नेपालमा बाल विवाहको अवस्था अहिले पनि विकराल, सन् २०३० सम्म होला त अन्त्य ?

बाल विवाहले स्वास्थ्यमा गर्ने असर कस्तो ?
चित्र : युनिसेफ नेपाल

काठमाडौँ, २२ असार । विवाहका लागि विश्वव्यापी न्यूनतम उमेर १८ बर्ष हो । नेपालले भने यो उमेर केटा र केटी दुबैका लागि २० बर्ष तोकेको छ ।

तर,  तोकिएका सबै कुरा कहाँ पालन हुँदो रहेछ र ? विश्वमा होस या नेपालमा तोकिएको न्युनतम उमेर नपुग्दै विहे गर्नेको संख्या लाखौँ करोडौँ छ ।

विश्वव्यायी तथ्यांक हेर्दा के देखिन्छ भने अहिले पनि विश्वभरका ७० करोड महिला बालविवाहबाट गुज्रिएका छन् ।

नेपालमै न्युनतम उमेर अर्थात २० बर्ष नपुग्दै विहे गर्ने किशोर किशोरीको संख्या ५० लाख बढी छ । अझ १५ वर्षभन्दा कम उमेरमा विहे गर्ने नेपाली बालबालिकाको संख्या १५ लाख बढी छ ।

बाल विवाहलाई प्रारम्भिक विवाह पनि भनिन्छ । १८ बर्ष भन्दा कम उमेरका केटी र बयस्क वा त्यो भन्दा मूनिका कुनै पनि बालबालिकाबीचको औपचारिक वा अनौपचारिक मिलनलाई बालविवाह भनिन्छ ।

विश्वमा नजाउँ, माथिकै तथ्यले के भन्दछ भने वालविवाहको परिभाषामा समेटन मिल्ने नेपाली बालबालिकाको संख्या अहिले लाखौँ रहेको छ ।

त्यसो त नेपालले सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्ने अन्तराष्ट्रिय रुपमै प्रतिवद्धता जनाएको छ । त्यसका लागि सरकारले प्रयाप्त कानून पनि बनाई सकेको छ । तर व्यवहारमा हेर्दा नेपालमा अझै पनि बालविवाह गर्ने दर उच्च छ ।

हुन पनि नेपाल अहिले सबैभन्दा बढी बाल विवाह हुने विश्वको आठौ र दक्षिण एशियामा तेस्रो नम्बरको सूचीमा रहेको छ ।

कस्तो छ नेपालमा बाल विवाहको अवस्था ?

नेपालमा अहिले पनि ५० लाख बढीको विहे सरकारले तोकेको न्युनतम उमेर नपुग्दै भएको छ । किशोरावस्थामा हुने विवाह मात्रै होईन गर्भधारणको प्रचलन पनि व्यापक छ । विशेषगरी देशका सिमान्तकृत समुदायमा यो प्रचलन बढी भएको पाईएको छ ।

सन् २०१९ को एक अध्ययनले ८ प्रतिशत केटीहरुको विवाह १५ बर्ष भित्र र ३३ प्रतिशत केटिहरुको विवाह १८ बर्ष भन्दा कम उमेर मै हुने गरेको देखिएको थियो । तर केटाहरुको हकमा २ प्रतिशत १५ बर्ष मुनि र ९ प्रतिशत १८ बर्ष कम उमेरमा विहे गर्ने गरेको पाइएको थियो ।

बाल विवाहकै कुरा गर्दा भारतसंग सिमा जोडिएका कतिपय तराईका जिल्लामा अवस्था अझ भयावह देखिन्छ ।

एउटा उदाहरण हेरौँ न, ‘केही समय अघि गरिएको एक अध्ययनले रुपन्देहीको भारतसंग सिमा जोडिएको एक गाउँमा आधाभन्दा बढी केटीहरुको विहे १२ बर्ष नपुग्दै भएको देखाएको छ । यस्तै सो गाउँमा ८९.९ प्रतिशत महिलाको विहे १८ बर्ष नपुग्दै हुने गरेको छ ।’

बाल विवाहको असर कस्तो कस्तो ?

सामाजिक, सांस्कृतिक कारण होस या आर्थिक कारण होस् बालविवाह गर्न गराउन हुँदैन । कानूनी रुपमा त यो दण्डनीय छ ।

बालविवाहले खासगरी महिलाहरुको प्रजनन अवस्थालाई असर गर्दछ भने बाल तथा मातृमृत्यु बढाउन मद्धत गर्दछ । अहिले नसर्ने रोग र त्यसमा पनि पाठेघको मुखको क्यान्सर हुने सम्भावना समेत बढाउँछ । यति मात्रै होइन उमेर नपुगी गरिने विवाह र त्यसपछि हुने गर्भवस्थाले कुपोषण, रुङणता बढाएको छ पाएको पाइन्छ । कम तौलको बच्चा जन्मने, गर्भ तुहिने, विकलांग शिशुहरु जन्मने पनि पाइएको छ । यस्ता धेरै असरहरु देखिन्छन् ।

सन् २०१२ मा गरिएको एक अध्ययनले दलित तथा जनजाती भनेर चिनिने आदिवासी जनजाती समुदाय अझ बढी सिमान्तकृत समुदायमा बालविवाह बढी हुने गरेको देखाएको थियो । यी समूहमा अशिक्षा र अज्ञानताले यस्तो देखिएको हो ।

सिमान्तकृत समुदायमा बालविवाहको अवस्था कस्तो छ ?
सिमान्तकृत समुदायमा बालविवाहको भयावह चित्र देखिन्छ । किन यस्तो छ ? के कारणले बालविवाहलाई रोक्न सकिएको छैन ? के आधारमा यो प्रचलन अहिलेसम्म रहेको छ ? यस्ता थुप्रै विषयको उत्तर खोज्न तथा कारक तत्व पहिचानका लागि युनिसेफले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा एक अध्ययन गरेको थियो ।

सन् २०२२ नोभेम्बर देखि सन् २०२३ अप्रिलसम्म सात प्रदेशमा हिमाल, पहाड र तराई क्षेत्रलाई समेटेर सन्तुलित प्रतिनिधित्वका साथ गरिएको अध्ययन्को प्रतिवेदन आईसकेको छ । जसलाई नेपालमा बालविवाह र किशोरावस्थामा हुने गर्भावस्ताको व्यवहारिक निर्धारक एक गुणात्मक अधययन् – २०२४ नाम दिइएको छ ।

कसरी गरियो अध्ययन् ?
सो अध्ययनमा प्रत्येक प्रदेशबाट ३६ सहभागी छनोट गरिएको थियो । जसमा सात प्रदेशबाट जम्मा २५२ जना सहभागी थिए ।
अध्ययनले सीमान्तकृत समुदायहरूमा ध्यान केन्द्रित गरेको थियो र बालविवाह र किशोरावस्थामा गर्भावस्थासँग सम्बन्धित व्यवहारका चालकहरू र परिणामहरू बुझ्ने उद्देश्य राखेको थियो ।

अध्ययनका लागि प्रत्येक प्रदेशबाट दुई जिल्ला र तीन सीमान्तकृत समुदाय (कुल २१) छनोट गरी सातवटै प्रदेशमा नोभेम्बर २०२२ देखि अप्रिल २०२३ सम्म गुणात्मक अनुसन्धान गरिएको थियो ।

देशको भौगोलिक विविधताको प्रतिनिधित्व गर्ने उद्देश्यले हिमाल, पहाड र तराई क्षेत्रलाई समेट्ने सन्तुलित प्रतिनिधित्वले डेस्क समीक्षा अघि बालविवाहसम्बन्धी माध्यमिक तथ्याङ्कहरू संकलन गरी सहभागीहरूलाई छनोट गर्न उद्देश्यपूर्ण नमूना विधि प्रयोग गरिएको थियो ।

परिषदका कार्यकारी सदस्य सचिव डा.  प्रमोद जोशीले यो अध्ययनले नेपालमा बालविवाह र किशोरावस्थाको गर्भावस्थाको जटिल समस्यालाई बुझ्नको लागि सहयोग गरेको बताए । उनले नयाँ तथ्य टेकेर नयाँ नीति तथा कानून बनाउन सजिलो हुने भन्दै यो अनुसन्धानले नीति निर्माणको तहमा रहेकाहरुले पनि अध्ययन गर्ने र बालविवाह रोक्नका लागि आवश्यक पहल गर्ने विश्वास व्यक्त गरे ।

परिषदका प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले बालविवाहको विषयलाई राज्यले गम्भीरतापूर्वक लिनु पर्ने बताउँछन् ।

‘कम उमेरमा विहे गर्नु स्वास्थ्यका लागि हानीकारक त भैहाल्यो, त्यसपछि हुने अर्लि प्रेग्नेन्सी, पारिवारिक कलह, मानसिक तनाव आदिले किशोर किशोरीहरुलाई झन् ठूलो दवाव दिने गरेको छ,’ उनी अगाडी थप्छन्, ‘बालविवाहपछि आउने गर्भावस्था र त्यसमा देखिने जटिलताहरू, कुपोषण, शिशु मृत्यु दर, पाठेघर झर्ने र दीर्घकालीन स्वास्थ्य नतिजाहरूको बढ्दो जोखिमका साथ जवान दुलही र उनीहरूका बच्चाहरूको स्वास्थ्यमा प्रभाव गम्भीर हुन्छ ।’

‘बाल विवाहले शैक्षिक अवसरहरू घटाउँछ, जसले विद्यालय छोड्ने र युवा केटीहरूको सशक्तिकरणमा रोक लगाउँछ। यसबाहेक, आर्थिक प्रभावहरू संलग्न परिवारहरूमा विस्तार हुन्छन्, आर्थिक चुनौतीहरू बढाउँदै। मानसिक समस्या पनि बढाउने गरेको छ,’ उनले भने ।

सिमान्तकृत समूदायमा बाल विवाहका हुनुका कारण के रहेछ ?

सिमान्तकृत समूदायमा किन छिटो विहे हुन्छ भन्दै कारण खोज्न गएका अध्ययनकर्ताहरुलाई सहभागीहरुले विभिन्न खालका प्रतिक्रियाहरु दिएका छन् । कतिपयले विवाहपछि विदेश जाने सम्भावना रहेको उल्लेख गर्दै विवाहलाई अवसर रुपमा लिएको पनि बताए । कतिपयले आर्थिक कारण छिटो विहे गर्नु परेको बताएका छन् । स्थानीय परम्परा, चालचनका कारण कतिपयको छिटो विहे हुने गरेको छ ।

किशोरीहरु यार्सागुम्बा सङ्कलन गर्न माहिर हुन्छन् । डोल्पाका खाम मगर समुदायमा कलिलो उमेरका केटाकेटीलाई विहे गरेर घर ल्याउने र यार्सा खोज्न पठाउने चलन छ । यसले परिवारको आम्दानीमा राम्रो योगदान हुने बताइन्छ ।  कतिपयले आर्थिक अवस्थाले पनि कम उमेरमा विहे गर्नु पर्ने अवस्था भएको बताएका छन् ।

जातिय रिति रिवाजका कारण पनि कतिपय समुदायमा बालविवाहको कारण बन्यो । एक अध्ययनकर्ता भन्छन्, ‘कतिपय सिमान्तकृत समुदायमा मामा चेला र फुपु चेली (बुवाकी छोरी र मामाको छोरा बीचको विवाह) हुने चलन छ । उनीहरुलाई कानुनी विवाह उमेरको बारेमा थाहा छैन । नातामा गरिने विहे आमा बावुले नै तय गरिदिने चलन छ । त्यसैले पनि बालविवाह बढी हुने गरेको हो ।’

रानाथारु समुदायका अविवाहित किशोरकिशोरीहरूले आर्थिक अभावका कारण वा परिवारका सदस्यहरूले सन्तान पालन पोषणको जिम्मेवारीबाट मुक्त हुन चाहेका कारण आफ्ना छोराछोरीलाई विवाह गर्न उक्साउने गरेको बताए ।

मुस्लिम, मुसहर र चमार समुदायका सहभागीहरूले विशेष सौन्दर्य मापदण्डले केटीहरूको विवाहको सम्भावनालाई प्रभाव पार्ने बताए । यी समुदायहरूले छोटो, कालो छाला वा भारी भएका केटीहरूका लागि अग्लो, गोरो छाला भएका रङको केटा प्राथमिकतामा पर्ने जनाए ।

‘म नौ वर्षको हुँदा मेरो आमाको निधन यो । मेरो घरमा सौतेनी आमा हुनुहुन्छ । त्यसबेला मोटी थिएँ । त्यसैले म ठूलो देखिन्थेँ तर म अझै मोटो हुनसक्छु भनेर मलाई छिटै विवाह गरिदिए,’ धनुषा की चमार समुदायकी १५ बर्षीया विवाहित युवतीले भनिन् ।

मोबाइल फोन र इन्टरनेटको बढ्दो प्रयोगले कम उमेरको विवाहलाई प्रभाव पारेको छ । वादी, बोटे, चौधरी र संथाल समुदायका १४ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीहरूले मुख्यतया फेसबुक, टिक टक र व्हाट्सएप जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गरेर मोबाइल फोनमा उच्च निर्भरता देखाएको देखाउँछ । अध्ययन सहभागीहरूले मोबाइल फोनको प्रयोग नम्बरहरू आदानप्रदान गर्ने र त्यसपछि विहे गर्ने गरेको बताए ।

‘म गरिब मान्छे हुँ । छोरीको विहे जति ढिलो भयो उती बढी दाईजो दिनु पर्छ । त्यसैले मैले सानै उमेर छोरी विहे गरिदिएँ । दाइजोमा पनि केही दिइन ।” महोत्तरीका चमार समुदायका एक पिताले भने ।

चेपाङ र राउटे समुदायका केटाकेटीहरूले प्रायः आफ्ना आमाबाबुको व्यवहारको नक्कल गर्छन्, विशेष गरी जब उनीहरूले आफ्ना आमाबाबुलाई उनीहरूको खुला जीवन वातावरणको कारणले घनिष्ट गतिविधिमा संलग्न भएको देख्छन्, कौतुहलताले भरिएका किशोरहरू, अन्वेषण गर्न र कहिलेकाहीं भाग लिन उत्सुक हुन्छन ।

‘नयाँ लुगा लगाएर, सुन्दर देखिने र साथीभाइ र आफन्तहरूबाट माया पाएर विवाह गर्न पाउँदा म उत्साहित थिएँ।’  कर्णाली प्रदेशमा भेटिएकी राउटे समुदायकी १३ वर्षीया विवाहित युवतीले भनिन् ।

बराम, चेपाङ, दलित सार्की र राणा थारु समुदायमा बालविवाहका कारण छाड्ने दर निकै उच्च छ ।

कर्णाली प्रदेशको त्रिपुरासुन्दरी नगरपालिकामा कक्षा ९ र १० मा अध्ययनरत करीब २० प्रतिशत विद्यार्थी विवाहका कारण विद्यालय छाडेको दलित सार्की समुदायका एक सहभागीले बताए ।

सहभागीहरूले किशोरावस्थामा गर्भावस्था, कुपोषण, पाठेघर झर्ने, शिशु मृत्युदर र मानसिक स्वास्थ्य समस्याहरू सहित बालविवाहका गम्भीर परिणामहरू हुने समेत बताए ।

अछामकी क्षेत्री समुदायकी १६ बर्षीया विवाहित युवती भन्छिन्, सानै उमेरमा आमा बन्न सक्दिनँ भन्ने त लाग्या थियो तरसासुले मान्नुभएन । उनले सासुले आफूलाई भनेको कुरा सम्झिदै भनिन, ’म १६ वर्षको हुँदा बच्चा जन्माएको थिएँ, तैले किन सक्दिनस भन्नुभयो । म उपयुक्त उमेर पुगेपछि बच्चा जन्माउन चाहन्थें तर सासुले मान्नुभएन । समाजमा प्रतिष्ठा कायम राख्नको लागि पनि मैले बच्चा जन्माउनु पर्यो ।”

कर्णाली प्रदेशको खाम मगर समुदायमा विवाहपछि छिट्टै गर्भधारण गर्ने दम्पतीहरू छन् । नत्र बुहारीलाई बाझियो भनिन्छ । त्यहाँका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले गर्भनिरोधकको बारेमा जानकारीको कमीले चाँडै बच्चा जन्माउने गरेको बताए ।

बालविवाहको चौतर्फी असर
अध्ययनले बालविवाले चौतर्फी असर गरेको देखाएको छ । शारीरिक असर त भयो नै, मानसिक, सामाजिक, आर्थिक शैक्षिक सबै खालका असरहरु हुन्छ ।

परिषदका प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमाल भन्छन् बालविवाहपछि आउने गर्भावस्था र त्यसमा देखिने जटिलताहरू, कुपोषण, शिशु मृत्यु दर, पाठेघर झर्ने र दीर्घकालीन स्वास्थ्य नतिजाहरूको बढ्दो जोखिमका साथ जवान दुलही र उनीहरूका बच्चाहरूको स्वास्थ्यमा प्रभाव गम्भीर हुन्छ ।
बालविवाहले शैक्षिक अवसरहरू घटाउँछ, जसले विद्यालय छोड्ने र युवा केटीहरूको सशक्तिकरणमा रोक लगाउँछ। यसबाहेक, आर्थिक प्रभावहरू संलग्न परिवारहरूमा विस्तार हुन्छन्, आर्थिक चुनौतीहरू बढाउँदै। मानसिक समस्या पनि बढाउने गरेको छ । उनले भने ।
बालविवाहले पनि आत्महत्यासम्म पु¥याउँछ । गुरुङ र सन्थाल समुदायका केही सानै उमेरमा विवाह गरेका दम्पतीले आमाबुवाले आफ्नो विवाहलाई स्वीकार नगरेको कारणले जीवन बिताएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *