ट्रान्सप्लान्ट कोर्डिनेटरहरुको लागि दुई दिने तालिम सम्पन्न

काठमाडौँ, १२ असार । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजनामा ट्रान्सप्लान्ट कोर्डिनेटरहरुको लागि दुई दिने तालिम सम्पन्न भएको छ । उक्त तालिममा मोहन फाउण्डेशन भारतको प्राविधिक सहयोग रहेको थियो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा असार १० र ११ गते सम्पन्न प्रथम राष्ट्रिय तालिमको नारा अंगदान र प्रत्यारोपणमा ट्रान्सप्लान्ट कोर्डिनेटरहरुको भूमिका बढाऔ भन्ने थियो । तालिममा उपत्यकाका विभिन्न २१ अस्पतालका ट्रान्सप्लान्ट कोर्डिनेटरहरुको सहभागिता रहेको थियो ।

तालिमको मुख्य प्रशिक्षकरुपमा आएका मोहन फाउण्डेसन भारतका पल्लभी कुमार र डा।मोनित कौर साहीले दुई दिनसम्म विभिन्न प्रयोगात्मक अभ्यास सहितको प्रशिक्षण दिएका थिए । मस्तिष्क मृत्यु पश्चात अंगदान कार्यक्रम सफल बनाउनको लागि धैर्यता र निरन्तरताको आवश्यक पर्ने कुरामा उनीहरुको विशेष जोड थियो ।

तालिममा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, उपेन्द्र देवकोटा न्युरो अस्पताल, स्वास्थ्य अभियान नेपाल, नेपाल कोरियामैत्री अस्पताल, काठमाण्डौ मेडिकल कलेज, मध्यपुर अस्पताल, नेपाल मेडिसिटि अस्पताल, किष्ट अस्पताल, नेपाल मेडिकल कलेज, अन्नपुर्ण न्युरो अस्पताल, व्लुक्रस अस्पताल, ग्राण्डी इन्टरनेसनल अस्पताल, ग्रिन सिटी अस्पताल, वि एण्ड वि अस्पताल, अल्का अस्पताल लगायतको सहभागीता रहेको थियो ।

तालिम समापन समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिव हरीप्रसाद मैनालीले तालिममा प्राप्त सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । मैनालीले तालिम प्राप्त जनशक्तिले विरामीको सेवा र मस्तिष्क मृत्युपश्चात हुने अंगदानमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास गरेको बताउदै प्रत्यारोपण केन्द्रले गरेका काममा मन्त्रालयको तर्फवाट सक्दो सहयोग गर्ने विश्वास दिलाए ।

शहीद धर्भभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक तथा वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपणविद् डा पुकार चन्द्र श्रेष्ठले जनचेतनाको अभिवृद्धि सबैभन्दा महत्वपूर्ण कुरा भएको बताए। उनले मस्तिष्क मृत्य पश्चात हुने अंगदान र प्रत्यारोपणले व्यापकता पाओस भन्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । उनले चिकित्सक, नर्स, तथा अन्य स्वास्थ्यकर्मी, राजनितिज्ञ, पत्रकार, कानून व्यवसायी, समाजसेवी तथा कलाकार सबैले नै यो विषयमा जानकारी भएमात्र अभियानले सफलता पाउने बताए ।

आफू मरेपछि खरानी भएर जाने अंग या गाडेर सकिने अंग दान दिनुभयो भने १ जना व्यक्तिबाट ८ जनाको ज्यान बचाउन सकिने भन्दै उनले यसका लागि सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने कार्य सबैभन्दा महत्वपुर्ण भएकोमा जोड दिए ।

हामी सबैले आआफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्यौ भने विदेशमा जस्तै नेपालमा पनि ८० प्रतिशत मस्तिष्क मृत्यूबाट प्रत्यारोपण सम्भव हुन सक्दछ श्रेष्ठले भने । अंग नपाएर प्रत्यारोपणबाट बञ्चित भै ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुन्छ भन्ने कुरामा डा। श्रेष्ठको जोड थियो ।

अंगदान र प्रत्यारोपण कार्यक्रमलाई विस्तार गर्नको लागि समन्वय इकाईले प्रत्येक सोमवार अंग प्रत्यारोपण र अंगदान हुन सक्ने अस्पतालमा जनचेतना अभिवृद्धी गर्नका लागि परार्मसको लागि जाने गरेको र आवश्यकता अनुसार सहयोग र सहकार्यका लागि तत्पर रहेको कुरा प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिष्ट तथा मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र प्रत्यारोपण समितिका अध्यक्ष डा कल्पना श्रेष्ठले बताइन ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा रहेको अंग प्रत्यारोपण समन्वय इकाईले मस्तिष्क मृत्युवाट हुने अंगदान र प्रत्यारोपण सम्बन्धी कार्यमा समन्वयकारी भुमिका खेल्ने गरेको छ ।

व्लुक्रस अस्पतालका निर्देशक डा। प्रज्जवल श्रेष्ठले विरामीको परिवारमा अंगदान सम्बन्धी जनचेतनाको अभावले अंगदान गर्न नचाहने, बुझाई सके पछि पनि आर्थिक माग गर्ने गरेको र अस्पतालले कानुनी समस्या आउन सक्ने कारण देखाई मस्तिष्क मुत्युको वारेमा विरामीलाई बुझाउन नखोज्ने र समन्वय इकाईमा जानकारी नदिने गरेको हुँदा जनचेतनलाई प्रभावकारी बनाउनु पर्ने र आफु स्वयम र आफ्नो अस्पतालले यस कार्यमा सहयोग गर्ने बताए ।

सहभागिहरुको तर्फवाट ग्राण्डी अस्पतालकी कोर्डिनेटर पुनम शाक्यले यस तालिमले आँफ्नो क्षमतामा अभिबृद्धी भएको र आगामी दिनमा अझ सक्रिय रहने बताइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *