चिकित्सा शिक्षा आयोगमा रिक्त निर्देशक पदहरुमा चार जनाको नाम सिफारिस
काठमाडौँ, ९ असार । चिकित्सा शिक्षा आयोगमा रिक्त चार निर्देशक पदमा चार जनाको नाम सिफारिस भएको छ । सरकारले गठन गरेको नाम सिफारिस समितिले अल्पसूचीमा परेका १२ जनाको शनिबार अन्तर्वार्ता तथा प्रस्तुतिकरण हेरेपछि चार जनाको नाम सिफारिस गरेको हो ।
समितिका संयोजक डा रामकुमार फुयालले प्रस्तुतिकरण र अन्तर्वार्ता पछि प्राडा सुदीप आचार्य, प्राडा गुरु बराल, प्राडा सुजनबाबु मरहठ्ठा र प्राडा सरला श्रेष्ठको नाफ सिफारिस गरेको बताए ।
समितिले चार जनालाई जिम्मेवारी समेत तोकेर पठाएको छ ।
फुयालका अनुसार प्राडा आचार्यलाई मापदण्ड तथा प्रत्यायन निर्देशनालय, प्राडा बराललाई नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज, प्राडा मरहठ्ठालाई समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय र प्राडा श्रेष्ठलाई परीक्षा निर्देशनालयको जिम्मेवारी समेत तोकिएको छ ।
उनले अरु चार जनालाई बैकल्पिक सूचीमा राखेको समेत जानकारी दिए ।
‘हामीले योग्यता, अनुभव, प्रस्तुतिको आधारमा १२ जनामध्येबाट मेरिटका आधारमा चार जनाको नाम आयोगलाई सिफारिस गरेका छौँ,’ उनले भने ।
यसअघि समितिले अल्पसूचीमा परेकाहरुलाई अन्तर्वार्तामा चार वर्षे व्यावसायिक कार्ययोजनासहितको सोच पत्रको १० मिनेट अवधीको पावरपोइन्ट प्रिजेन्टेशन लिई आउन भनेको थियो ।
समितिले यसअघि गत १६ मंसिरमा अल्पसूची प्रकाशित गरेपछि असहमति जनाउँदै एक आवेदकले उच्च अदालतमा रिट दायर गरेपछि समितिको काम रोकिएको थियो । तर गत १३ जेठमा उच्च अदालतले रिट खारेज गरिदिएको थियो । तर त्यसको आधिकारिक जानकारी २९ जेठमा प्राप्त भएपछि यो कार्य अघि बढाएको हो ।
आयोगमा गत ४ मंसिर देखि मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको निर्देशक पद खाली रहेको छ ।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ३० असोजमा डा। फुयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए । सो समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य थिए ।
सम्पर्क इमेल : [email protected]