दुर्घटनाग्रस्त सौर्य एयरलायन्सका क्याप्टेनको स्वास्थ्य अवस्था ‘खतरामुक्त’

क्याप्टेनको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य मन्त्री पौडेल पुगे केएमसी अस्पताल
केएमसी अस्पताल पुगेर क्याप्टेनका परिवारसंग भेट गर्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेल

काठमाडौँ, ९ साउन । आज विहान दुर्घटनामा परेको सौर्य एयरलायन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलले जनाएको छ ।

सौर्य एयरलाइन्सको ‘९ एन–एएमई’ कलसाइन विमान आज विहान ११ : ११ बजे काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट टेकअफ हुने वित्तिकै २०० फिट माथि पुगेपछि रनवे नजिकै बजारिएको थियो ।

चालक दलका दुई र १७ जना जना प्राविधिक सहित उडेको विमान दुर्घटनामा पर्दा क्याप्टेन शाक्य मात्रै बाच्न सफल भएका थिए । दुर्घटना स्थलमा गम्भीर घाइते अवस्थामा भेटिएका क्याप्टेन शाक्यलाई प्रहरी सहितको उद्धारकर्मीको टोलीले तत्काल उद्धारगरी केएमसी पठाएको थियो ।

‘जलन छैन, अनुहार, मेरुदण्ड सहित विभिन्न भागमा चोटपटक छ । अहिले मेरुदण्डको शल्यक्रिया गरिदैछ,’ अस्पताल स्रोतले भन्यो,  ‘तर उहाँ अब खतरामुक्त हुनुहुन्छ ।’

यसैबीच स्वास्थ्य मन्त्री प्रदीप पौडेलले दुर्घटनाका एक मात्र जिवित घाईते क्याप्टेनको स्वास्थ्य अवस्था बुझ्न केएमसी अस्पताल पुगेका छन् ।

अपरान्ह पाँच वजे तिर पुगेका मन्त्रीले अस्पताल प्रशासनसंग घाईतेको अवस्था बुझ्दै उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए । उनले अस्पतालमा रहेका क्याप्टेनका परिवारका सदस्यहरुसंग भेट गरी धैर्य राख्न आग्रह गरेका थिए ।

‘विमान चालक रहेका क्याप्टेन शाक्यका बुबा आमा र श्रीमतीलाई भेट गरी नआत्तिन र धैर्य राख्न अनुरोध गर्नु भएको छ । उहाँले घाइते क्याप्टेनको उपचारमा कुनै कसर बाँकी नराख्ने गरी आफूले अस्पताललाई निर्देशन दिईसकेको र घटनाको बारेमा सरकारले छानविन गरी सत्यतथ्य खोज्ने समेत बताउनु भएको छ,’ स्रोतले भन्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *