मत समयमा नहुँदा सेवा प्रभावित हुने गरेको
-नियमित सेवाका लागि चाहिने सरसफाई, Lab, X-ray लगायतका सामाग्रीको आपुर्तिमा समस्था हुने गरेको

३. जनशक्ति व्यवस्थापनः

दरबन्दी अनुरुपको जनशक्ति पनि उपलब्ध नभएको ।हाल अस्पतालमा विशेषगरी नर्सिङ्ग जनशक्तिको अभावमा अन्तरंग सेवा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिएको छैन । यसै गरी एनेस्थेसियाको कम जनशक्तिले गर्दा पनि शल्यक्रियाको लागि पर्याप्त OT Table चल्न सकेका छैनन् र लामो समय पालो पर्खनु पर्ने बाध्यता रहेको छ । साथै विशिष्टकृत सेवा जस्तैः नेफ्रोलोजी, प्लास्टिक सर्जरी, CTVS, Cardiology आदिमा विशेषज्ञको अभाव रहेको छ ।

४. नयाँ प्रविधिको अवलम्बन र मर्मतः

बढ्दो यो चापलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि जनशक्ति व्यवस्थापन, बजेट अभाव र मेसिनरी औजारको उपलव्धता मुख्य चुनौतीका रुपमा रहेका छन् ।

रिफरल सेन्टरको रूपमा विकास गर्ने

काठमाडौँको मुटुमा रहेको वीर अस्पतालले बढ्दो जनसंख्यालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै विशेषज्ञ सेवा तथा अति विशिष्टिकृत सेवा प्रवाह गर्नुपर्ने हुँदा वीर अस्पतालको कार्यक्षेत्रलाई एकपटक पुर्नविचार गर्नुपर्ने देखिन्छ र यसलाई  देशकै रिफरल केन्द्रको रूपमा विकास गर्नुपर्दछ ।

आधारभूत सेवा काठमाडौँ महानगरपालिका लगायत काठमाडौं उपत्यकाका नगरपालिकामा सञ्चालन गरी वीर अस्पताललाई Referral Center बनाउनु पर्दछ । त्यसो गर्न सकेमा वीरको सेवा वास्तविक विशेषज्ञ आवश्यकता भएको बिरामीमा केन्द्रित हुनेछ र समयानुकूल नयाँ प्रविधि अवलम्बन गर्न पनि प्रेरित गर्नेछ ।

दुवाकोट परियोजना
१. हरेक विशेषज्ञ विधाको Center of Excellence बनाउने सोच राखी अगाडि बढाउनु पर्दछ ।

२. यस परियोजनालाई चरणबद्ध रूपमा अगाडि बढाउनु पर्ने देखिन्छ । हाल सञ्चालनमा नरहेका सेवालाई विशेष प्रथामिकतामा राखी परियाेजना शुरू गर्नु पर्नेछ ।

अन्तमा, अस्पतालको विकास तथा विस्तारका लागि अहोरात्र खटिनु भएका सम्पूर्ण चिकित्सक नर्स, अन्य स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारीहरू, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका वर्तमान तथा पूर्व पदाधिकारीहरू, पत्रकार मित्रहरू, रक्तदाताहरू, सहयोगी संघ संस्थाहरु, बिरामी तथा उहाँहरूका आफन्तहरू एवं अस्पतालका शुभेच्छुकहरू लगायत सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

अस्पतालका विद्यमान समस्या र चुनौतिहरुलाई यस अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सामूहिक प्रयासबाट समाधान गर्न सकिने छ । साथै कर्मचारीहरूको आपसि सद्भाव र एकताले यस ऐतिहासिक अस्पतालको विकास र विस्तारमा सहयोग पुग्नेछ भन्ने पूर्ण विश्वास लिएको छु ।

धन्यवाद् ।

# वीर अस्पतालका निर्देशक डा पौडेलले १३५ औँ स्थापना दिवसको अवसरमा प्रस्तुत गरेको प्रतिवेदनको सार सक्षेप ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “वीर अस्पतालको सेवा प्रवाह र भावी योजनाहरु

  1. When will be start Interventional Radiology (Neuro Intervention, vascular intervention, and Nona Vascular Intervention) service in BIr Hospital?

Leave a Reply

Your email address will not be published. Required fields are marked *