प्राकृतिक चिकित्सा : नसर्ने रोग न्युनिकरण गर्ने सरल अस्त्र
काठमाडौँ, २१ असार । एकातिर बदलिदो समयसंगै परिवर्तित हाम्रो खानपान, जीवनशैलीले नसर्ने रोगको जोखिम बढाएको छ । बढ्दै गएको जोखिमबीच यसलाई न्युनिकरण गर्नका लागि खानपान र जीवनशैलीमा ध्यान दिने प्राकृतिक चिकित्सा पद्धतीको खोजी पनि बढ्न थालेको छ ।
बिहिबार राजधानीमा राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाईरहँदा कार्यक्रममा सहभागी विज्ञहरुले यी दुई कुरामै बढी केन्द्रीत थिए ।
आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागको आयोजनामा गरिएको कार्यक्रममा योग तथा प्राकृतिक चिकित्सक डा. प्रतीक्षा पाण्डेयले एलोपेथिकको उपचार विधि र प्राकृतिक चिकित्साको उपचार विधिको परिभाषा नै बिल्कुल अलग भएको बताईन ।
‘एलोपेथिकमा शरीरको कुन भागमा रोग लागेको छ, त्यसको पहिचान गरी उपचार गर्ने गरिन्छ, तर प्राकृतिक चिकित्साले सारा शरीरको अवस्थाको जानकारी राख्छ, पुरा शरीरको उपचार गर्दछ । आहार विहार र व्यवहारबाट चिरफार नै नगरी समस्या समाधान हुन्छ ।’ उनले यो पद्धतिको उपचारबाट कसैलाई कुनै हानी हुँदैन भन्दै रोग प्रतिरक्षा प्रणाली बढाउने काम गरिने बताईन ।
प्राकृतिक चिकित्सा अभियन्ता डा. हरि प्रसाद पोखरेलले मानव जीवनको प्रारम्भदेखि नै प्राकृतिक चिकित्साको अवधारणा विकास भएको बताए ।
विभिन्न चिकित्सा पद्धतिका बलिया र कमजोर पक्ष रहेको भन्दै उनले सबैका बलिया पक्षलाई एक ठाउँमा ल्याएर प्रयोग गरे मात्रै स्वास्थ्य सेवा सुधार आउने धारणा राखे ।
उनले स्वास्थ्य मन्त्रालय एलोपेथिक विधिलाई मात्रै प्राथमिकता दिएर अघि बढेको भन्दै उनले यो स्वास्थ्य मन्त्रालय होकि एलोप्याथी मन्त्रालय हो ? भन्दै प्रश्न गरे । कुनै चिकित्सा पद्धति आफैँमा पूर्ण नभएको भन्दै उनले सबैलाई मिलाएर लानु पर्ने बताए ।
प्राकृतिक चिकित्साले राष्ट्रिय मान्यता पाएको २२ वर्ष पुग्दा पनि सरकारी दरबन्दी देशमा शून्य रहनु दुखद् भएको गुनासो डा. पोखरेलले गरे।
प्राकृतिक चिकित्सकले कतै दर्ता गर्ने निकाय नभएर स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता गर्नु परेको पनि उनको भनाइ छ।
प्राकृतिक शिक्षाको क्षेत्रमा केही प्रयास भएपनि त्यो पर्याप्त नभएको डा. पोखरेलले सुनाए । योग तथा प्राकृतिक चिकित्सा शिक्षाका लागि नेपाल सँस्कृत विश्वविद्यालयले २५ वर्षदेखि केही प्रयास गरेको पोखरेलले जानकारी दिए । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्व विद्यालयमा पनि योग कक्षाहरु पढाइ हुने गरेको पनि उनले बताए ।
प्राकृतिक चिकित्सकलाई आयुर्वेदक मेडिकल काउन्सिलमा दर्ता गर्ने प्रावधान ल्याउनु पर्ने र प्राकृतिक चिकित्साको दरबन्दी सिर्जना गर्नुपर्ने माग पोखरेलले राखे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरक्त सचिव डा. टंक बराकोटीले नसर्ने रोग बढिरहेकाले यसलाई रोक्न प्राकृतिक चिकित्सा मात्रै एक विकल्प पाएको बताए । प्रत्येक पालिकामा एकजना प्राकृतिक चिकित्सक पठाउने त्यसबाट प्राकृतिक चिकित्सा कार्यक्रम अघि बढ्ने हो भने नसर्ने रोग आधा कम हुने डा।बराकोटीले दावी गरे ।
यसबारे आफूले अघिल्लो वर्ष पनि प्रतिवद्धता जनाएको उनले सुनाए । यसमा के गर्ने भन्नेबारेमा कुनै प्रस्ताव लिएर मन्त्रालयको कोही नआएको डा. बराकोटीले जानकारी दिए ।
वर्षमा एकपटक यो दिवस मनाएर केही नहुने र के काम गर्नुपर्छ प्रस्ताव लिएर आए स्वास्थ्य मन्त्रालय सकारात्मक रहेको उनले बताए ।
स्वास्थ्य सचिव हरि प्रसाद मैनालीले योग ध्यानलाई विज्ञानमा जोड्न सके यसले परिवार, समाज र राज्यलाई नै फाइदा पुग्ने बताए । यसलाई कुनै विभाग वा संरचना बनाएर कसरी समेट्न सकिन्छ त्यसका लागि अबको दिनमा प्रयास थाल्ने प्रतिवद्धता मैनालीले व्यक्त गरे।
प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर थापाले प्राकृतिक चिकित्सा हाम्रो पुर्ख्यौली चीज भएको बताए । यसै का कारण पहिलेको पुस्तालाई खास रोग नलाग्ने गरेको पनि उनले सुनाए ।
प्राकृतिक चिकित्सा पद्धतिलाई अनुसरण नगरेकै कारण अहिलेको पुस्ता धेरै रोगी भएको र अस्पतालले धान्नै नसक्ने सम्मका बिरामीको चाप भएको थापाको भनाइ छ ।
प्राकृतिक चिकित्सामार्फत अबको पुस्तालाई कसरी स्वस्थ बनाउने भन्ने विषयमा ध्यान जानु आवश्यक भएको पनि थापाले बताए । प्राकृतिक चिकित्सा विषयमा थप अनुसन्धानहरु गर्न उनले चिकित्सक तथा विज्ञहरुलाई आग्रह पनि गरे ।
यस सम्बन्धि विधयेक संसदमा आए त्यसलाई छिटो अघि बढाउन आफू लाग्ने प्रतिवद्धता पनि थापाले व्यक्त गरे ।
विभागका महानिर्देशक डा प्रदीप केसीले योग तथा प्राकृतिक चिकित्सा विधामा राज्यले विस्तारै ध्यान पुर्नकेन्द्रीत गर्न थालेको भन्दै यसमा सबैको सहयोग आवश्यक रहेको बताए । उनले शरीर स्वस्थ राख्ने विज्ञानलाई सबैले अनुशरण गर्नु पर्ने बताउँदै प्राकृतिक चिकित्सालाई एउटा लयमा अघि बढाउनका लागि थप कार्यक्रमहरु आवश्यक रहेको औल्याए ।
बरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा. मनुकर्ण थापाले यस चिकित्सा विधिलाई पुनःजागरणका लागि ठोस पहल आवश्यक भएको बताए ।
नेपाल सरकारको अहिलेसम्म योग तथा प्राकृतिक चिकित्साको कुनै पनि सेवा नभए पनि निजी, गैरसरकारी र सामुदायिक क्षेत्रबाट चिकित्सालय सञ्चालनमा छन् । नेपालमा हाल चार वटा सामुदायिक प्राकृतिक चिकित्सालय, २६ वटा निजी योग तथा प्राकृतिक चिकित्सालय र दुई वटा योग तथा प्राकृतिक चिकित्सा क्लिनिक सञ्चालनमा छन् ।
सरकारले विसं २०५९ असार २० गते प्राकृतिक चिकित्सालाई स्वास्थ्य सेवाको विधाअन्तर्गत राखी मान्यता प्रदान गरेको थियो । सोही दिनको सम्झनामा २०७४ साल असोज २३ गतेको निर्णयअनुसार असार २० गते राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाउन लागिएको हो । तर स्वास्थ्य सेवाका विधाअन्तर्गत मान्यता पाएको २२ वर्ष पुग्दा पनि सरकारी अस्पताल र स्वास्थ्य संस्थामा प्राकृतिक चिकित्सा सेवा उपलब्ध हुन सकेको छैन ।
सम्पर्क इमेल : [email protected]