गोरखा पुगेर प्रेमसागरले गरे १७९ औँ पटक रक्तदान
काठमाडौँ, ६ साउन । दानमा दिएको रगत बिरामीले निःशुल्क पाउनु पर्छ भन्दै सरकारलाई ध्यानाकर्षण गराउँदै आएका नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १७९ औँ पटक रक्तदान गरेका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा जिल्ला शाखाद्वारा शनिबार आयोजित बिशेष रक्तदान कार्यक्रममा उनले १७९ आँै पटक रक्तदान गरेका हुन् ।
यसअघि गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर रानामगरले केन्द्रीय अध्यक्ष कर्माचार्यलाई १७९ औँ पटक रक्तदान गर्न रक्त संकलन थैली हस्तान्तरण गरेका थिए । त्यसपछि कर्माचार्यले रक्तदान गरेर कार्यक्रमको औपचारिक शुभारम्भ भएको थियो ।
सो अवसरमा उनले पहिलेको तुलनामा स्वयंसेवी रक्तदाता बढे पनि बिरामीसंख्या नघटेकोले अहिले देशभर रगत आभाव भएको बताए । उनले ४५ केजी तौल भएका प्रत्येक स्वस्थ यूवाहरुले आफ्नो १८औं जन्मोत्सवसँगै रक्तदान कार्यक्रममा लाग्न आग्रह गरे ।
उनले स्वयंसेवीले निशुल्क रुपमा उपलव्ध गराएको रगत बिरामीले पैसा तिरेर लिनु पर्ने अवस्था भएको भन्दै यसलाई हटाउन सरकारसंग आग्रह गरे ।
‘हामीले प्रचण्ड सरकारलाई ध्यानाकर्षण गराएका थियो तर त्यसमा कुनै सुनुवाई भएन हेरौं यो सरकारले यता ध्यान दिन्छ कि दिंदैन हामी भने खबरदारीमा लागि रहने छौं’ उनले भने ।
सो अवसरमा नगर प्रमुख रानाले नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता कर्माचार्यलाई गोर्खालीहरूको तर्फबाट सार्वजनिक अभिनन्दन एवं दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
रक्तदाता समाज गोरखा जिल्ला शाखाका अध्यक्ष रामबहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ४१ जनाले रक्तदान गरेका थिए ।
सम्पर्क इमेल : [email protected]