सौर्य एयरलायन्स दुर्घटना : केएमसीमा उपचाररत घाइते पाइलटको स्वास्थ्यमा सामान्य सुधार

काठमाडौँ, १० साउन । बुधबार भएको सौर्य एयरलायन्सको त्रादशीपूर्ण दुर्घटनामा बाच्न सफल पाइलट क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको छ । उनको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालको आइसीयूमा उपचार भइरहेको छ ।

अस्पतालका निर्देशक डा. मिना थापाले हिजोको तुलनामा सामान्य सुधार भएको बताईन । हिजो एक्सरे तथा सिटिस्क्यान गरी शरीरको चोटपटक हेरेका चिकित्सकहरुले थप केही जटिलता छ कि भनेर एमआरआई गर्ने योजना बनाएका छन् ।

‘हिजो एक्सरे तथा सिटिस्क्यान गरेर हेरियो । थप केही जटिलता लुकेको छ कि भनेर आज हामीले एमआरआई गर्ने तयारीमा छौँ,’ डा. थापाले भनिन् ।

उनले क्याप्टेन शाक्यको मेरुदण्डको शल्यक्रिया हिजो नभएको समेत स्पष्ट पारिन । ‘मेरुदण्डको दुईवटा हड्डि भाचिएको देखिएको छ । त्यसको केही समय पछि शल्यक्रिया गरिएला । हिजो त हामीले अनुहार, टाउको तथा शरीरका विभिन्न भागमा लागेका चोटपटकमा टाँका लगाउने काम गरेका हौँ । त्यस्तो ठूलो शल्यक्रिया भएको छैन,’ उनले भनिन् । डा. थापाले नाकको हड्डी फुटेकोले त्यसको सर्जरी भने हिजो नै गरिएको बताईन ।

‘अहिले राम्ररी बोल्नु हुन्छ । हिडडुल गर्न भने मिल्दैन । पूर्ण रिकभर हुन त केही समय लाग्छ नै,’ डा. थापाले भनिन् ।

क्याप्टेन शाक्यको स्वास्थ्यको स्वास्थ्य अवस्था बुझ्न हिजो बेलुका प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री प्रदीप पौडेल केएमसी अस्पताल पुगेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *