हरेक आइतबार रक्तदान शिविर चलाउँदै वीर अस्पताल

वार्षिकोत्सवको अवसरमा धादिङको गल्छीमा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौँ, ६ साउन । धेरैलाई थाहा नहुन सक्छ, वीर अस्पतालले साप्ताहिक रुपमा रक्तदान शिविर गर्दै आएको छ । हरेक आइतबार अस्पताल परिसरमै हुने स्वास्थ्य शिविरमा अस्पतालका कर्मचारी, विरामीका आफन्त तथा सर्वसाधारणले रक्तदान गर्ने गरेका छन् ।

‘मैले वीर अस्पतालको नेतृत्व सम्हाल्न आए देखि साप्ताहिक रुपमा रक्तदान गर्न थालिएको हो । गतवर्ष असोजमा ठूलो संख्यामा कर्मचारीहरु हटाइएपछि ५ महिना अवरुद्ध भयो त्यसपछि पुन पूर्ववत रुपमा सूचारु भएको छ,’ अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले भने ।

उनले पछिल्लो समय रगत अभाव भइरहेको बेला बिरामीलाई सहज रुपमा पूर्ति गर्नका लागि साप्ताहिक रुपमा दान गर्ने अभियान प्रभावकारी भएको समेत बताए ।

‘मैले नेतृत्व सम्हाले यता वीचको पाँच महिना बाहेक हरेक आइतबार रक्तदान भइरहेको छ । गत ३१ असारसम्म कुल ९७८ जनाले दान गर्नु भएको रहेछ,’ निर्देशक डा. पौडेलले भने ।

त्यसो त वीरमा रक्तदान मात्रै होइन, दानबाट प्राप्त रगतको तत्वहरु छुट्याउने काम पनि हुने गरेको छ ।

बार्षिकोत्सवको अवसरमा रक्तदान र निशुल्क स्वास्थ्य शिविर

आगामी १२ साउनका दिन वीर अस्पतालले १३५ औँ बार्षिकोत्सव मनाउँदै छ । देशकै सबैभन्दा जेठो अस्पतालको बार्षिकोत्सवको अवसरमा अस्पताल प्रशासनले विभिन्न कार्यक्रमहरु अघि सारेको छ ।

सोही अवसरमा शनिबार (हिजो) वीर अस्पतालबाट खटिएको विशेषज्ञ चिकित्सक सहितको टोलीले धादिङको गल्छी गाउँ पालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बैरेनीको बागेश्वरी मावि र गल्छीमा भएको शिविरका लागि निर्देशक डा. पौडेलको नेतृत्वमा ६२ जनाको टोली खटिएको थियो ।

‘एक्सरे, अल्ट्रासाउण्ड, इसिजी साथै प्रयोगशाला परीक्षण सुविधा सहितको शिविरमा ७८५ जनाले सेवा लिएको डा. पौडेलले जानकारी दिए ।

यता आइतबार अस्पतालमा भएको रक्तदान शिविरमा ७२ जनाले रक्तदान गरेका छन् । बार्षिकोत्सवको अवसरलाई समेतलाई छोपेर आयोजना गरिएको शिविरमा अस्पतालका चिकित्सक, नर्स, प्यारामेडिक्स लगायतका कर्मचारी र सर्वसाधारणले सहभागिता जनाएका थिए ।

बार्षिकोत्सवको अवसरमा अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबीचमा विभिन्न खेलकुद प्रतियोगिता, बिरामीहरुलाई फलफुल वितरण गर्ने कार्य लयातका कार्यक्रम रहेको समेत डा. पौडेलले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *