ललितपुरमा हैजा : आरडीटी गर्दा थप पाँच जनामा पोजेटिभ देखियो

काठमाडौँ, ८ साउन । ललितपुरको गोदावरी नगरपालिका १४ ठैबस्थित एक सुधार गृहमा रहेका एक जना बालकमा हैजा पुष्टि भएपछि हिजो र आज गरिएको रेपिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) मा थप पाँच जना बालबालिकामा हैजाको जीवाणु पोजेटिभ देखिएको छ ।

आधिकारिकताका लागि तिनिहरुको नमूना थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

झाडा पखलाले ग्रस्त बनाएपछि गत शुक्रबार सुधार गृहका एक बालकलाई उपचारका लागि टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ल्याएर भर्ना गरिएको थियो । हैजाको आशंकामा दिशाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाउँदा हैजा पुष्टि भएको छ ।

प्रयोगशालाले हिजो (सोमबार) रिपोर्ट दियो । त्यसपछि संघ, प्रदेश र स्थानीय तहमा रहेका तीनवटै संयन्त्र परिचालित भई त्यहाँ रहेका शंकास्पद अन्य बालकहरुको समेत दिशाको आरडीटी विधिबाट परीक्षण गरेको थियो ।

‘हिजो ६ जनाको आरडीटीबाट जाँच गर्दा ४ जनामा पोजेटिभ आयो, आज थप १ जनामा पोजेटिभ आएको छ । उनीहरुको नमूना लिएर निस्कर्षका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ,’ जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा भुवन पौडेलले भने ।

हिजो आरडीटीमा हैजाको जिवाणु पोजेटिभ देखिएपछि थप चार जनालाई पनि टेकु अस्पताल पठाइएको उनले बताए ।

हैजा पुष्टि भएपछि सुधारगृहमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखा, जनस्वास्थ्य कार्यालय, नगरपालिकाको स्वास्थ्य शाखा साथै स्थानीय प्रशासन समेतको सहभागितामा अवस्थाको अध्ययन, परीक्षण खोज पडताल लगायतका काम भइरहेको छ ।

‘जनस्वास्थ्य प्रयोगशालाले टेकुमा भर्ना भएका बालकमा हैजा भएको पुष्टि गरेपछि हामीले शंकास्पद अरु बालकहरुको पनि आरडीटी परीक्षण गरेका थियौँ । हिजो र आज परीक्षण गरिएका कुल सात जनामध्ये पाँच जनामा पोजेटिभ देखियो,’ डा पौडलले भने । उनले सो सुधार गृहमा ६५ जना बालकहरु रहेको बताए ।

यता टेकु अस्पतालका निर्देशक डा युवानिधी बसौलाले झाडा पखलाको जटिल समस्या भएपछि गत शुक्रबार ल्याइएका बालकको दिशा कल्चर गर्दा हैजाको जिवाणु देखिएको र अहिले उनी उपचारमै रहेको बताए । उनले उपचाररत बालकहरुको अवस्था सुधारोन्मुख रहेको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *