अन्नपूर्ण न्यूरो अस्पतालले भित्र्यायो रोबोट ‘डाक्टर रामु’, थालियो रोबोटिक सर्जरी

काठमाडौँ, ९ साउन । माइतीघरमा रहेको अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सेज (अन्नपूर्ण न्यूरो अस्पताल)ले रोबोटिक सर्जरी सेवा सञ्चालनमा ल्याएको छ ।

अस्पतालले एक साता अघि देखि ‘कम्प्लिट न्यूरो रोबटिक सेट – रेमबोट’ को माध्यमबाट रोबोटिक सर्जरी सेवा प्रारम्भ गरेको हो । चीनबाट ल्याइएको ‘रेमबोट’लाई न्युरो सर्जिकल ‘रोबोट डाक्टर रामु’को नाम दिइएको छ ।

नयाँ सेवाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष समेत रहेका बरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तले विज्ञान र प्रविधिको अधिकतम उपयोग गरी सेवालाई थप प्रभावकारी र विश्वसनीय बनाउन नयाँ प्रविधि भित्र्याइएको बताए ।

‘नेपाल भनेपछि सधै गरीव, पिछडिएको देश हो भन्ने जस्तो भास्य निर्माण भइरहेको छ । त्यसलाई चिर्नका लागि पनि हामीले यो प्रविधिहरु भित्र्याएका हौँ । विश्वमा आएका नयाँ नयाँ प्रविधि नेपालमा पनि आउनुपर्छ र यहाँका बिरामीलाई पनि सो सेवा दिनुपर्छ भनेर नै हामीले यो रोबोटिक सेवा सुरु गरेका हौँ,’ उनले भने ।

डा.  पन्तले रोबोटिक सर्जरीले टार्गेट सेट गरेपछि बिरामीको धेरै घाउ बनाउन नपर्ने, त्यसले छिटो सुधार हुने, दुखाई कम हुने अनि अस्पताल बसाई पनि छोटो हुने र समग्र सर्जरी गर्ने समयमै एक तिहाईले घट्ने लगायतका फाइदा रहेको बताए ।

‘कतिपयले रोबोटिक सर्जरी भनेको रोबोटले नै सर्जरी गर्ने हो भनेर बुझ्ने गरेको भन्दै आफूहरुलाई भित्र्याएको मेसिन त्यस्तो नभएको स्पष्ट पारे । हामीले भित्र्याएको यो रोबोटिक सर्जरीमा सर्जनकै कमान्डमा रोबोटले कहाँ कहाँ सर्जरी गर्ने हो, सो टार्गेट अनुसार सजिलो बनाइदिने र पोइन्टआउट गरिदिने काम गर्छ । यसरी सही ठाउँमा टार्गेट गर्दा सर्जनको काममा निकै सहयोग हुन्छ । त्यसका लागि बायोमेडिकल इन्जिनियरहरुको समेत साथ चाहिन्छ,’ उनले भने ।

जटिल शल्यक्रियामा रोबोटको सहायता लिंदा शल्यक्रिया गर्न धेरै सहज हुने डा. पन्तले जानकारी दिए । अहिले भित्रिएको रोबोटमा डाक्टरले बनाएको योजना अनुसार रोबोटको सहायता लिएर शल्यक्रिया गर्ने गरिन्छ ।

उनले आफ्नो अस्पतालमा ल्याएको रोबोट न्यूरो र स्पाइन सर्जरीमा प्रयोग गर्न मिल्ने बताए । तर सबै बिरामीमा यसको प्रयोग भने गर्न नपर्ने जानकारी दिए ।

‘न्यूरो र स्पाइन सर्जरीमा हामीले रेमबोटको सहायता लिन मिल्छ । त्यसमा पनि केश हेरेर । यसको सून्य दशमलव ५ मिलिमिटर एकुरीसी हुन्छ । यसले गर्दा धेरै ठूलो घाउ बनाउन पनि पर्दैन,’ डा. पन्तले थपे ।

उनले रोबोटले डाक्टरको कामलाई सजिलो र चुस्त दुरुस्त राख्ने हुँदा यसबाट आउने रिजल्ट पनि आगामी दिनमा अझ राम्रो हुनेमा विश्वस्त रहेको बताए ।

एक प्रश्नमा डा. पन्तले  रोबोटिक सर्जरीमा लाग्ने खर्च अर्को सर्जरीमा भन्दा २० देखि २५ प्रतिशतले बढी हुन सक्ने बताए । तर उच्चतम प्रविधिको प्रयोगले गर्दा बिरामीलाई छिटो सुधार, अस्पताल बसाई छोटो हुने हुँदा बिरामीलाई त्यस्तो ठूलो भार नहुने बताए ।

अस्पतालका मेडिकल डाइरेक्टर डा.  सुदन ढकालले बिरामीलाई गुणस्तरीय उपचार सेवा दिने अस्पतालको प्रयासस्वरुप उक्त उपकरण ल्याइएको बताए। ‘हाम्रो लक्ष्य बिरामीलाई राम्रो उपचार सेवा दिने हो। त्यसैले हाम्रो स्रोतसाधनले भ्याएसम्म विश्वमा अभ्यासमा रहेका उपचार पद्धति र अविष्कार भएका नवीनतम प्रविधि यहाँ ल्याउने प्रयास गरिरहेका हुन्छौं। नेपालको न्युरो सर्जरी रोबोटिक एरामा पुगेको हामी यसबाट जनाउन चाहन्छौं,’ उनले पत्रकार सम्मेलनमा भने।

अस्पतालकी न्यूरो सर्जन डा. रेशा श्रेष्ठले पछिल्ला केही दिनमा तीन जनाको रोबोटिक सर्जरी भएको बताईन । ‘पहिलो ब्रेन ट्युमरको, दोस्रो डिस्टोनिया र तेस्रो छारे रोगको बिरामीमा रेमोबोटको प्रयोग गरियो । र, सबै केशहरु राम्रो भयो,’ डा. श्रेष्ठले भनिन् ।

सन् २००० मा छारे रोगको शल्यक्रिया, सन् २०१६ मा पार्किसन्स, सन् २०२० मा छारे रोगको एडभान्स लेभलको शल्यक्रिया गरेर सेवाविस्तार गरेको अन्नपूर्णमा गत वर्ष २ हजार ८ सय बढी शल्यक्रिया भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *