नेपालमै पहिलो पटक मिनिमल इन्भेजिभ प्रविधिबाट मुटुको भल्भ परिवर्तन

डा. अनिल भट्टराई नेतृत्वको टोलीले महाराजगञ्जको मनमोहन सेन्टरमा गर्‍यो सफल शल्यक्रिया

काठमाडौँ, १५ असार । महाराजगञ्जस्थित मनमोहन कार्डियो–थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पहिलोपटक मिनिमल इन्भेजिभ प्रविधिबाट मुटुको भल्भ (माइट्रल भल्भ) परिवर्तन गरिएको छ।

मनमोहन सेन्टरका सिटिभिएस विभागीय प्रमुख एवं कार्डियाक सर्जन डा अनिल भट्टराईको नेतृत्वको टोलीले नेपालमै पहिलो पटक यो प्रविधिबाट सफल शल्यक्रिया गरेको हो ।

‘बिरामी गण्डकी प्रदेशकी ५३ बर्षीया महिला हुन् । गत मंगलबार उनको शल्यक्रिया गरिएको हो । राइट एक्जिलरी मिनिथोराकोटोमी (काखीमा सानो प्वाल पारेर गरिने मुटुको शल्यक्रिया) प्रविधिमार्फत मुटुको माइट्रल भल्भ परिवर्तन गरिएको हो। शल्यक्रियापश्चात् बिरामीको अवस्था सामान्य रहेको र आज भोलीमै डिस्चार्ज गर्ने तयारीमा रहेको छ,’ डा. भट्टराईले  भने ।

त्यसो त पछिल्लो एक दशकदेखि मनमोहन सेन्टरमा मिनिमल इन्भेजिभ कार्डियाक सर्जरी हुँदै आएको थियो । तर काखीमुनि प्वाल पारेर माइट्रल भल्ब परिवर्तन गरिएको नेपालमै यो पहिलोपटक हो ।

यो सर्जरी सुरु भएपछि बिरामीहरुलाई पनि धेरै किसिमको फाइदा हुने डा. भट्टराई बताउँछन् । ‘खासमा छाती चिरेर गर्नु परेन, त्यसैले कस्मेटिक रुपमा भ्यालु बढ्यो । पुरानो प्रविधिबाट ओपन हार्ट सर्जरी गर्दा सर्जरीमा हड्डी चिर्नु पर्दथ्यो । यसमा त्यो पनि परेन, करङको बीचबाट जाने हो । त्यसैले चोटपटक कम हुने भयो र छिटो सुधार हुने भयो । सर्जरीमा ब्लिडिङ पनि कम, यसले जटिलता कम, फलामको तारले बाध्नु परेन । छातीको तोडफोड गर्न परेन । सानो चोटपटकबाट गरिने ठूलो सर्जरी (मिनिमल इन्भेजिभ) हो’ डा. भट्टराईले भने ।

विश्वस्तरीय सेवा आफ्नो अस्पतालबाट सुरु भएकोमा कार्यकारी निर्देशक डा. रत्नमणि गजुरेलले खुसी व्यक्त गरेका छन्।

डा. भट्टराईको नेतृत्वमा सम्पन्न भएको शल्यक्रियामा डा. प्रभात खकुराल, डा. रवि बराल र डा. समीर यादव संलग्न थिए । यस्तै, एनेस्थेसियामा डा. विश्वास प्रधान, डा. विभुस श्रेष्ठ र डा. अर्जुन गुरुङ संलग्न थिए भने प्रफ्युजनिस्टको रूपमा महेन्द्र भट्टको योगदान रहेको डा भट्टराईले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “नेपालमै पहिलो पटक मिनिमल इन्भेजिभ प्रविधिबाट मुटुको भल्भ परिवर्तन

Leave a Reply

Your email address will not be published. Required fields are marked *