वीर अस्पतालले मनायो १३५ औँ बार्षिकोत्सव

वीर अस्पतालको सेवा अझै प्रभावकारी गराऔँ, म सहयोग गर्न तयार छु - स्वास्थ्य मन्त्री पौडेल

काठमाडौँ, १२ साउन । नेपालकै सबैभन्दा पुरानो वीर अस्पतालले आफ्नो १३५ औँ स्थापना दिवस मनाएको छ । शनिबार वीर अस्पतालमा विशेष समारोहकाबीच अस्पतालले आफ्नो स्थापना दिवस मनाएको हो ।

विसं १९४७ साउन १२ गते १५ शैय्याबाट सुरु भएको यो अस्पतालमा अहिले ९६६ शैय्याको स्विकृति पाई सञ्चालनमा आएको छ ।

उपचार सेवामा केन्द्रीय यो अस्पताल विसं २०५९ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) स्थापना पछि शैक्षिक कार्यक्रममा समेत केन्द्रीत रहेको थियो ।

यसैबीच शनिबार बार्षिकोत्सव समारोहमा बोल्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले वीर अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउन जरुरी रहेको बताए । ‘म अहिले अलमलमा छु बाहिर सुन्दा वीर अस्पतालको सेवाको बारेमा नकारात्मक बढी टिप्पणीहरु सुनिने गरेको छ । तर यहाँ आइसक्दा यति धेरै कामहरु गरेको रहेछ । यसलाई अझ प्रभावकारी बनाउन के के गर्नुपर्छ म त्यसका लागि सधै तयार छु,’ सम्वोधनका क्रममा उनले भने ।

मन्त्री पौडेलले अहिले पनि सिमित स्रोत साधनबाट सत प्रतिशत नतिजा ल्याउनु पर्ने बाध्यता भएको भन्दै वीरले पनि त्यसगतिमा काम गर्ने विश्वास आफूले लिएको बताए । उनले नयाँ पूर्वाधार, नया जनशक्ति उत्पादन गर्न केही समय लाग्ने र खर्च बढी लाग्ने भए पनि बनिसकेको पूर्वाधार र तयारी अवस्थामा रहेको जनशक्तिमा थप गर्न थोरै स्रोतबाट समेत सम्भव हुने भन्दै त्यसमा आफूले सहयोग गर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी विच्छाले वीर अस्पताललाई सहयोग गर्न आयोग सधै सकारात्मक रहेको बताए ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले वीर अस्पताललाई स्वास्थ्यमा आएको कुल बजेटको २.५ प्रतिशत रकम उपलव्ध भएको भन्दै अब नतिजा देखाउने गरी काम गर्न आग्रह गरे । उनले वीर अस्पताल स्वास्थ्य मन्त्रालयको दर्पण हो भन्दै यसलाई सुधार गर्नमा सबै लाग्नु पर्ने बताए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले वीरको ऐतिहासिक पृष्ठभूमी र यसमा आएको परिवर्तन दिइरहेको सेवाकाबारेमा जानकारी दिएका थिए ।

 

यस्तै न्याम्सका शिक्षाध्यक्ष डा लोचन कार्कीले न्याम्स र वीर अस्पतालको सम्वन्धका बारेमा बताएका थिए ।

वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले अस्पतालको इतिहास, सेवा प्रवाहको विवरण, भावि योजनाका बारेमा विस्तृत रुपमा जानकारी गराएका थिए ।

कार्यक्रममा विभिन्न बर्षभरी उत्कृष्ठ सेवा दिएका चिकित्सक, नर्स, प्यारामेडिक्स, अस्पतालका विभाग तथा बार्षिकउत्सवका अवसरमा गरिएका प्रतियोगितामा विजयी टोलीहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *