गाजामा मृत आमाको कोखबाट नवजात शिशुको उद्धार

गाजा पट्टी । इजरायली आक्रमणमा घाइते भएकी एक आमाको कोखबाट एक नवजात शिशुलाई जीवितै उद्धार गरिएको गाजास्थित एक अस्पतालले शनिबार जनाएको छ ।

हमासद्वारा सञ्चालित क्षेत्रमा भएको क्षेप्यास्त्र आक्रमणमा एकै परिवारका ६ सदस्यसहित २४ जनाभन्दा बढीको मृत्यु भएको र त्यसमा एक ९ महिनाकी गर्भवती ओला अदनान हर्ब अल कुर्द पनि रहेको बताइएको छ ।

सर्जन अकरम हुसेनका अनुसार कुर्द अल अवदा अस्पताल पुग्दासम्म मृत्यु भइसकेको थियो । चिकित्सकहरूले आमाको मृत्यु भइसकेको थाहा पाएपछि अल्ट्रासाउन्ड गर्दा बच्चाको मुटुको धड्कन चलिरहेको पाएपछि तत्काल शल्यक्रिया गरी पेटभित्रको नवजात शिशुलाई सकुशल उद्धार गरेका थिए ।

‘हामी (चिकित्सक र स्वास्थ्यकर्मीको उपलब्ध टोली)ले तुरुन्तै आपतकालीन शल्यक्रिया गरी भ्रुणलाई सकुशल मृत आमाको पेटबाट निकाल्न सफल भएका छौं’, ती सर्जन हुसेनले एएफपीसँग भने ।

अस्पतालको प्रसूति तथा स्त्रीरोग विभागका प्रमुख रैद अल साउदीका अनुसार नवजात शिशुको अवस्था सुरुमा गम्भीर थियो, तर अक्सिजन र उपचारपछि उनको स्वास्थ्य स्थिर छ ।

शिशुलाई ‘इन्क्युबेटर’ मा राखी थप रेखदेख र उपचारका लागि देइर अल-बलाहको अल-अक्सा अस्पतालमा स्थानान्तरण गरिएको छ ।

मध्य गाजास्थित नुसिरात शरणार्थी शिविरमा इजरायली क्षेप्यास्त्र प्रहारबाट कुर्दसहित तीन महिला र एक बालकको मृत्यु भएको अल अवदा अस्पतालका एक मेडिकल अधिकारीले जानकारी दिएका छन् । उनको घरमा भएको आक्रमणमा मृत महिलाका पति पनि घाइते भएको अस्पताल स्रोतले जनाएको छ ।

इजरायलले आक्रमण र व्यक्तिगत क्षतिबारे पुष्टि गरेको छैन, तर सेनाले जारी गरेको विज्ञप्तिमा मध्य गाजामा रहेका आतङ्कवादी संरचनास्थलमा सेनाले लक्षित आक्रमण गरिरहेको उल्लेख गरिएको छ ।

गत अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूहले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि हमासमाथि दबाब बढाउन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले दिएको आदेशअनुसार इजरायलले उक्त क्षेत्रका विभिन्न भागमा आक्रमण तीव्र पारेको थियो । रासस/एएफपी

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *