क्रोएसियाको नर्सिङ होममा गोली चल्दा कम्तिमा ६ जनाको मृत्यु
बीबीसी । क्रोएसियाको एक स्याहार केन्द्र (नर्सिङ होम) मा गोली चल्दा कम्तिमा ६ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमबार बिहान १० बजेर १० मिनेटमा एक व्यक्ति नर्सिङ होममा प्रवेश गरी त्यहाँ रहेका वृद्धवृद्धाहरुमाथि अन्धाधुन्द गोली प्रहार गरेका थिए ।
यो घटनामा परी ५ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । घटनामा केही घाइते भएका छन् । चार जना घाइतेहरुको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ ।
गोली लाउने व्यक्ति घटनापछि भागेर एक क्याफेमा लुक्न गएका थिए । पछि प्रहरीले उनलाई क्याफेबाट पक्राउ गरेको छ । उनको साथबाट अवैधानिक बन्दुक बरामद भएको क्रोएसियाका मिडियाहरुले उल्लेख गरेका छन् ।
उनी सेवानिवृत्त सैन्य भएको बुझिएको छ । तर उनले गोली चलाउनुको कारण भने खुलेको छैन । स्थानीय मिडियाहरुका अनुसार उनले गोली चलाएर हत्या गरेका व्यक्तिहरुमध्ये एक जना उनको नातेदार पनि हुन् ।
क्रोएशियाका राष्ट्रपति जोरान मिलानोभिकले घटनालाई जंगली र बर्बरता भन्दै आफू स्तब्ध भएको बताए । उनले बन्दुकको स्वामित्व सम्वन्धी नियमलाई थप कडा गर्नु पर्ने बताए ।
‘यो डरलाग्दो चेतावनी हो र सबै सक्षम संस्थाहरुलाई समाजमा हिंसा रोक्नका लागि अझ बढी गर्नका लागि अन्तिम अवसर पनि हो,’ घटनापछि राष्ट्रपति मिलानोभिकले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले घटनालाई राक्षस आक्रमण भन्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरे ।
क्रोएसियाली अधिकारीहरुले यो घटनाको विषयमा अहिलेसम्म कारण पत्ता नलागेको बताएका छन् ।
सम्पर्क इमेल : [email protected]