दृष्टि पुर्नस्थापित गर्ने प्रयासलाई समर्थन गर्न ४० हजार किमि यात्रामा निस्किएका एलेक्जेन्डर आइपुगे नेपाल
काठमाडौँ, २२ असार । अष्ट्रेलियन पदयात्री अलेक्ज्याण्डर क्याम्पबेल दृष्टिविहिनहरुको दृष्टि पुर्नस्थापित गर्ने कार्यका लागि पदयात्रा गर्दै अहिले नेपाल आइपुगेका छन् ।
उनले शुक्रबार तिलगंगा आँखा प्रतिष्ठानको भ्रमण गर्नुका साथै प्रतिष्ठानका कार्यकारी डा.सन्दुक रुइतसँग भेट गरेका छन् ।
क्याम्पबेलले पदयात्रा मार्फत सहयोग समेत संकलन गर्दै हिडेंका छन् ।
आफूले संकलन गरेको रकमबाट कसरी उपचार भइरहेको रहेछ भनेर प्रत्यक्ष हेर्नका लागि प्रतिष्ठानको भ्रमण गरेको एलेक्जेन्डरले बताए । उनले आँखा उपचारको बस्तुगत अवस्थालाई नजिकबाट नियाल्न पाएको भन्दै खुशी व्यक्त गरे ।
पदयात्राबाट संकलन भएको रकम प्रतिष्ठानको साझेदारी संस्था फ्रेड हलोज फाउन्डेशनका लागि भएकाले यसबाट नेपालमा रहेका दृष्टिविहनिहरुलाई सहयोग पुग्ने अपेक्षा उनले राखेका छन् ।
उनले फरक दृष्टिकोणका साथ पैदलै विश्व परिक्रमा गर्न चार वर्षको यात्रा तय गरिरहेका छन् । सन् २०२३ को फेब्रुअरी १२ मा सिड्नीस्थित ओपेरा हाउसबाट पाइला चालेका क्याम्पबेलले फ्रेड हलोज फाउन्डेसनका लागि रकम जुटाउने क्रममा चार महादिपका ३० देशमा गरी ४० हजार किलोमिटर पदयात्रा गर्ने तय गरेका हुन ।
ढेड वर्ष अघि यात्रा सुरु गरेका उनले इन्डोनेसिया, सिंगापुर, मलेसिया, थाइल्याण्ड, बंगलादेश, भारत हँदै हाल नेपालमा छन् । अब एसिया, युरोप, उत्तर अमेरिका हँदै पुनः अष्ट्रेलिया पुग्ने उनको योजना छ ।
विश्वमा सबैभन्दा बढी दृष्टिविहीन व्यक्तिहरू रहेको एसिया पार गर्नु क्याम्पबेलको यात्राको अर्को रोचक पक्ष हो । लामो दूरीको पदयात्रा गर्ने गरेका क्याम्बबेलले यस अघिपनि ८०० किलोमिटर कोलोराडो ट्रेल, १६०० किलोमिटर ग्रेट हिमालय ट्रेल र फ्लिन्डर्स रेन्जबाट सिड्नी सम्मको ३७५० किलोमिटरको पदयात्रा पूरा गरिसकेका छन् ।
यस पदयात्राको क्रममा फ्रेड हलोज फाउण्डेशनका लागि हालसम्म उनले बत्तिस हजार डलर संकलन गरिसकेका छन् । आफ्नो पदयात्रा मार्फत फाउण्डेशनलाई गरिने सहयोगबाट थुप्रै राष्ट्रका मानिहरुको दृष्टि पुनस्र्थापित गर्न सकिने भएकाले यो अभियान क्याम्पबेलले सुरु गरेका हुन ।
हाल विश्वमा ४३ करोड मानिस दृष्टिविहिन जीवन बाँचीरहेकोमा ९० प्रतिशतभन्दा बढी दृष्टिविहिन हुनबाट रोक्न वा उपचार गर्न सकिने रहेकाले यस किसिमको सचेतनात्मक कार्य गर्न जरुरी रहेको उनको अनुभव छ ।
फाउन्डेसनका ब्रान्ड एण्ड कम्युनिकेसन निर्देशक एलिसन हिलले भनेको छन् “विश्वभरि ४० हजार किलोमिटर पदयात्रा गर्ने अलेक्जेन्डरको मिसन एक अविश्वसनीय यात्रा हो । ”
सम्पर्क इमेल : [email protected]