आफ्नो पहिलो पत्रकार सम्मेलन नसकिदै सत्ता गठबन्धनको खटपट बाहिरिएपछि स्वास्थ्य मन्त्री यादवले के भने ?

काठमाडौँ, १८ असार । स्वास्थ्य मन्त्रालयमा पदवहाली गरेको ४७ औँ दिनमा पहिलो पटक स्वास्थ्य पत्रकारसंग अन्तरक्रिया गरेका स्वास्थ्य मन्त्री प्रदीप यादवले आफ्नो सम्वोधनको अन्त्यतिर भनेका थिए,  ‘साउन महिना कट्न दिनुहोस बैद्यखाना कस्तो हुन्छ थाहा पाउनु हुन्छ । उनको संकेत थियो, एक महिना पछि बैद्यखानामा निकै नै सुधार हुन्छ ।’

तर उनले त्यसो भनेको एक घण्टा नवित्तै राष्ट्रिय राजनीतिमा सत्ता गठबन्धन परिवर्तन हुने स्पष्ट संकेत देखिईसकेको थियो ।

त्यसो त मन्त्री यादवले  पनि  राजनीतिक संकेत पाएरै पनि हुनसक्छ सत्ता गठबन्धनमा आउने परिवर्तनले आफूलाई कुनै असर नहुने बताइरहेका थिए ।

‘तपाईँलाई यत्ति भन्छु कि सत्ता गठबन्धनमा आउने फेरवदलले प्रदीप यादवलाई केही असर गर्दैन ।’  उनले पटक पटक ‘मैले संकेत गरेँ तपाईँहरु आफै बुझ्नुहोस्,’ भनिरहेका थिए ।

कतिपय उनको आशय वर्तमान गठबन्धन भत्किएर नयाँ गठबन्धन बने पनि आफ्नो पार्टी त्यसमा सहभागी हुने र स्वास्थ्य मन्त्रीमा आफू निरन्तर हुने भन्ने ठानेका थिए । कतिपयले भने सत्ता गए पनि केही छैन भन्ने आशय हो भन्ने बुझेका थिए । मन्त्री यादवले भने,  ‘मान्छेको आयुको त कुनै निश्चित समय हुँदैन, मन्त्री पदको त के कुरा’ भन्दै विषयलाई सामान्यकरण गर्न खोजेका थिए ।

त्यसपछि अढाई तीन घण्टा लामो पत्रकार सम्मेलनमा मन्त्री यादवले स्वास्थ्य पत्रकारहरुका प्रश्न तथा सुझाव लिएर र जवाफ दिने प्रयास गरे । स्वास्थ्य राज्यमन्त्री हसिना खान, मन्त्रालयका दुई जना सचिव, अतिरिक्त सचिवहरु महानिर्देशकहरु, महाशाखा प्रमुखहरुलाई दायाँ बायाँ राखेर गरेको पत्रकार सम्मेलनमा जवाफ दिने क्रममा पनि उनले कसैको सहारा भने लिएनन् ।

अस्पतालको सेवा सुधारका लागि थालिएको अनुगमनबाट कुरा सुरु गरेका मन्त्री यादवले साउनमा माथिल्ला तहका कर्मचारी व्यापक सरुवा गर्दैछु भनेर जानकारी दिए । मन्त्रीले यसरी सरुवा गर्दैछु भनेर सार्वजनिक गरेपछि कतिपय स्वास्थ्यकर्मीहरुले ‘बार्गेनिङ टुल’ प्रयोग गरेको भनेर अर्थ्याएका छन् ।

मन्त्री यादवलाई स्वास्थ्यमा हुने उपकरण खरीद र त्यसको अनियमितताबारेमा पत्रकारहरुले धेरै नै प्रश्न तेर्स्याएका थिए तर उनले अगाडीका खरीदमा आफू त्यति गहिरोसंग नबुझेको र साउन पछिको खरीदमा मात्रै आफ्नो नाम जोडिने बताए । तर उनले अघिका खरीदमा ठेकेदार तथा सप्लायर्सको भुक्तानी दुख दिने तरिकाले रोकिएको भन्दै त्यसो नगर्न निर्देशन दिए ।

एक अर्को प्रसंगमा मन्त्री यादवले ग्लोबल फण्डको विषयमा कडा अभिव्यक्ति दिएका छन् । ‘६ अर्वको बजेट छ त्यसमा ३ अर्व जति त उनिहरुले नै लिन्छ । काम गर्नका लागि बीचमा बिचौलिया त चाहिन्छ चाहिन्छ भन्छ । सरकारले त्यसो नगरौँ भने पनि उनीहरु मान्दैन । बिचौलिया त अनिवार्य नै छ भन्छ । यो कस्तो फण्ड हो ?’ गुनासो गर्दै मन्त्री यादवले भने ।

पत्रकार सम्मेलनमा मन्त्री यादवले स्वास्थ्यमा जनशक्ति थप्ने आफ्नो पहिलो निर्णयबारेमा पनि केही आफ्नो धारणा राखेका छन् । ‘स्वास्थ्यमा ९२ हजार जनशक्ति चाहिन्छ । मैले प्रधानमन्त्रीसंग यसविषयमा कुरा पनि गरेँ । त्यतिका कर्मचारी अहिले थप्न त सकिदैन केही कम गर्नु पर्ला भन्नु भयो । ल अव ६० हजार नै भए पनि हुन्छ केही सुधार त हुन्छ नि,’ उनले भने ।

मन्त्री यादवले ६० हजार कर्मचारी थपिए पनि सबैलाई स्थायी गर्नु नपर्ने उनको तर्क थियो । ‘केही स्थायी गरौँ केही करारमा राखौँ । सबैलाई स्थायी गर्नु पर्छ भन्ने के छ ?’ प्रतिप्रश्न गर्दै उनले भने ।

निजी अस्पतालमा १० प्रतिशत शैय्या निशुल्क, स्वास्थ्य बीमा कार्यक्रम, अस्पतालको फार्मेसी, औषधिको गुणस्तर सुधारका लागि आफूले विज्ञहरुको समिति बनाई काम सुरु गरेको बताए ।

आफू यूवा भएको र केही गर्छु भन्ने हुटहुटी बोकेर मन्त्रालय आएको भन्दै धेरै शंका र आलोचना नगर्न समेत सञ्चारकर्मीमाझ आग्रह गरे । ‘म पनि युवा छु तपाईँहरु विश्वास गर्नुहोस न, मन्त्रालयमा आएको दुई दिन भएको छैन ठोकि हाल्न थाल्नु भयो, अलि अलि ठोक्नुस, अलि अलि माया पनि गर्नुहोस् न,’ उनले अन्त्यमा भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *