त्रिवि शिक्षण अस्पतालमा विदेशी चिकित्सकको सहाराविना छ महिनामा छ वटा कलेजो प्रत्यारोपण
त्रिवि शिक्षण अस्पतालमा कुल कलेजो प्रत्यारोपणको संख्या १५ पुग्यो
काठमाडौँ, ३० असार । छ महिना अघिसम्म त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गर्ने बेलामा विदेशी चिकित्सक नै आउनु पर्दथ्यो । प्रत्यारोपण विधाकै ठूलो मानिने कलेजो प्रत्यारोपणका लागि नेपाली सर्जनहरुले ती विदेशी सर्जनहरुले गरेको हेर्दथे, सिक्दथे र उनीहरुलाई ‘ब्याकअप’ मा राखेर आफै प्रत्यारोपणका लागि तम्सन्थे ।
तर, छ महिना यता परिस्थिति फेरिएको छ ।
विदेशी चिकित्सकलाई ‘ब्याकअप’ मा राखेर आफै प्रत्यारोपणका लागि तम्सने नेपाली चिकित्सकहरुले ‘ब्याकअप’ हटाएका छन् । अर्थात विदेशी चिकित्सकको सहाराविना नै प्रत्यारोपण थालेका छन् । त्यसको नेतृत्व गरिरहेका छन् प्राडा रमेशसिंह भण्डारीले ।
गत २७ पुसमा पहिलो पटक स्वदेशी चिकित्सकहरुको समूहले मात्रै त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गर्दा कुल प्रत्यारोपणको संख्या दशौँ पुगेको थियो । त्यस यताको छ महिनामा सो टोलीले ठ्याक्कै छ वटा प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ । विदेशी चिकित्सकको सहारामा गरेको प्रत्यारोपणलाई समेत जोड्दा त्रिविमा यो सहित १५ औँ कलेजो प्रत्यारोपण गरिएको छ ।
डा. भण्डारीले शनिबार दिएको जानकारी अनुसार पछिल्लो केशमा ३० वर्षका पुरुषलाई २७ वर्षीया श्रीमती (महिला) ले कलेजो दान गरेकी हुन् । ‘यो हामी नेपाली सर्जनहरुको टोलीले मात्रै त्रिवि शिक्षण अस्पतालमा गरेको छैटौँ प्रत्यारोपण हो र समग्रतामा त्रिवि शिक्षण अस्पतालमा भएको १५ औँ कलेजो प्रत्यारोपण हो,’ प्राडा भण्डारीले भने ।
उनले अहिले अंग लिने र दिने दुवैजनाको स्वास्थ्य अवस्थामा राम्रो रहेको बताएका छन्।
यस्तै प्राडा भण्डारीले स्वदेशी टिम सक्षम बनेपछि प्रत्यारोपण नियमित हुँदै आएको र हरेक महिना कम्तिमा केश भइरहेको बताए । उनले प्रत्यारोपणका लागि आवश्यक जनशक्तिमा त्रिवि शिक्षण अस्पताल आत्मनिर्भर भएकोले क्रमश प्रत्यारोपणको केशहरु बढ्दै जाने विश्वास व्यक्त गरे ।
त्रिवि शिक्षण अस्पतालमा १७ जेठ २०७६ देखि कलेजो प्रत्यारोपण सुरु भएको हो ।
नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपणको सुरुवात भने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा भएको हो ।
साढे सात वर्ष अघि अर्थात २२ मंसिर २०७३ मा दक्षिण कोरियास्थित सामसङ अस्पतालबाट आएको चिकित्सकीय टोलीको सहयोगमा पहिलो कलेजो प्रत्यारोपण भएको थियो ।
सम्पर्क इमेल : [email protected]