एचपीभी खोपको दोस्रो मात्रा कभरेज दर ९१ प्रतिशत
काठमाडौँ, १० असार । पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपीभीको दोस्रो मात्रा ९१ प्रतिशत किशोरीहरुले लगाएका छन् ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार गत भदौ र असोजमा पहिलो मात्रा एचपीभी खोप लगाएका ९ हजार ९८० जना किशोरीलाई गत बैशाख जेठमा दोस्रो मात्रा दिईएको थियो । तिनिहरु मध्ये दोस्रो मात्रा लगाउनको संख्या ९ हजार ६२ रहेको छ ।
स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा अभियान गौतमले बाँकी रहेको खोपलाई प्रयोगमा ल्याइने बताए ।
शाखाले दोस्रो मात्रा सातै प्रदेशमा तोकिएका सातवटा खोप केन्द्रमा दिइएको जनाएको छ । यो खोप कोशी अस्पताल बिराटनगर, नारायणी अस्पताल पर्सा, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौँ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल नेपालगञ्ज, सुर्खेत प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा दिएको हो ।
सरकारले अघिल्लो वर्षको बजेटबाट गतवर्ष २० हजार भाइल एचपीभी खोप ल्याएको थियो । दुई डोज लगाउनु पर्ने सो खोप १० हजार जनाका लागि छुट्याइएको थियो ।
यो खोप चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको हो । सिकोलिन ब्राण्ड नेममा उत्पादित यो एचपीभी खोप डब्लुएचओले मान्यता प्रदान गरेको खोप हो ।
सरकारले आर्थिक वर्षमा १० देखि १४ बर्षसम्मका किशोरीहरलाई एचपीभी खोप अभियान नै सञ्चालन गरी खोप दिने योजना रहेको डा गौतमले बताए ।
सम्पर्क इमेल : [email protected]