स्वास्थ्य मन्त्रालय कांग्रेसको भागमा
अरु मन्त्रालय कुन कुन पार्टीलाई ?
काठमाडौँ ३० असार । केपी ओली नेतृत्वको नयाँ गठबन्धन सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रमुख घटक नेपाली कांग्रेसको भागमा परेको बुझिएको छ ।
आइतबार ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बीच भएको छलफलपछि मन्त्रालयको भागबन्डा लगाउँदा स्वास्थ्य कांग्रेसको भागमा परेको ओली निकट स्रोतले बताएको छ ।
स्रोतका अनुसार अनुसार कांग्रेसको भागमा ९ र एमालेको भागमा ८ मन्त्रालय परेका छन् । जसअनुसार कांग्रेसको भागमा गृहसहित रक्षा, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ,स्वास्थ्य तथा जनसङ्ख्या, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, वन तथा वातावरण मन्त्रालय परेको छ ।
यता एमालेको भागमा भने अर्थसहित भौतिक पूर्वाधार तथा यातायात,सञ्चार तथा सूचना प्रविधि र शिक्षा मन्त्रालय परेका छन् । यस्तै शिक्षा विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पनि एमालेको भागमा परेको छ । बाँकी चार मन्त्रालय भने साना दलका लागि छुट्याइएको बताइएको छ ।
स्वास्थ्य नेपाली कांग्रेसको भागमा परेसंगै त्यहाँको मन्त्री को होला भन्ने अनुमान गर्न थालिएको छ ।
धेरैले शेखर गगन समूहबाट पार्टीमा सिफारिस भएका प्रदीप पौडेलले स्वास्थ्य सम्हाल्ने अनुमान गरेका छन् । तर नेताहरुले भने अहिलेसम्म मन्त्रालय टुङ्ग्याए पनि को मन्त्री बन्दैछ भनेर सार्वजनिक गरिसकेका छैनन् ।
राष्ट्रपति कार्यालयले भोलि विहान ११ बजेका लागि नव नियुक्त प्रधानमन्त्री सहित मन्त्रीहरुको सपथ समारोह राखेको छ । मुख्य दलका शीर्ष नेताहरुले भोलि नै सरकारलाई पूर्णता दिने योजना बनाइरहेको बुझिएको छ ।
सम्पर्क इमेल : [email protected]