भारतको केरलमा निपाह भाइरसका कारण एक जनाको मृत्यु

काठमाडौँ, ८ साउन । भारतको केरल राज्यमा निपाह भाइरसका कारण १४ वर्षीय बालकको मृत्यु भएको छ । बालकको मृत्यु भएपछि त्यहाँका स्वास्थ्य अधिकारीहरूले अलर्ट जारी गरेका छन् ।

उक्त राज्यका थप ६० जनामा यो रोग भएको उच्च जोखिमको श्रेणीमा रहेको पहिचान गरिएको छ । केरलको स्वास्थ्य मन्त्री वीणा जर्जका अनुसार ती बालक पाण्डिक्कड सहरका थिए र उनीसँग सम्पर्कमा आएकाहरूलाई अलग्गै राखेर परीक्षण गरिएको छ।

यस क्षेत्रका मानिसहरूलाई सार्वजनिक क्षेत्रमा मास्क लगाउन र अस्पतालमा मानिसहरूलाई भेट्न नजान जस्ता सावधानी अपनाउन भनिएको छ।

केरलको विभिन्न भागमा देखिएको यो भाइरस विश्वव्यापी रूपमा फैलिन सक्ने गत वर्ष रोयटर्सले गरेको एक अनुसन्धानले देखाएको थियो ।

निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ । सङ्क्रमित चमेराबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ ।

यस्तै सङ्क्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, सङ्क्रमित व्यक्तिको रगत, दिसा र पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपाह भाइरस सर्ने गर्दछ ।

उक्त भाइरसका लक्षण ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस देखिने गर्दछ । यो रोग बढी सङ्क्रामक पनि हुने गरेको छ ।

निपाह भाइरसबाट बच्नका लागि फलफूल राम्रोसँग पखालेर मात्र खाने, तरकारी सकेसम्म पकाएर खाने, गाइबस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर मात्र पिउने, बेलाबेलामा साबुनपानीले हात धुने, भीडभाडमा जाँदा मास्क लगाउने गर्नुपर्दछ ।

विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले निपाह भाइरसबाट सर्ने रोगलाई विश्वको १० प्राणघातक रोगमध्ये एक मानेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *