पीजीमा सात विषय थप्न पाठ्यक्रम तयार गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

 

काठमाडौँ, ७ साउन ।  हाल ५० सिट एमबीबीएस कार्यक्रम सञ्चालन गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा शिक्षा तर्फको पोष्ट ग्राजुएट्स (पीजी) तहको कार्यक्रम त्यस अघि नै सुरु गरेको थियो  तर थोरै विषयमा ।

यसपटक भने प्रतिष्ठानले पीजी तहमा विषय बढाउने योजना अघि सारेको छ । सोही योजना अनुसार प्रतिष्ठानले अहिले पीजी तहको ७ वटा विषयको पाठ्यक्रम तयार गर्दैछ ।

प्रतिष्ठानले एनाटोमी, फिजियोलोजी, माइक्रोबायोलोजी, बायो केमेस्ट्री, फरेन्सिक मेडिसिन, फर्माकोलोजी र क्लिनिकल प्याथोलोजी गरी सात विषयको पाठ्यक्रम तयार गर्दैछ ।

‘सात वटा विषयको पाठ्यक्रम निर्माण गर्दैछौँ । यो वर्ष कम्तिमा छ वटा विषय थप्ने योजना हो । पहिले नै हामीले पाँच विषयमा क्लिनिक विषयमा अध्ययन गराईसकेका छौँ,’ उपकुलपति डा. मंगल रावलले  भने ।

त्यसो त प्रतिष्ठानले चारवटा स्कुलबाट विभिन्न १३ वटा स्वास्थ्यका अरु कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिष्ठानका डीन डा प्रेनितकुमार पोखरेलले योजना गरिएका नयाँ विषयका पाठ्यक्रमलाई अन्तिम रुप दिने अवस्थामा पुगेको भन्दै त्यसपछि चिकित्सा शिक्षा आयोगमा सिटका लागि दावी गर्ने बताए ।

यसैबीच प्रतिष्ठानले आफूकहाँ थप्ने योजनामा रहेको सात वटा विषयको पाठ्यक्रम निर्माण कार्यलाई अन्तिम रुप सोमबार र मंगलबार काठमाडौँमा पाठ्यक्रम सम्वन्धी कार्यशालाको आयोजना गरेको छ ।

टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रको हलमा सुरु भएको कार्याशालाको उद्घाटन गर्न सोमबार स्वास्थ्य मन्त्री प्रदीप पौडेल पुगेका थिए । सो क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य उपचार तथा स्वास्थ्य शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा गरे । उनले स्वास्थ्य शिक्षामा गुणस्तरीयतामा जोड दिनु पर्ने भन्दै विदेशी विद्यार्थीहरु कर्णालीमा अध्ययन गर्ने बातावरण बनाउनु पर्ने बताए ।

‘नेपालीहरु चिकित्सा शिक्षा अध्ययनका लागि भारत तथा बंगलादेशमा ठूलो संख्यामा अध्ययनका लागि जाने गरेको भन्दै त्यहाँका विद्यार्थीलाई पनि यहाँ ल्याउने गरी काम गर्नुपर्छ,’ मन्त्री पौडेलले भने ।

कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले पाठ्यक्रमको फ्रेमवर्क आयोगले बनाउने भन्दै त्यस भित्र रहेर नयाँ पाठ्यक्रम बनाउन निर्देशन दिए । उनले स्वास्थ्य शिक्षाको विषयमा गुणस्तर चाहिने भन्दै यसमा आयोगले कम्प्रमाइज गर्न नमिल्ने समेत स्पष्ट पारे ।

यस्तै कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिभाषामा अब दुर्गम शव्द हटाउनु पर्ने भन्दै अब सुगम र सजिलो छ भनेर विद्यार्थी तथा फ्याकल्टीहरुलाई तान्नु पर्ने बताए । उनले भने, ‘बाटो केही अफ्टेरो छ तर त्यहाँ पुगेपछि दुर्गमको कुनै अनुभव हुँदैन । त्यसैले दुर्गम भन्न छाडिदिउँ ।’

यस्तै प्राडा रमेशकान्त अधिकारीले सिमित स्रोत साधनको बावजुत प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताए ।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा रावलले प्रतिष्ठानले पछिल्ला वर्षमा गरेका प्रगति र भावि योजना बारेमा विस्तृत रुपमा बताएका थिए ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा डबलबहादुर धामी, निर्देशक डा पुजनकुमार रोकाय, डीन डा पोखरेल, रजिष्ट्रार नृपेन्द्र महतले प्रतिष्ठानको वस्तुस्थिति र उपलव्ध गराउँदै आएको सेवाबारेमा बोलेका थिए ।

कार्यशालामा हरेक विषयसंग सम्वन्धित कम्तीमा ३ जना विज्ञहरु रहेका छन् । उनीहरुले मंगलबारसम्ममा पाठ्यक्रमलाई अन्तिम रुप दिने तयारीमा लागेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *