प्रधानमन्त्री ‘प्रचण्ड’ पदमुक्त

काठमाडौँ, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएका छन् । प्रतिनिधिसभामा आज विश्वासको मत लिने क्रममा बहुमतले अस्विकृत गरेसंगै प्रधानमन्त्री दाहाल पदमुक्त भएका हुन् ।

गत १७ असारमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सात बुँदे सहमति भएपछि प्रचण्ड सरकार संकटमा परेको थियो । सो सहमतिपछि एमालेले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री दाहालले आज संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए ।

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्‍यो । उनको विपक्षमा १९४ मत परेको छ । र मत दिन्न भन्नेमा १ मत परेको छ । आजको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो ।

१० पुस २०७९ मा प्रधानमन्त्री भएका दाहालले पहिलो पटक २६ पुसमा विश्वासको मत लिँदा अभूतपूर्व समर्थन पाएका थिए । उनको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा २ मत मात्र परेको थियो ।

दोस्रो पटक ६ चैत २०७९ मा १७२ मत पाए । तेस्रो पटक ३० फागुन २०८० र चौथो पटक ७ जेठमा विश्वासको मत लिँदा समान १५७ मत पाएका थिए । यसपटक प्रधानमन्त्री दाहालको पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीको मात्रै समर्थन देखियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *