चितवनमा एक हजार सात सय भन्दा बढीमा डेंगी संक्रमण

चितवन, १६ असार । चितवनमा एक हजार सात सय ७१ जनामा डेंगी सङ्क्रमण देखिएको छ। गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेंगी सङ्क्रमण देखिएको हो।

चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेंगीको सङ्क्रमण देखिएको हो। जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २३ हजार पाँच सय ७१ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा डेंगी सङ्क्रमित फेला परेका हुन्।

सङ्क्रमितमध्ये एक हजार दुई सय ६८ जना चितवनका रहेका छन्। ६ सय ६५ पुरुष र ६ सय तीन महिलामा डेंगी सङ्क्रमण देखिएको केसीले जानकारी दिए।

यस्तै, ठेगना नखुलेका एक सय ३८ र चितवनबाहेकका जिल्लाबाट उपचार गर्न यहाँ आएका तीन सय ६५ जनामा डेंगी सङ्क्रमण देखिएको छ।

एकजनाको उपचारका क्रममा मृत्यु भएको केसीले बताए। सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ६ सय ६४ जनामा डेंगी देखिएको छ। खैरहनी नगरपालिकामा एक सय ८७, माडी नगरपालिकामा २९, रत्ननगर नगरपालिकामा दुई सय ३१, राप्ती नगरपालिकामा ७७, कालिका नगरपालिकामा २६ र इच्छाकामना गाउँपालिकामा ५४ जनामा डेंगी सङ्क्रमण देखिएको छ।

डेंगी रोग सङ्क्रमण भएको पोथी जातको लमखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ। यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो।

यसबाट बच्न झूल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगी सङ्क्रमण रोकथाम गर्न सकिने केसीले जानकारी दिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *