आधुनिक जीवनशैलीका दुष्परिणाम न्युनिकरण गर्न योगाभ्यास जरुरी : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, ७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग सगरमाथाको काखमा अवस्थित हिमवत् खण्डबाट सुरु भएको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले नेपाल शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यताको त्रिवेणी रहेको बताउँदै यस्तो उल्लेख गरेका हुन्।
विश्व योग दिवसका अवसरमा शुभकामना दिँदै उनले भनेका छन्, ‘प्राचीनकालमा सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित यस हिमवत् क्षेत्रमा बस्ने प्राचीन योगी, ऋषि, महर्षिहरूले दीर्घ तपः साधनाको माध्यमबाट योगअभ्यासको विकास र प्रवर्द्धन गरेका थिए।’
उनीहरूले प्रदान गरेको योग अभ्यासको ज्ञान र परम्परा अहिले पनि उत्तिकै सान्दर्भिक र जीवनका लागि उर्जा प्रदायक रहेको उनको भनाइ छ। ‘त्यसैले, वर्तमान परिवेशमा योगाभ्यास र शिक्षा सम्बन्धी उचित नीतिहरूको प्रबन्ध, प्रभावकारी संरचनात्मक व्यवस्था र नेपालको अभ्यासको विश्वव्यापीकरणमा हामीले ध्यान दिनुपर्दछ। यसबाट नेपालमा योग पर्यटनको प्रवर्द्धन गर्न सकिन्छ,’ उनको भनाइ छ। नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुन बताएका छन्।
‘आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउने लगायतका सकारात्मक गुणको विकास हुन गई स्वस्थ नैतिकवान र जिम्मेवार नागरिक विकासमा योगको महत्वपूर्ण भूमिका रहन्छ,’ उनको भनाइ छ।
आधुनिक जीवनशैलीका दुष्परिणाम न्युनिकरण गर्न योगाभ्यास जरुरी रहेको बताएका छन्। उनले योगलाई जीवनको अभिन्न क्रियाक्लापका रुपमा अवलम्बन गर्नुपर्ने पनि बताएका छन्।
‘आफू र समाजका लागि’ भन्ने नाराका साथ यसवर्ष विश्व योग दिवस विश्वयभर मनाइँदै छ।
यसैबीच सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गर्दैछ ।
सम्पर्क इमेल : [email protected]